बिहिबार, ०३ असोज २०८१

एमाले बाजुराले मंसिरमा जिल्ला अधिवेशन गर्ने, भदौ २० पछि पालिका प्रशिक्षण

बाजुरा : नेकपा एमाले बाजुराले आठौं जिल्ला अधिवेशन मंसिरमा गर्ने भएको छ । २०८० लाई अधिवेशनको वर्षका रुपमा लिने निर्णय गरेको नेकपा एमालेले मंसिर भित्र जिल्ला अधिवेशन गरि सक्ने निर्णय गरेको पार्टी सचिव भरत थापाले बताएका छन् ।

बाजुरा सदरमुकाम मार्तडीमा बसेको पार्टी जिल्ला कमिटीको आठौं बैठकले अधिवेशनको मिति पछि घोषणा गर्ने गरि मंसिर भित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको हो । यस अघिको बैठकले चैत्र भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रदेश कमिटीको अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशनको तयारीमा जुट्ने निर्णय एमालेले गरेको छ । मंसिरमा जिल्ला अधिवेशन सकाएर पुस र माघमा पालिका अधिवेशन र फागुनमा वडा अधिवेशन र चैत्रमा टोल अधिवेशन गर्ने निर्णय गरेको सचिव भरथ थापाले बताएका छन् । 

पार्टी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले भदौ २० गतेबाट पालिका प्रशिक्षण तथा संगठन सुदृढीकरण अभियान थाल्ने निर्णय गरेको छ । नौ वटै पालिकामा पुगेर छलफल तथा भेला गर्ने, पालिका कमिटी, वडा कमिटी र टोल कमिटीका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिने गरि अभियान सुरु गरेको सचिव थापाले जानकारी दिएका छन् ।

पार्टी केन्द्रीय कमिटी सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज भैरवबहादुर सिंहको प्रमुख आतिथ्यतामा बसेको बैठकले यो वर्षलाई अधिवेशनको बर्षका रुपमा लिने र जनसंगठनका गर्न बाँकी जिल्ला तथा पालिका अधिवेशन पनि गर्ने निर्णय गरेको छ । 

नेकपा एमालेको सातौ जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वले पुरै कार्यकाल नसकेरै केन्द्रीय सर्कुलर अनुसार मंसिरमै नयाँ नेतृत्व चयन गर्ने भएको छ । नेकपा एमालेको विधान अनुसार जिल्ला कमिटीको कार्यकाल तीन वर्षको तोकिएको छ । 

मंसिरमा जिल्ला अधिवेशनको मिति तोकिएसँगै नेतृत्वमा आकांक्षा राख्नेहरुले आफ्नो लवीग बढाएका छन् । नेकपा एमालेले राजकीय पदमा भएका व्यक्तिको हकमा टोल देखि प्रदेश सम्मका अध्यक्ष र सचिव पदमा उम्मेदवारी दिएर दोहोरो कार्यकारी जिम्मेवारी लिन नपाउने निर्णय गरेपछि आकांक्षीको संख्या केही घटेको छ ।

यस अघि एमाले भित्र अध्यक्षका लागि प्रदेश कमिटी सदस्य लालबहादुर ओली, गगन रावल, वर्तमान उपाध्यक्ष भरत बुढा, सचिव भरत थापा, उपसचिवद्धय जनक कुमार बोहरा र हरि रोकायाको बलियो दाबेदारी थियो । बोहरा र रोकाया पार्टी केन्द्रीय कमिटीको निर्णयसँगै अध्यक्ष र सचिव पदमा उम्मेदवारी दिन नपाउने भएपछि रेसबाट बाहिरिन बाध्य भएका छन् ।

अब प्रदेश कमिटी सदस्य लालबहादुर ओली, गगन रावल, उपाध्यक्ष भरत बुढा र सचिव भरत थापा अध्यक्षका लागि उम्मेदवारी लिने तयारीमा देखिएका छन् । जनप्रतिनिधी भएका व्यक्तिहरुले सचिवमा पनि उम्मेदवारी दिन नपाउने भएपछि अमर खड्का, रामबहादुर बाँनीया, दिलबहादुर रावतले पनि रेसबाट बाहिर बस्नु पर्ने देखिएको छ ।

सचिवमा कार्यालय सचिव काशी विक र आर्थिक विभाग प्रमुख जनक विष्टको दाबी रहने देखिएको छ । उपसचिवका लागि भने महिला नेतृहरु मन्देवी ओली, सीता थापा लगायतको संभावना बढी रहेको छ । 

जिल्ला कमिटी सचिवालय सदस्य अर्जुन रोकाया, युवराज शाही, हिक्मत थापा, विष्णु अयडी, वीरेन्द्र रोकाया, लालबहादुर खड्का सहीतका नेताहरुले पनि २ जनाको कोटा रहेको उपसचिवमा दाबी गर्ने संभावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस