शनिबार, ०३ कार्तिक २०८१

प्रचण्ड नेतृत्वको सरकार जनताप्रति उत्तरदायी भएन : महासचिव पोखरेल

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले इजरायलमा भइरहेको हमलामा परेर घाइते भएकाहरूका विषयमा पनि सरकारले चासो नदिएको बताए ।

‘९ जना भन्दा बढि विद्यार्थी घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ । आफ्ना नागरिकहरूको अवस्था के छ भन्ने बारे पनि जानकारी छैन । दूतावासमा मात्रै सम्पर्क गरेको भन्ने सरकारको जिम्मेवारी यत्ति हो’, उनले भने, ‘यो सरकार जनता प्रति, नागरिक प्रति जिम्मेवारी छैन भन्ने कुरा यहि घटनाले पुष्टि गर्छ ।’


जनताको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्लाउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको टिप्पणी गरे । महासचिव पाखरेलले एमाले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै अब एकल बहुमतको सरकार बनाउन सक्ने गरी अगाडी बढ्नु पर्नेमा जोड दिए ।

नेकपा एमाले पहिलो पार्टी मात्रै भएर हुँदैन । हामी पहिलो पार्टी हुँदा हुँदै पनि हामीले केन्द्र र प्रदेशमा हामीले सरकार बनाउन सकेका छैनौँ । त्यसको अन्त्यको लागि कसैको सहारा विना एक्लै बहुमत प्राप्त पार्टीको लागि नेकपा एमाले बनाउनु पर्छ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको विदेश भ्रमणबाट देशलाई कुनै फाइदा नहुने महासचिव पोख्रेलले बताए ।

‘उहाँ भ्रमण गरेर स्वागत लिएर फर्किनु भयो देशको लागि केही गर्नु भएन । उहाँ देशको लागि होइन विदेशको लागि कन्फर्टेबल हुनुहुन्छ’, उनले भने, ‘देश र जनताको लागि एमाले बाहेक अरू कुनै पनि पार्टीले केही गर्न सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस