बाजुरा : जिल्लामा पहिलो पटक जिल्ला स्तरिय न्यायिक सम्मेलन आयोजना गर्ने तयारी सुरु गरिएको छ । सम्मेलन तयारीका सम्बन्धमा नौ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुले मार्तडीमा छलफल गरेका छन् । न्याय सम्पादनको अवस्था, उपलब्धी र सिकाइ अभ्यास आदान प्रदानका लागि सम्मेलन गर्न लागिएको हो ।
नौ वटै स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको सहभागितामा यही वर्षको चैत्र भित्र आयोजना गर्ने गरि छलफल गरिएको बुढीनन्दा नगरपालिका न्यायीक समिति सहजकर्ता प्रदीपराज जैशीले बताएका छन् । सम्मेलनको आयोजनाको जिम्मेवारी पनि बुढीनन्दा नगरपालिकाले नै लिने सहमति गरिएको छ ।
बुढीनन्दा नगरपालिकाका उप–प्रमुख रामबहादुर बोहरा सहीतको उपस्थितिमा सम्मेलनको आयोजना, व्यवस्थापन तथा सम्भावित विषयवस्तुहरूबारे विस्तृत छलफल गरिएको छ ।
सहमति अनुसार जिल्ला स्तरिय न्यायिक सम्मेलन २०८२ साल चैत्र मसान्त भित्र बुढीनन्दा नगरपालिका न्यायिक समितिको आयोजनामा सम्पन्न गरिने छ । भने सम्मेलनमा प्रत्येक नगरपालिका तथा गाउँपालिकाबाट नगर÷गाउँपालिका प्रमुखसहित न्यायिक समिति पदाधिकारी र एक जना कर्मचारी गरी पाँच जनाको सहभागिता रहने व्यवस्था गरिएको छ ।
सम्मेलन दुई दिनसम्म सञ्चालन हुने र सो अवधिका आवास, खाना तथा खाजाको खर्च आयोजक बुढीनन्दा नगरपालिकाले व्यहोर्ने सहमति भएको छ भने सहभागीहरू आउजाउ गर्ने खर्च सम्बन्धित पालिकाले नै व्यहोर्नेछन् ।
त्यसैगरी सम्मेलनको थप योजना निर्माण, समन्वय तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजक बुढीनन्दा नगरपालिकाले लिने निर्णय पनि गरिएको छ । न्यायिक समितिहरूको क्षमता अभिवृद्धि, अनुभव आदान–प्रदान तथा स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस