बाजुरा : बाजुरा जिल्लामा रगतको निरन्तर अभावका कारण आम नागरिकको जीवन जोखिममा परेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल, जिल्ला समिति बाजुराले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । युवासंगठनहरूले जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटीको गैरजिम्मेवार व्यवहारप्रति कडा आपत्ति जनाउँदै तत्काल समाधानका लागि प्रशासनलाई दबाब दिएका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ, बाजुरामा अहिले रगत नपाएर गर्भवती महिला, दुर्घटनाका घाइते र आकस्मिक बिरामीहरूले हरेक दिन पीडा भोग्नुपरेको छ । कतिपयले उपचारकै क्रममा ज्यान गुमाउनुपरेको तथ्यले स्थानीय समुदाय स्तब्ध बनेको छ । युवासंगठनका प्रतिनिधिहरूले यस्तो अवस्था केवल स्वास्थ्य समस्या होइन, “जनताको जीवनसँगको खेलवाड” भएको आरोप लगाएका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरा र जिल्ला अस्पताल दुवै संस्थाले आफ्नो दायित्वप्रति उदासीनता देखाएको भन्दै ज्ञापनपत्रमा भनिएको छ, “जनताको जीवनरक्षक संरचना नै निस्क्रिय बन्नु, कार्यालय बन्द रहनु, रगत संकलन र भण्डारण नगर्नु — यो आम नागरिकमाथिको अन्याय हो ।”
युवासंगठनहरूले रेडक्रस शाखालाई दलगत प्रभाव र व्यक्तिगत स्वार्थले ग्रस्त बनाइएको आरोप समेत लगाएका छन् । उनीहरूले बजेट र कार्यक्रमका चर्चा भए पनि व्यवहारमा रगत सञ्चार केन्द्र सञ्चालनमा नआएको भन्दै प्रशासनिक तहबाट ठोस निगरानी र कार्ययोजना आवश्यक रहेको बताएका छन् ।
ज्ञापनपत्रमा चेतावनी दिँदै भनिएको छ, “यदि राज्य संयन्त्र र जिम्मेवार निकायहरूले तुरुन्त प्रभावकारी पहल नगर्ने हो भने, हामी जनताको पक्षमा सडक आन्दोलन गर्न बाध्य हुनेछौं ।”
अनेरास्ववियुका जिल्ला सचिव लक्ष्मण रोकाया र राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष विष्णुबहादुर कार्कीले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा बाजुराको कठोर भौगोलिक र जीवनस्तरबीच नागरिकका लागि ‘एक थोपा रगत जीवन र मृत्युबीचको सीमारेखा’ बन्ने अवस्थाले राज्यको जिम्मेवारी थप गम्भीर बनेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्र मार्फत तत्काल सर्वपक्षीय भेला आह्वान गरी—जिल्ला अस्पताल, नेपाल रेडक्रस, स्थानीय तह, युवा तथा नागरिक समाजका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरूबीच स्थायी समाधानका लागि ठोस योजना तयार पार्नु पर्ने, रेडक्रस शाखा र जिल्ला अस्पताल दुवैलाई स्पष्ट जिम्मेवारी तोकी काम देखाउनु पर्ने, नियमित रगत संकलन, भण्डारण र वितरण प्रणाली पुनः सञ्चालन गर्न तुरुन्त कार्ययोजना गर्नु पर्ने र लापरवाहीका कारण जनताको स्वास्थ्य वा ज्यान जोखिममा परेको प्रमाणित भएमा सम्बन्धित अधिकारीमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिनु पर्ने माग राखेका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले तत्काल समस्याको समाधानका लागि पहल गर्ने बताएका छन् । यो सुरु देखिकै समस्या हो, समाधान अति आवश्यक छ र त्यसका लागि सबै पक्षलाई जिम्मेवारी बनाउने भूमिकामा आफ्नो प्रयास रहने आश्वासन दिएका छन् ।
युवा विद्यार्थीले बाजुरामा रगत अभाव मात्रै भनेर सामाजिक सञ्जालमा सुनिरहनु पर्ने समस्या हल नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । ज्ञापन पत्र बुझाउन युवा संघ, अनेरास्ववियु, खेलकुद महासंघ सहीत नेकपा एमाले निकट जनसंगठनका नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस