बिहिबार, ०३ असोज २०८१

बाजुराका स्थानीय तहको बेरुजु १ अर्व ५० करोड नाघ्यो, सबैभन्दा बढी त्रिवेणीमा

बाजुरा : बाजुराका स्थानीय तहको बेरुजु १ अर्व ५० करोड नाघेको छ । नौ वटा स्थानीय तहको २०७९ को बेरुजु विवरण हेर्दा १ करोड ५० करोड ५१ लाख ३२ हजार देखिएको छ । ती मध्ये सबैभन्दा बढी त्रिवेणी नगरपालिका र सबैभन्दा कम गौमुल गाउँपालिकामा देखिएको छ ।

नौ वटा स्थानीय तह मध्ये त्रिवेणी नगरपालिकामा मात्र २१ करोड ६५ लाख ४८ हजार देखिएको छ । दोस्रोमा स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको छ । स्वामिकात्र्तिकमा २१ करोड ४० लाख ५० हजार बेरुजु छ । पाँच वटा गाउँपालिका मध्ये यो सबैभन्दा बढी बेरुजु हो । 

यसैगरी बुढीगंगा नगरपालिकामा १९ करोड ७४ लाख ३६ हजार, बुढीनन्दा नगरपालिकामा १६ करोड ६८ लाख ५९ हजार बेरुजु छ । बडीमालिका नगरपालिकामा १६ करोड ९४ लाख ५१ हजार, खप्तड छेडेदह गाउँपालिकामा १३ करोड ३४ लाख ५९ हजार बेरुजु छ । 

हिमाली गाउँपालिकामा १२ करोड ७८ लाख ९३ हजार र गौमुल गाउँपालिकामा १० करोड ७५ लाख ५१ हजार बेरुजु छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार लेखा परिक्षणबाट श्रोत र साधानको प्राप्तीको प्रक्षेपण यथार्थपरक नभएको रकमकै बेरुजु देखाइएको हो ।

स्थानीय तहमा एउटै वर्षको मात्रै नभई विगत देखि वर्षेनी थपिदै आएको बेरुजु रकम बढेर १ अर्व ५० करोड बढी पुगेको हो । बेरुजू असूली लक्ष अनुसार नभएको, कर्मचारी दरबन्दी अनुसार स्थायी पदपूर्ती नभएको, विकास निर्माण र सेवा प्रक्रियामा प्रभावकारिता नभएको नदेखिएको जस्ता विषयमा बेरुजु देखाइएको छ ।

पालिकाले अनुदान प्राप्त योजनाको अनुगमन नगरि भुक्तानी दिने विषय, वितरण मुखी सहयोग अनुदानका कार्यक्रम, आन्तरिक नियन्त्रण प्रणाली कमजोर देखिए र कतिपय आम्दानी तथा खर्चको श्रेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्वन गरेकोले महालेखाले बेरुजु देखाएको हो ।

केही बजेट तथा अनुदानका कार्यक्रममा डिजिटल लेखा प्रणलीमा अवलम्वन नगर्दा पनि समस्या देखिएको छ । पालिकाले आवश्यक काजगपत्र र प्रक्रिया पुर्याउने चरण पार नगर्दा पनि बेरुजु देखिएको छ । 

काम नभएर वा सबै रकम भुक्तानी गर्नै पर्ने गरि बेरुजु नभएपनि कुनै न कुनै प्रक्रियामा भएको कमजोरीलाई सच्याउनु पर्ने सुझाव सहीत बेरुजु छ । खराब नियत नराखि पनि कुनै कागज नपुगेर, वा प्रक्रियामा सुधार गर्नु पर्ने शिर्षकमा पनि बेरुजु भएकोले यो पालिकाको बद्मासी भन्न नमिल्ने कर्मचारी र जनप्रतिनिधीको दाबी छ । 

कमजोरी भएपनि कर्मचारी वा जनप्रतिनिधी कसैबाट बद्मासी नभएको र बेरुजु रकमलाई लिएर गलत अर्थमा नबुझ्न पनि जनप्रतिनिधीको अनुरोध छ । प्रत्येक वर्ष बेरुजु रकम बढ्न थालेपछि स्थानीय भने जनप्रतिनिधी र कर्मचारीसँग आशंका गर्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस