सोमबार, २५ चैत २०८१

चितवन अझै आरामले शीर्षमा

काठमाडौँ :नेपाल सुपर लिग ९एनएसएल० सुरु भएको भर्खर नौ दिन पुगेको छ, लिग चरणका आधा जति खेल भने आइतबार सकिए । यतिसम्ममा चितवन शीर्ष स्थानमै छ । अहिलेसम्मका १० खेलमध्ये आधा त बराबरीमै टुंगिएका छन्, त्यसमध्ये चितवन र पुछारमा रहेको बुटवल–लुम्बिनीबीचको अन्तर भनेकै छ अंक मात्रै हो ।

त्यसैले लिग चरणका बाँकी ११ खेलले अंक तालिकामा धेरै फरक पार्न सक्नेछ, उतारचढावका प्रचुर सम्भावना कायम रहेका छन् । चितवनको तीन खेलबाट सात अंक भएको छ । उसका प्रशिक्षक नवीन न्यौपाने मान्छन्, चितवन शीर्षमा मात्र छैन, ‘कन्फर्ट जोन’ मा पनि छ । तर उनकै भाषामा चितवनले मुखैमा आएको तीन अंक गुमाएको छ र त्यसमध्ये एकै अंकमा चित्त बुझाउनुपर्‍यो ।

अर्कोतर्फ झापाले सुरुआती तीन खेलमा लगातार बराबरी खेल्यो र तीन अंकमै रह्यो । उसले सुरुका दुई खेलमा गोल गर्न सकेको थिएन, कम्तीमा यस खेलमा भने एक गोल आत्मसात् गर्न सफल रह्यो । यस सिजन अहिलेसम्म कुल २१ गोल भए, त्यसमध्ये एकतिहाइ गोल दोस्रो हाफको इन्ज्युरी समयमै भएका छन्, त्यसैले यो निकै संवेदनशील सावित भएको छ ।

यस संस्करणको एउटा ठूलो विशेषताका रूपमा यो तथ्य रहेको छ । दोस्रो हाफको इन्ज्युरी समय लामो मात्र छैनन्, यही समय केहीका लागि अवसर र केहीका लागि दुर्भाग्य । यसपल्ट दुर्भाग्य चितवनको भाग्यमा रह्यो, अन्यथा चितवनले जादुयी नौ अंक छुन सफल हुन्थ्यो र शीर्ष स्थानमा आफ्नो प्रवेश निश्चितजस्तै गर्न सफल हुन्थ्यो ।

खेलाडी थाक्न थाले

अधिकांश टिमका प्रशिक्षकले भन्न थालेका छन्, लगातारको खेलले खेलाडी थाक्ने गरेका छन् । त्यसमध्ये थपिए, चितवनका तिनै प्रशिक्षक न्यौपाने पनि । झापाविरुद्ध विशेषतः अन्तिम २० मिनेट चितवनको खेल रक्षात्मक मात्र रहेन, अलिकति कमजोर पनि रह्यो । ‘एकै दिन बिराएर खेल्नुपरेको हुनाले पनि खेलाडीलाई गाह्रो भएको हो,’ न्यौपानेले भने, ‘अब हामीसँग तीन दिन आराम लिने अवसर हुनेछ र त्यति बेला टिमका कमजोरी सच्याउने प्रयास गर्नेछौं ।’

चितवन जिततर्फ अग्रसर देखिएका बेला झापाका लागि अलहाजी गेरोले पेनाल्टीबाट बराबरी गोल गरे । नीरज चौधरीले एरोना थापालाई चितवनको पेनाल्टी एरियामा लडाएपछि झापाले पेनाल्टीको अवसर पाएको हो । यो गोल दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा सम्भव भएको थियो । त्यस अगाडि चितवनले टोरिच जेबरिनको गोलले २८ औं मिनेटमा अग्रता लिएको थियो । त्यसका लागि शिशिर लेखीले पास उपलब्ध गराएका थिए ।

गोलको तथ्यांकको संयोग

चितवन र झापाबीचको यस खेलमा सम्भव दुई गोलमा तथ्यांकको संयोग पनि रह्यो, जसलाई ठ्याक्कै एकआपसमा विपरीत पनि भन्न सकिनेछ । झापाले यसअघिका चार खेलमा क्लिन सिट राखेको थियो । दोस्रो सिजनको अन्तिम दोस्रो खेलमा चितवनले एक गोल खर्चेको थियो, त्यो खेलको दोस्रो मिनेटमा । त्यस अर्थमा चितवनले ५ सय ३८ मिनेटपछि पहिलो गोल खाएको छ ।

त्यसको ठीक विपरीत झापाले यो सिजन पहिलो गोल मात्रै आत्मसात् गर्न सक्यो । ‘अन्ततः एक गोल निस्केको छ, हामीलाई अगाडि समस्या रहेको छ,’ झापाका प्रशिक्षक प्रवेश कटुवालले पनि माने । झापाले तीन खेलमा कुनै गोल गर्न नसकेपछि यो पहिलो गोल हात पारेको हो तर यो पनि ‘ओपन–प्ले’ बाट रहेन ।

झापाले अन्तिम पटक दोस्रो सिजनको दोस्रो अन्तिम खेलमा गोल गरेको थियो । त्यस अर्थमा झापाले ३ सय ७३ मिनेटपछि पहिलो गोल निकाल्न सफल भएको छ । ‘तीन खेलबाट तीन अंक मात्र प्राप्त भएकाले हामी दबाबमै छौं,’ कटुवालले थपे ।

प्रतिक्रिया दिनुहोस