कमरेड लालबहादुर थापा, बाजुरा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फको उम्मेदवार हुनुहुन्छ । यो आलेखमा लालबहादुर थापा किन ? वा यसकारण लालबहादुर थापा भन्ने मूलभूत विषयमा मेरा आफ्नो केही तर्क राख्दैछु ।
यस आलेखमा लालबहादुर थापाको राजनीतिक पृष्ठभूमि, पार्टी सत्तामा उनको राजनीतिक विवरण बारे चर्चा गरिने छैन । फेरि भन्दैछु ’ किन लालबहादुर थापाले जित्नुपर्छ’ भन्ने प्रश्नका केही ठोस सवालहरू यसमा रहनेछन् ।
शीर्षक हेरेर शुभ चिन्तकहरूले पत्ता लगाईसक्नुभयो होला–लालबहादुर थापा केवल नाम होइन । यो एउटा ब्रान्ड हो, कम्तिमा बाजुराको राजनीतिक मैदानमा । थापा ५४ सालको’ जन निर्वाचित’ जिल्ला विकास समिती सभापति हुन् । उनलाई’ जन निर्वाचित’ किन भन्दैछु भने उनलाई कसैले’ पदको टिको’ लाइदिएका हैनन् । बा पूजारी, बाको देहावसान पछि छोरो अटोमेटिक पूजारी हुने’ परम्परा’बाट उनी जिविस सभापति भएका होइनन् । उनी नितान्त जनताको जनमतबाट त्यो पदमा पुगेका हन् । जनताको मन जीत्नु’ आँखा झिम्काउनु’ जस्तो सजिलो काम होइन ।
जिविस सभापति हुँदा उनले जिल्ला विकासको सन्दर्भमा फरक दृष्टिकोण ल्याए। त्यो हो जिल्लाको विकास, पिछडिएको, हेपिएको, चेपिएको भूगोलबाट गर्ने । जिल्लाको विकास सदरमुकाम आसपासबाट हैन, टाढाको गाउँबाट सुरू गर्ने । उनको यो फरक दृष्टिकोण, त्यसबेला विपक्षीले समेत नाई नाई भन्न सकेनन् । हो त्यही विपक्षी’ले समेत नाई नाई भन्न नसक्ने नाम हो– लालबहादुर थापा ।
तत् पश्चात लालबहादुर ७४ मा निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । आफ्नो ५ बर्षे कार्यकालमा जिल्लाका विकास सन्दर्भमा कति योगदान दिन सकियो ? संसदमा बाजुराका सवाल कति उठान गरियो ? भन्ने बारे उनको किताब छ– संसदमा ५ बर्ष । त्यो पढ्दा घाटा हुँदैन ।
आफू बहाल वाला सांसद हुँदा बजेटमा बाजुरालाई तत्कालीन सरकारले एक खाले ’विभेद’ गर्यो । त्यो विभेदमा सत्तारुढ दलको सांसद भैकन पनि उनले ’बिद्रोह’ रोजे । हो त्यही ’विभेदमा बिद्रोह’ को पर्यायवाची शब्द हो– लालबहादुर थापा ।
उनले संसदमै ’रातो किताब’ च्यातेर फिर्ता पठाए । र बाजुराको ईतिहासमा लालबहादुर थापाको यसरी ’सेभ’ छ कि– जिल्लाको विकासको सन्दर्भमा बजेटमा बाजुरालाई विभेद गर्दा , सत्तारुढ दलको सांसद हुँदा पनि रातो किताब फिर्ता पठाउने एक मात्रै सांसद हुन् लालबहादुर थापा ।
जिल्लाको सन्दर्भमा लालबहादुर थापा एकदमै भुइँतहबाट उठेका नेता हुन् । उनलाई माथि कुर्चीमा भन्दा तल भुईँमै बस्न मन पर्छ । उनलाई ’राजनीतिक लिफ्ट’ मन पर्दैन । उनी भ¥याङ चढ्ने नेता हुन् । ’लिफ्टिङ सिस्टम’मा उनको रूचि छैन । उनलाई ’खरायो’ हुनु पनि छैन । उनलाई ’कछुवा’ भएरै दौड जीत्नु छ ।
गति आफैमा दौड हो । जब गतिमा विधि मिसिन्छ। तब ’गतिविधि’ बन्छ । मतलब दौडमा पनि विधि हुनुपर्छ। हो ठ्याक्कै जब विकासमा लालबहादुर मिसिन्छन् तब त्यसले सार्थक पाउँछ । यसर्थ उनी विकासका विधि हुन् । उनले गर्न नसकिने ’डिस्टिङ्सन गफ’ दिँदैनन्। उनी आफ्नो बलबुतोमा गर्न सकिने ’पासलिष्ट’ जनतालाई बाँड्छन्।
जिल्लामा पालिका र वडा कति छन् ? भनेर था नहुने उम्मेदवार छन् । तीनको बीचमा भूगोल चिनेको भूगोलको नेता हुन् लालबहादुर थापा । लालबहादुर थापा नहिडेको कुनै बाटो छैन । जसले बाटो हिँड्छ, उसैलाई थाहा हुन्छ – बाटो कस्तो बनाउने भनेर । लालबहादुर थापाले नखाएको पानीको मूल छैन होला । जसले मूलको पानी खाएको छ – उसैलाई थाहा हुन्छ, विकासको मूल कसरी फुटाउने भनेर ।
उनलाई जिल्लाका समस्या राम्ररी थाहा छन् । जसलाई समस्या थाहा हुन्छ । ती समस्याको समाधान पनि उसैलाई थाहा हुन्छ । अर्थात समस्या उजागर गर्नु नै समस्याको आधा समाधान हो । यसकारण समस्याको समाधान पनि लालबहादुर थापा संग छ ।
म तपाईंहरूलाई सोध्छु
करिब आधा दशक नजिक पुगेको उनको राजनीतिक जीवनमा कुनै ’भ्रष्टाचारको दाग’ छ ?– छैन ।
प्रचण्डले जस्तो उनका छोरी, ज्वाँई, बुहारीलाई ’राजनीतिक परिवारवाद’ दिए जस्तो उनका आफन्त राजनीतिमा छन् ?– छैनन् ।
नातागोता , आफन्तबाद उनको रोजाईमा पर्यो ?– कहिल्यै परेन ।
काठमाडौंमा आलिसान महल अनि करोड पर्ने उपहारको गाडी उनीसंग छ ?– छैन ।
यत्रो लामो राजनीतिक जीवनमा उनको कुनै ’सांस्कृतिक अपचलन’ वा’ व्यावहारिक अपचलन’ तपाईँले सुन्नुभाछ ?– छैन ।
राजनीतिक जीवनमा उनले आफू मात्रै नेता हुने , अन्य नेता उत्पादन नै गर्न नसक्ने ’राजनीतिक लाचारीपन’ उनमा छ ?– छैन ।
पद , प्रतिष्ठा , टिकट , मान सम्मान पाइएन वा पार्टीले दिएन भनेर आज एक पार्टीमा, भोलि अर्को पार्टीमा जाने ’मौसमी राजनीति’ उनको रोजाईमा पर्यो?– कहिल्यै परेन ।विचौलियाको सेवा बाफत उपहारमा उनले घर घरेडी , गाडी, गर गहना, महंगो मोबाइल, महंगो घडी उनी संग छ ?– अवश्य छैन । लालबहादुर थापाका लागि उपहार भनेकै बाजुराका जनता हुन् । जसको सेवा उनले जीवनभर गर्नेछन् ।
बुढीगंगाले हरेक बर्ष बगाउदै गरेको सडक र बगाउदै गरेको जनताका सपना र आशाको बीचमा उनी पुगे ?– अवश्य पुगे ।
भूकम्पले जिल्ला आक्रान्त हुँदा उनी जनताको बीचमा थिए ?– अवश्य थिए ।
सांसद हुँदा जिल्लाको बजेटमा सम्बन्धित मन्त्रालयले ’एक खाले बजेट विभेद’ गर्दा उनी चुप बसे ?– बसेनन् । संसदमै रातो किताब च्यातेर ’आफू रातो मान्छे हुँ’ भन्ने प्रमाणित गरे ।
आफू हुन र अरूलाई सक्काउन ’राजनीतिक गणित’ प्रयोग गरे– गरेनन् ।
योजनामा आधारित ’कमिसन तन्त्र’ उनको रोजाईमा पर्यो ?– कहिल्यै परेन । उनी कमिसन तन्त्रमा हैन , लोकतन्त्रमा विश्वास गर्ने नेता हुन् ।
विजयी हुँदा होस् वा पराजित हुँदा होस्, जनताको घरदैलोमा उनी पुगे ? – अवश्य पुगे ।
अनि लालबहादुर थापाले नजीत्नु पर्ने कारण के त ? कमजोरी बिनाको मान्छे एकदमै कमै हुन्छन् । उनका पनि केही कमजोरी होलान् । तथापी बाजुरा र बाजुराबासीका लागि उनले नराम्रो गरे भन्न चाहिँ म एकदम अनिच्छुक छु । अनि लालबहादुर थापालाई तपाईँले दिएको’ एक मत’ खेर जाँदैन। खेर जाने दिइने छैन । ढुक्क हुनोस् ।
भेष राज बुढाथोकी
प्रतिक्रिया दिनुहोस