शुक्रबार, ०२ कार्तिक २०८१

उपनिर्वाचनमा बाजुराको स्वामीकार्तिक सहीत ३ पालिका उपप्रमुखमा महिला अनिवार्य

बाजुरा : दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ ।

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

कीर्तिपुर नगरपालिका, काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला छन् । त्यसैले ती वटै पालिकामा दलहरुले महिला वा पुरुष उम्मेदवार बनाउन सक्छन् ।

नलगाड नगरपालिका, जाजरकोट, गौरीशंकर गाउँपालिका, दोलखा र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामा उपप्रमुखका लागि उपचुनाव हुनेछ । तीन वटै पालिकामा हाल प्रमुख पुरुष छन् । निर्वाचन आयोगको पछिल्लो निर्णयअनुसार तीन वटै पालिकाको उपप्रमुखमा दलहरुले महिला उम्मेदवार उठाउनुपर्ने छ ।

संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । निर्वाचन कानुनमा प्रमुख वा उपप्रमुखमध्ये एउटा महिला उठाउनुपर्छ । त्यसअनुसार नै दलहरुले उम्मेदवारी दिएका थिए । तर अहिले एउटा मात्र पद रिक्त भएर उपचुनाव हुन लागेको छ । यसमा महिलाको उम्मेदवार अनिर्वाय हुन्न ।

‘महिलालाई आरक्षण नगर्ने हो भने सबै पुरुष हुने र हिजो जितेको पद पनि गुम्नसक्ने भएकाले संविधान र निर्वाचन कानुनको सकारात्मक व्याख्या गरी महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न खोजिएको हो’, थपलियाले भने ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष नैनादेवी जैशीको मृत्यु पछि पद खाली छ । जैशी नेपाली काँग्रेसबाट निर्वाचित हुन् । पालिकामा अध्यक्ष पनि नेपाली काँग्रेसबाटै जितेका भरतबहादुर रोकाया छन् । पाँच वटा वडा मध्ये पनि ३ वटा वडामा काँग्रेसले जितेको छ । 

प्रतिक्रिया दिनुहोस