बिहिबार, २४ पुष २०८२

बुढीगंगाको १३ औं नगर सभा सकियो, पालिका व्यवस्थापन सर्वेक्षण प्रतिवेदनसहित १७ ऐन तथा विधेयक पारित

बाजुरा : बुढीगंगा नगरपालिकाको १३ औं नगर सभा सकिएको छ । बुढीगंगा नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सहीतका ऐन विधेयक पारित गर्दै सभा सकिएको हो । 

नगर प्रमुख रामबहादुर बाँनीयाको अध्यक्षतामा सञ्चालन भएको नगरसभाले चालु आर्थिक वर्षलाई “निर्माण तथा विकास वर्ष” का रूपमा मनाउने निर्णयसमेत गरेको छ । नगरपालिकाको समग्र सुशासन, आर्थिक अनुशासन, सेवा प्रवाह तथा विकासलाई प्रभावकारी बनाउने उद्देश्यसहित ११ वटा नयाँ ऐन तथा विधेयक पारित गरिएको छ । 

पारित भएका नयाँ ऐनहरूमा आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन, उद्योग तथा व्यवसाय दर्ता तथा नियमन ऐन, कृषि तथा पशुपन्छी ऐन, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन ऐन, फोहरमैला व्यवस्थापन ऐन, जनस्वास्थ्य ऐन, सुशासन ऐन, स्थानीय सार्वजनिक सवारी साधन तथा यातायात व्यवस्था ऐन, नगरपालिकाको प्रशासनिक कार्यविधि ऐन, आकस्मिक कोष व्यवस्थापन विधेयक तथा आधारभूत तथा माध्यमिक तहको शिक्षा व्यवस्थापन ऐन समावेश गरिएको नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् । 

जैशीका अनुसार सबै ऐनहरू २०८२ साल का लागि लागू हुनेछन् । यसैगरी नगरसभाले आवश्यकता अनुसार ६ वटा ऐन तथा कार्यविधि संशोधन समेत गरेको छ । संशोधित ऐनहरूमा उपभोक्ता हकहित संरक्षण ऐन २०७९, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन २०८०, जलस्रोत प्रयोग तथा व्यवस्थापन ऐन २०८०, पूर्वाधार व्यवस्थापन ऐन २०७८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७९ र संघ–संस्था दर्ता ऐन २०७९ रहेका छन् ।

नगरसभाले पारित गरेका ऐन तथा विधेयकहरूले बुढिगंगा नगरपालिकामा विकास निर्माण, सेवा प्रवाह, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ। नगर नेतृत्वले चालु आर्थिक वर्षलाई उपलब्धिमूलक बनाउँदै जनताको जीवनस्तर उकास्न प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस