काठमाडौं: सेती लोकमार्गअन्तर्गत टिकापुर–लोधे–जैपुर–तालालकोट सडकको दक्षिण खण्डलाई बहुवर्षीय आयोजनाका रूपमा कार्यान्वयन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले योजना कार्यान्वयनका लागि बहुवर्षीय ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयद्वारा जारी टिप्पणी र आदेशअनुसार कैलाली जिल्लामा पर्ने उक्त सडक खण्डको चेन १९ं५०० देखि ३४ं००० सम्म करिब १४।५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिनेछ। सेती लोकमार्गको यो खण्ड सुदूरपश्चिम क्षेत्रको रणनीतिक तथा आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
चालु वर्षमा २५ करोडभन्दा बढी बजेट
चालु आर्थिक वर्ष २०८२र८३ का लागि यस आयोजनामा २५ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। तर आयोजना एकै वर्षमा सम्पन्न गर्न सम्भव नभएकाले बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ। सम्पूर्ण सडक निर्माण सम्पन्न गर्न करिब ९३ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ, जसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।
राष्ट्रिय योजना आयोगबाट स्रोत सहमति लिइने
बहुवर्षीय ठेक्का स्वीकृतिका लागि मन्त्रालयले आवश्यक कागजातसहित राष्ट्रिय योजना आयोगसमक्ष स्रोत सहमतिको माग पुनः पेश गर्ने निर्णय गरेको छ। स्रोत सहमति प्राप्त भएपछि सडक विभागमार्फत प्रचलित कानुन, नियम र स्वीकृत मापदण्डअनुसार ठेक्का प्रक्रिया अघि बढाइनेछ।
दोहोरो योजना नहुने, गुणस्तरमा सम्झौता नहुने
मन्त्रालयको टिप्पणीमा आयोजना कार्यान्वयनका क्रममा अन्य ठेक्का वा योजनासँग दोहोरोपन नहुने सुनिश्चित गर्न सम्बन्धित कार्यालयलाई समन्वय गर्न निर्देशन दिइएको छ। साथै, स्वीकृत बजेटको सीमा भित्र रही खर्च व्यवस्थापन गरिने र निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट गरिएको छ।
निर्माणले गति लिने अपेक्षा
सडक निर्माण सम्पन्न भएपछि टिकापुरदेखि जैपुर र तालालकोटसम्मको यातायात सहज हुने, वर्षायाममा हुने आवागमन समस्या न्यून हुने र स्थानीय उत्पादन, व्यापार तथा सेवाक्षेत्रको विस्तारमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीका अनुसार यो सडकले कैलालीका दुर्गम बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्नेछ।
सामाजिक दबाबपछि बजेट सुनिश्चिततर्फ सरकार
सेती लोकमार्ग निर्माणमा गति दिन र बजेट सुनिश्चित गर्न सामाजिक अभियन्ता हेमराज थापा नेतृत्वको टोलीले करिब दुई महिना अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझाउँदै थापाले मन्त्रीसमक्ष बजेट ग्यारेन्टीको मागसहित कडा चेतावनीसमेत दिएका थिए।
सेती लोकमार्गको निर्माण कार्य आर्थिक वर्ष २०६६र६७ मा सुरु गरिएको भए पनि बजेट अभाव र वन क्षेत्रसँग सम्बन्धित समस्या देखाउँदै लामो समयदेखि काम सुस्त रहँदै आएको थियो। हालको बजेट विनियोजन र बहुवर्षीय ठेक्का प्रक्रियासँगै निर्माण कार्यले तीव्रता पाउने विश्वास गरिएको छ
प्रतिक्रिया दिनुहोस