सोमबार, १५ पुष २०८१

काँग्रेसको १० दिने अभियान : अपेक्षा बढी उपस्थिति र उत्साह कम

संगठन सुदृढ र शुद्धिकरणको मुद्दामा नै कम बहस

बाजुरा : नेपाली काँग्रेसले देश व्यापी सुरु गरेको १० दिने अभियान सकिएको छ । साउन २० देखि ३० गतेको समय सीमा तोकेर अभियान सञ्चालन गरिएको थियो । जिल्ला र स्थानीय तह कमिटीमा पार्टीको अवस्था र आगामी रणनीति सहीतको समीक्षा र योजना तय गर्ने अभियानको प्रमुख उदेश्य राखिएको थियो । 

त्यही अनुरुप नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधी नै तोकेर ७७ वटै जिल्ला र १६५ वटा निर्वाचन क्षेत्रमा नेताहरु पठायो । पठाएका नेताहरु जिल्ला पुगे, कार्यकर्ता भेटे, छलफल समीक्षा गरे र सहभागि नेता कार्यकर्ताका गुनासो सुने अनि आफ्नो धारणा समेत सुनाए । त्योक्रम साउन ३० को समय सीमा तोकिएपनि कतै ३१ र कतै ३२ गतेसम्म चलिरहेको छ ।

१० दिन जनतासँग जोडिएका नेता कार्यकर्तासँग भेट्ने, छलफल तथा समीक्षा गर्ने, संगठन सुधारको अवस्था बारे जानकारी लिने र शुद्धिकरणको औचित्य सुनाउने कार्यमा नेताहरु सक्रियपनि रहे । तर भनेजस्तो अभियानको उत्साह र नेता कार्यकर्ताको उपस्थिति कतै देखिएन् । बाजुरा होस्, कि अन्य जिल्ला वा कुनै निर्वाचन क्षेत्र, कतैबाट पनि नयाँ तरंगको संकेत देखिएन् ।

पार्टी सत्ता र सरकारमा छ । ७५३ स्थानीय तहमध्ये पहिलो दलकै हैसियतमा बढी पालिकाको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरिरहेको छ । तर जनतासँग जोडिएको संगठनको शुद्धिकरण र संगठनको सुदृढीकरणको मुद्दाले बहसकै रुप लिन नपाएको अभियानमा सहभागि नेताहरुले नै बताउने गरेका छन् । 

देशको नेतृत्व गरिरहेको, सदनको पहिलो दलको कार्यक्रम जस्तो उर्जा र उत्साह कमैतिर मात्रै देखियो । यो अवस्था नेपाली काँग्रेसको कार्यक्रममा मात्रै भेटिएन्, नेकपा एमाले, सहीतका दलहरुको कार्यक्रममा पनि पछिल्लो समय त्यस्तै निराशाको अवस्था छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुलाई झनै समस्या देखिन्छ । 

जनतामा दल र दलका नेताहरुको कार्यशैली देखिर केही गर्ने नै होइनन्, भन्ने मानसिकता हाबी भएको देखिन्छ । नयाँ पीडितले फेसबुक र ट्वीटरको प्रचारबाजीको पछि लागेर सकारात्मकता नै देखिदैन् । त्यसको प्रत्यक्ष प्रभाव ठूला दलका कार्यक्रमममा परेको छ । जुन दृश्य बाजुरामा पनि भेटियो ।

नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे स्वयम आफै गृह जिल्ला पुगे । पार्टीका केन्द्रीय प्रतिनिधीका रुपमा पठाएका केन्द्रीय सदस्य नृप वड सहीतका नेताहरुको बाक्लो उपस्थिति पनि देखियो । तर नौ मध्ये ८ पालिकामा गरिएको कार्यक्रमको उपस्थिति हेर्दा लोभलाग्दो उत्साह कतै र कुनै कार्यक्रममा देखिएन् ।

बर्षादको सिजन, लगातारको पानी, सडक बाटो अवरुद्ध भएको अवस्था र कामको सिजनलाई कारण बनाइएपनि घरमै भएका, पसलमा बसेका र सम्पर्कमा रहीरहने व्यक्तिहरु नै कार्यक्रममा उपस्थित हुन रुचि नदेखाएको पाइयो । नेपाली काँग्रेस बाजुराले अभियानको पहिलो कार्यक्रम बडीमालिका नगरपालिकाबाट सुरु गर्यो । 

पहिलो कार्यक्रममै मार्तडी बजारकै अधिकांश काँग्रेस निकट व्यापार व्यवसायमा संलग्नहरुको उपस्थिति कमै देखियो । अगुवा कार्यक्रम र तोकीएका व्यक्तिहरु मात्रै सहभागि हुने निश्चित मापदण्ड बनाएको अवस्था पनि थिएन् । तर उत्साहको उपस्थिति नै कुनै कार्यक्रममा नभेटिएको स्वयम अभियानमा हिँडेका नेताहरु स्वीकार गर्ने गरेका छन् ।

अभियानको दोस्रो दिन त्रिवेणीमा आयोजित कार्यक्रममा पार्टीका लागि ठूलो योगदान पुर्याएका र लगानी समेत गरेका अगुवा नेता कार्यकर्ता नेताहरुले फोन गरेरै बोलाएर पनि धेरै जना सहभागि नै भएनन् । केही पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुले समेत सामाजिक सञ्जालमा मौन विरोध नै जनाए । 

काम बिशेष कारण देखाएर पूर्व भूमिसुधार सहायक मन्त्री जनक कुमार गिरी र पूर्व पार्टी सभापति मनबहादुर रावल लगायतका नेताहरु आफ्नै जिल्लाको कार्यक्रममा देखिएन् । पूर्व पार्टी सभापति कविराज पण्डित समेत केही पालिका बाहेकका कार्यक्रममा सहभागि भएन् । प्रदेश सभा सदस्य पदम बहादुर शाही र जुना दानीले पनि सबै पालिका नपुगी प्रदेश सभाको काम विशेष फर्कीन बाध्य भए ।

कार्यक्रम गरिएकोका आठ वटै कार्यक्रममा पार्टी सभापति रामसिंह रावल, सिंगो पार्टी पदाधिकारी, पूर्व पदाधिकारी प्रदेश समिति सदस्य, पालिका जितेका जनप्रतिनिधी सबै सहभागि थिए । बर्षाद र बाटोको समस्याले धेरै जसो आउन नपाएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । 

पार्टी प्रतिको आकर्षणमा कमि नभइ काम र बर्षादको समयले सबैलाई सहभागि गराउन नसकिएको र अभियानको औचित्य जे जति गरिएपनि पुरा गरेको नेताहरुको दाबी छ । नेपाली काँग्रेसले दोस्रो चरणको अभियान फेरि भदौ १० देखि २४ गतेसम्म १५ दिन चल्नेछ । केही नपुगेका र समेट्न नसकिएका जनता, नेता कार्यकर्ता गाउँ बस्ती र पालिकालाई दोस्रो चरणमा समेट्ने तयारी काँग्रेसको छ ।

नेपाली काँग्रेसले नेकपा एमालेको लाल किल्ला भनिएको गौमुल गाउँपालिकामा पहिलो चरणको कार्यक्रम नै गरेन् । खप्तड छेडेदह गाउँपालिका सकाएको पछिल्लो दिन कार्यक्रम गर्ने भनिएपनि टोली कोल्टी क्षेत्र लागेको थियो । गौमुलमा नेपाली काँग्रेसको कमजोर उपस्थिति छ ।

 पहिलो चरणमा कार्यकर्ता भेट्ने, संगठनको अवस्था बारे जानकारी लिने र संगठनको सुदृढ र शुद्धिकरणका लागि रणनीति तय गर्ने गरि १० दिनको अवधी तोकिएर सञ्चालन गरिएको अभियान भएकोले उत्साह र बाक्लो उपस्थिति नदेखिनुलाई अन्यथा लिन नहुने काँग्रेस नेताहरुको टिप्पोणी छ । 

अभियानको प्रमुख उदेश्य नै पार्टीलाई क्रियाशिल र लथालिङ्ग रहेको संगठनहरुलाई सुदृढ गर्नु थियो । १८ बुँदे निर्देशन बोकेर जिल्ला जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले दिन बिराएर पालिका पुग्ने भाषण गर्ने बाहेक थप काम गर्ने र रणनीति बनाउने समयनै नभएकोले दोस्रो चरणलाई थप प्रभावकारी नेताहरुको भनाई छ ।

बाजुराका नौ मध्ये ३ वटा पालिकामा प्रमुख, ३ वटा पालिकामा उपप्रमुख जितेको छ । बाँकी ६ वटामा नेकपा एमालेले जित हात पारेको छ । स्थानीय तहसँग काँग्रेसको सम्बन्ध, सम्पर्क र सहकार्य बारे पनि अभियान अन्तर्गत छलफलको विषय थियो । 

अभियानका क्रममा केन्द्रीय प्रतिनिधिले भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने लगायतका क्रियाकलापमा सहभागि बनेर काँग्रेसको जिल्ला देखि स्थानीय तहको वास्तविकताबारे प्रतिवेदन तयार गरि बुझाउने जिम्मा पाएका थिए । 

तर सम्पूर्ण जिम्मेवार र कामको औचित्य प्रमाणित हुने गरि कार्यक्रम भने कतै हुन सकेनन् । पार्टी सरकारको नेतृत्वमा हुँदा संघ र प्रदेशबाट आउने बजेटमा विभेद गरिएको, कार्यकर्ता भित्र पनि निकटलाई मात्रै काखी च्याप्ने रणनीति नेताहरु देखा परेको र पार्टीलाई गाउँ तहबाटै कमजोर बनाउने गरि गतिविधी भइरहेको प्रति अभियानका क्रममा जनताले गुनासो सुनाएका छन् ।

बाजुरामा संघ प्रदेश दुबै गठनबन्धका उम्मेदवारले चुनाव जितेका छन् । जनताले जितेपछि केही काम विशेष अनुकुल पारेर मात्रै जिल्ला फकिएने, कार्यक्रम गर्ने भएपनि जनतालाई नै भेट्ने, घरदैलोमा पुग्ने, समस्या सुन्ने र सुनाउने कुनै योजना नेताहरु नभएको प्रति स्थानीयले आक्रोश पोखेका छन् । 

नेपाली काँग्रेसले थालेको अभियानले ठूलो दल र नेताहरु आउँदैमा जनताको समर्थन रहने भन्ने पुरानो मानसिकता भत्काउनु पर्ने र नयाँ शिराबाट सुरु गर्नु पर्ने पाठ सिकाएको छ । काँग्रेस अब थप सच्चिने की, भएको संगठनमै चित्त बुझाएर बस्ने भन्नेमा स्वयम काँग्रेसको भूमिका कस्तो रहने भन्ने कुराले निर्धारण गर्ने देखिन्छ । 

मौसमले धोका दिएपनि जनताको समर्थन र कार्यतर्काको मनले धोका नदिनु पर्ने हो, तर १० दिने अभियानको उपस्थितिको अवस्थाले काँग्रेस भित्रको समस्या सहतमा पुग्यो वा कोही कसैको पार्टी प्रतिको मोह घट्यो भन्ने कुराले अर्थ राख्यो भन्ने कुरा खोजिको विषय बन्नुको विकल्प छैन् ।

पार्टी संगठनमा नयाँ अनुहार नथपिने, जिम्मेवारी बाँडफाँडमा पूर्वाग्रही राख्ने, सेल्फी खिच्दै दाइसँग भन्ने कुराको संख्या बाक्लीदै जाने अवस्था आए, काँग्रेस मात्रै होइन्, अरु पार्टीमा पनि कार्यकर्ताको संकट हुने अभियानबाटै संकेत गराएको देखिन्छ । 

नेताहरु गाउँ पुगे, छलफल गरे, जनता भेटे, सुख दुख बाँडे, तर त्यो भेट्ने र भेट हुनेमा त्यही पुरानै अनुसार देखिए । नयाँ पीडी वा युवा पुस्ताको उपस्थिति नै कमै देखियो । यी सबै कुराको गहिरो अध्यनन र अनुसान्धान, छलफल र व्यापक बहस सहीत नयाँ कदम चालिएन, भने जति चरणको कार्यक्रम गरेपनि, संगठन सुदृढ र शुद्धिकरणमा केही फरकपन नआउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस