शुक्रबार, ०४ असोज २०८१

चेतन हत्याकाण्डका अभियुक्त रिहाईपछि पीडित परिवारमा त्रास, अनेरास्ववियु आन्दोलित

बाजुरा : सर्वोच्च अदालतले अनेरास्ववियुका तत्कालिन केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ । बाजुराको त्रिवेणी नगरपालिका–७ का अयडीको हत्या प्रकरणका आरोपितलाई सर्वोच्चले साधारण तारिखमा छाड्न आदेश दिएको हो ।

जिल्ला र उच्च अदालतको फैसलालाई बदर गर्दै सर्वोच्चले छाड्न आदेश दिएको हो । हत्याकाण्डका अभियुक्तलाई छोड्नु र त्यसैमा पनि साधारण तारिखमा आदेश हुने कुरा गम्भीर भएको भन्दै परिवारमा आशंका र त्रास फैलिएको छ । अयडीको परिवारले सामाजिक सञ्जाल मार्फत आफ्नो पीडा र त्रास पोख्नेक्रम जारी छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले अयडी हत्या प्रकरणको मुद्दामा बिहिबार आदेश दिएको हो । अभियुक्तहरू तत्कालीन नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंहबहादुर अयडीलाई न्यायाधीशद्वयको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो । 

सर्वोच्च स्रोतका अनुसार उक्त मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेशसमेत बदर गर्दै उनीहरूलाई तारेखमा राखिएको हो ।

सर्वोच्चको आदेशले उनीहरु सबै आजै छुटेका छन् भने सोही मुद्दाका प्रतिवादी धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई भने सर्वोच्चले थुनामै राख्नुपर्ने आदेश गरेअनुरुप उनीहरु कारागारमा छन् ।

उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।  तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।  

जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलले घटनामा संलग्न देखिएका भन्दै पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरूलाई सर्वोच्चले साधारण तारेखमा छाडिदिएपछि पीडित पक्षले असन्तोष प्रकट गरेको छ । सर्वोच्च अदालतले दिएको आदेशप्रति मृतकका बुवा गगन अयडीले असन्तुष्टि व्यक्त गर्दै कानुनमाथि विश्वास गरेर न्यायको लडाइँ लडिरहेका बेला सर्वोच्च अदालतले दिएको आदेशले चिन्तित र भयभित बनाएको बताए ।

छोराका दोस्रो पटक निधन भएको अयडीले पीडा सुनाएका छन् । अयडीले भने, ‘घरभित्रबाट तानेर मेरो छोराको क्रुर तरिकाले हत्या गरिएको थियो । त्योभन्दा ठूलो आज सर्वोच्च अदालतको कानुनको हत्या भएको छ । छोराको ज्यान त गएकै थियो आज न्याय पनि मरेको आभास भएको छ ।’

उनले आफ्नो छोरालाई क्रुर तरिकाले १४–१५ जनाको समूह मिलेर हत्या गरेको भिडिओ प्रमाण सर्वोच्च अदालतको इजलासमा देखाउँदासमेत न्यायाधीशले वेवास्ता गरेको गुनासो समेत गरेका छन् । सर्वोच्चको फैसलाले द्वन्द्व भड्काउने काम गरेको बताउँदै उनी अब हुने दुर्घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताउँछन् ।

‘छोराको हत्या गर्ने बेलाको भिडियो क्लीप पेन ड्राइभमा राखेर हाम्रा वकिलमार्फत सर्वोच्चको इजलासमा न्यायाधिशलाई दिए तर उहाँहरुले हेर्न मान्नुभएन,’ गगनले भने, ‘प्रमाण पेश गर्ने अवसर समेत दिइएन । द्वन्द्व भड्काउने काम गरिएको छ । अब चुप लागेर बस्ने अवस्था छैन । अब हुने सम्भावित क्षतिको जिम्मा जिम्मेवारी राज्यले लिनुपर्छ ।’

२०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले हत्या गरेको थियो । त्यसबेलाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  
 

अनेरास्ववियु आन्दोलित 

यता अनेरास्ववियुले सर्वोच्चको आदेश विरुद्ध आन्दोलन सुरु गरेको छ । विवादस्पद छवीका न्यायधिसको आदेश प्रति नै लक्षित गरेर अनेरास्ववियुले आक्रोश पोखेका छन् । अनेरास्ववियुका अध्यक्ष समीक बडालले ज्यानमारा अदालत भनेका छन् । काठमाडौंमा प्रदर्शन सुरु गरिएको छ ।

देश व्यापी रुपमा प्रदर्शन धर्ना र विरोधका कार्यक्रम तय गरिएको र अदालतले न्याय मार्ने काम गरेकोले त्यसको खबरदारीका लागि देशव्यापी सचेत विद्यार्थी युवाहरुले दबाबमुलक विरोध प्रदर्शन गर्न लागेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले बताएका छन् । रोकाया पनि सामाजिक सञ्जाल मार्फत विभत्र्स हत्यामा संलग्नलाई राजनीतिक संरक्षण र सत्ता सेटीङ गर्नु अर्को अपराध गर्नु जस्तै भएको बताएका छन् ।

चेतन अयडीको गृह जिल्ला बाजुरामा पनि विरोध प्रर्दशन गरिएको छ । वर्तमान सरकार र अदालतको अन्यायीपूर्ण फैसला प्रति विरोध गरेका छन् । फैसला गर्ने न्यायधिसलाई नै हत्यारा संरक्षण गरेको, पैसामा विकेको आरोप समेत लगाएका छन् । 

आफन्तले न्यायलय माथि नै सत्तागठबन्धनको सेटिङ्क चलेको आरोप लगाएका छन् । विद्यार्थीले अत्या होकी मृत्यु भनेर बाजुराबाट प्रतिनिधी सभामा प्रतिनिधित्व गर्ने सांसद बद्री पाण्डेलाई समेत प्रश्न गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस