आइतबार, ०७ पुष २०८१

बाजुराको सदरमुकाममै बसपार्क छैन, सडक छेउमै हुन्छन् गाडी पार्किङ्ग

अव्यवस्थित बजार क्षेत्र व्यवस्थित गर्न नगरपालिका प्रतिबद्ध छ : नगर प्रमुख खड्का

बाजुरा : सदरमुकाम मार्तडीमै बसपार्क नहुँदा गाडी पार्किङ्गमा समस्या हुने गरेको छ। बसपार्क नहुँदा दुर्घटना हुने जोखिम बढ्ने भन्दै बजार बासिहरु समेत त्रासमा छन् ।

सदरमुकाम मार्तडीको सडक छेउछाउमा जताततै गाडी पार्किङ्ग गर्नुपर्ने बाध्यता छ । साँगुरो सडकमा गाडीहरु आवतजावत गरिरहने र मान्छेको भिडभाड नि त्यस्तै हुने हुँदा दुर्घटना हुने जोखिम बढेको हो । गौमुल गाँउपालिकाकी रिता वि.क दिनभर लुगा सिलाउने काममै व्यस्त हुन्छन् । छोराछोरीहरु कुन बेला सडकमा गएर च्यापिन्छन् भन्ने चिन्ता उनलाई छ । दिउँसो तिर विद्यालय गएको बेला ढुक्क मन हुने भएपनि बिहान बेलुका चिन्ता कहिले खालि हुँदैन उनले सुनाइन् ।  व्यवस्थित बसपार्क भइदियो भने  चिन्ताबाट मुक्त भइने अपेक्षा उनको छ ।  

उनलाई जस्तै समस्या सडक छेउमा पसल थापेर बसेका सबै व्यापारिहरुलाई छ । सडकमा छेउछाउमा नै गाडी पार्किङ्ग भएपछि विद्यालय आउने बालबालिका र आवत जावत गर्ने वृद्धवृद्धा लगायतका अन्य पैदल यात्रिहरुलाई पनि सकस हुने गरेको छ ।  बसपार्कका नहुँदा दुर्घटना बढ्ने जोखिम रहेको भन्दै बडीमालिका नगरपालिका ९ घर भएका मार्तडीकै अर्का व्यापारी जव्बरे सनाई पनि चिन्तित छन् । गाडीहरु आवतजावत भइरहने र बालबालिकाहरु सडकमा गइरहने हुँदा कतिवेला दुर्घटना हुन्छ भन्ने चिन्ता लाग्ने गरेको उनले बताएका छन् ।

यतिमात्र होइन मार्तडी बजारको फोहार व्यवस्थापन गर्न नसकेको उनले गुनासो गरे । जतिसक्दो चाँडो बसपार्क निमार्ण गर्नुपर्छ भन्ने  पक्षमा सम्पुर्ण बजार बासिहरु रहेको उनको भनाई छ । आवतजावतमा मात्रै समस्या छैन । गाडी चालकहरुलाई पनि गाडी पार्किङ्ग कता गर्ने ? भन्ने समस्या एकातिर छ भने अर्कोतिर पैदलयात्रिहरु आवतजावत गरिरहने हुँदा जोखिम मोलेर चलाउनुपर्ने बाध्यता रहेको गाडी चालक खप्तड छेडेदह गाँउपालिका वडा न. ४ का गाडी चालक तेज रावतले बताएका छन् ।

उनले भने, “बालबालिकाहरु हिडिरहेका हुन्छन्, कतिवेला के हुन्छ भर हुँदैन, धेरै जोखिम मोलेर चलाउनुर्छ, गाडी पार्किङ्गका लागि पनि समस्या छ । बिचमै पार्किङ्ग गर्नुपर्ने हुन्छ, सदरमुकाममै बसपार्कको व्यवस्था नहुनु दुखःद विषय हो ”। यातायात व्यावसायिहरुलाई गाडी पार्किङ्ग संगै अन्य धेरै समस्याहरु झेल्दै आएको  जयमालिका यातायात प्रालिका यातायात व्यावसायि बिर बहादुर नेपालीले बताएका छन् ।  

“गाडी पार्किङ्गका लागि बसपार्कको मात्रै समस्या छैन, शौचालय, खोनेपानीको पनि सुविधा छैन,दिनभर सडकमै उभिएर बस्नुपर्ने हुन्छ, बस्नका लागि कुनै व्यवस्था गरेको छैन” जयमालिका यातायात प्रालिका यातायात व्यावसायि बिर बहादुर नेपालीले भने, बिगत लामो समय देखि बडीमालिका नगरपालिका–८ मा निर्माणाधिन अवस्थामा रहेको बसपार्क अलपत्र परेको छ । बसपार्क निर्माणको एक दशक वितिसक्दा पनि निर्माण हुन सकेको छैन । तत्कालिन जिल्ला विकास समिति बाजुराको २३ औं जिल्ल परिषदबाट दुई लाखबाट निर्माणका कार्य थालनी भएकोे थियो ।

व्यवस्थित बसपार्क, बसपार्कमै खानेपानीको व्यवस्था, शौचालय, गर्मीको समयमा सडकमै उभिनुपर्ने, वर्षातको समयमा ठुलो पानीको झरिमा पनि भिजेर सडकमै उभिरहनुपर्ने बाध्यता हटाउन प्रतिक्षालयको व्यवस्था गरिदिनुपर्ने यातायात व्यावसायिको माग छ ।  

बसपार्क निर्माणका लागि अहिलेसम्म स्थानीय सरकारले ९० लाख बढी रकम खर्च गरिसकेको भएपनि निर्माण कार्य भने अझै अलपत्र छ । पुरा गर्नका लागि सुरसार छैन । अलपत्र अवस्थामा रहेको बसपार्क निमार्णका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक पहल र लगानी गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको दावी छ । जग्गा नहुँदा समस्या भएको बताउदै आफुहरु निर्वाचित भए पश्चात पनि लगानी धेरै खर्च गरिसकेको बताएका छन् । 

नगर प्रमुख खड्काले भने “अघिल्लो कार्यकालका जनप्रतिनिधिले निर्माण गर्न लागेको बसपार्क अहिलेका लागि उपयुक्त छैन, उक्त बसपार्कले सबै यातायातका साधनहरु राख्न नसकिने स्थिति भएपछी अव निजि जग्गा लिजमा लिएर अर्को बसर्पाक निर्माणका लागि छलफल भइरहेको छ, हामी निर्वाचित भएपछि पनि ६० लाख बढी खर्च भइसकेको छ, तर बसपार्क निर्माण हुन सकेको छैन ”  अवको दुई महिना भित्रै बसपार्क निमार्ण गर्ने गरी प्रक्रिया अगाडी बढाइएको पनि उनले बताए । जिल्ला स्थित अन्य सबै सरोकारवाला निकाय संग छलफलका लागि भोलि (मंगलबार) बैकक बोलाइएको पनि उनले बताएका छन् ।

सदरमुकाम मार्तडीमा बस पुगेको ६ वर्ष हुँदा पनि बसपार्क नहुँदा सडक छेउमै गाडी पार्किङ्ग गरेर राख्नु पर्ने र त्यँहि साँगुरो सडकमा पैदल यात्रिहरुले यात्रा गर्नुपर्ने बाध्यता छ । एउटै योजनामा राज्यको लगानी लगाएको भएपनि काम नहुँदा स्थानीय हैरानी खेप्दै आएका छन् । उसो त सदरमुकाम मार्तडी बजार अव्यवस्थित नै देखिन्छ । ठाँउ ठाँउमा खाल्डा खुल्डी भएको अव्यवस्थित सडक खण्ड, जताततै फोहारै फोहोर, सडक छेउमै अव्यवस्थित ढङ्गले राखिएका बंगुर खोरहरु र पोल्ट्री फर्मका कारण  मार्तडी बजारको वातावरण असर परेको छ ।

अव्यवस्थित ढङ्गले राखिएका बंगुर खोरहरु र पोल्ट्री फर्महरु नगरपालिकाले हटाउनुपर्ने स्थानीयले बताउदै आएका छन् । बजार क्षेत्रभित्रै नियमित खानेपानी नभएको, सार्वजनिक शैचालय नभएको बजार बासिको गुनासो छ । यि सबै समस्याहरुलाई सामाधा गर्ने गरी काम अगाी बढीहेको नगरपालिकाले दावी गरेको छ । अव्यवस्थित बजार क्षेत्रको व्यवस्थित  गर्न  नगरपालिका प्रतिबद्ध  रहेको नगर प्रमुख खड्काले बताएका छन्।         
  

प्रतिक्रिया दिनुहोस