बिहिबार, ०३ असोज २०८१

नेकपा एमाले बाजुराले जनप्रतिनिधीको जिल्ला भेला सहीत प्रशिक्षण दिने

बाजुरा : नेकपा एमाले बाजुराले जनप्रतिनिधीको जिल्ला स्तरीय भेला आयोजना गर्ने भएको छ । पार्टीबाट पालिका र संसदमा प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको सामुहीक भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने एमाले जिल्ला सचिव भरत थापाले बताएका छन् ।

थापाले सामाजिक सञ्जाल मार्फत भेला आयोजनाको औपचारिक जानकारी समेत गराएका छन् । जिल्लाको विकासमा पालिका स्तरमा भइरहेका प्रयास, जनताका लागि जारी गरिएका घोषणा पत्र अनुसारको काम कारवाहीको अवस्था, जनता र जनप्रतिनिधी बीचको सम्बन्ध बारे लिखित छलफलका लागि भेला आयोजना गरेको हो ।

पार्टी जिल्ला कमिटीको भदौ १८ गते हुने बैठक सकिए लगत्तै भदौ २० गते जनप्रीतनिधीको भेला आयोजना गर्न लागिएको पार्टी प्रचार विभाग प्रमुख एवं कार्यालय सचिव काशी विकले बताएका छन् । 

बाजुरामा नौ वटा स्थानीय तह मध्ये नेकपा एमालेले ६ वटामा प्रमुख र ६ वटामा उपप्रमुख सहीत ३८ वटा वडा जितेको छ । जिल्ला समन्वय समिति पनि प्रमुख उपप्रमुख सहीत सबै सदस्य एमालेबाटै प्रतिनिधित्व गर्ने गरेका छन् ।

पार्टी र जनतासँग जनप्रतिनिधी जोडिन नसकेको, विकास निर्माणमा आलोचना बढी सुनिन थालेको र पार्टीले जारी घोषणा पत्रको मर्म अनुसार काम नभएको गुनासो पछि एमाले बाजुराले निर्वाचित भएको डेढ वर्ष पनि जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो ।

पार्टी जिल्ला कमिटीको बैठकमा नेकपा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश बहादुर शाह, दयालबहादुर शाही, सहदेव बोगटी आयोग सदस्य बसुन्धरा रोकाया सहीत प्रदेश कमिटी र जिल्ला कमिटी सबैलाई बोलाएको छ । पाटी जिल्ला इन्चार्ज भैरवबहादुर सिंह सहीतको टोली बाजुरा आइसकेको छ । 

नेकपा एमालेले यो बैठकलाई महत्वका साथ लिएको छ । पार्टीको तीन महिने मिसन ग्रास रुट अभियानको समीक्षा, पार्टी कमिटीबाट संघ, प्रदेश र स्थानीय तह चुनावमा भए गरेका गतिविधी बारेको छलफल, आसन्न प्रदेश कमिटीको अधिवेशन र जिल्ला अधिवेशनको तयारीका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस