आइतबार, ०७ पुष २०८१

सामाजिक एकता र सद्भाव कायम राख्न प्रधानमन्त्री दाहालको अपील

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले एकता र सद्भावको पक्षमा उभिन देशवासीलाई अपिल गरेका छन्। धरानमा पछिल्लो समय देखिएको अशान्तिको सन्दर्भमा शनिवार साँझ एक अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहन आग्रह गरेका हुन्।

विमतिहरुलाई संवादको माध्यमबाट राजनीतिक दल, सामाजिक संस्था, धार्मिक समुदायको महत्त्वपूर्ण भूमिका हुने स्मरण गराउँदै प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि धरानवासीसहित सबै नेपालीमा अपिल गरेका छन्।

 
‘सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । बिमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पु¥याउनसमेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्त्वपूर्ण रहन्छ ।

कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सूत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ,’ अपिलमा भनिएको छ, ’सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु।’

प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न र एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिने उल्लेख गरेका छन् । संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको समेत उनले बताएका छन्।
 

प्रतिक्रिया दिनुहोस