बाजुरा : बाजुरा क्रिकेट क्लबको आयोजनामा दोस्रो बडीमालिका वीन्टर कप २०८२ मंगलबारदेखि मार्तडीमा सुरु भएको छ । जेन–जी पुस्ताका युवाहरूलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा छ टिमको सहभागिता रहेको छ । प्रतियोगिता मालिका नमुना माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।
बाजुरामा क्रिकेटप्रतिको आकर्षण बढाउने तथा खेल क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । बाजुराले पनि राष्ट्रिय टिममा आफ्नो प्रतिनिधित्व गर्न सकोस् भन्ने उदेश्य सहीत निरन्तर खेल विकासको प्रयास जारी राखिएको बाजुरा क्रिकेट क्लबका अध्यक्ष शेरबहादुर थापाले बताए ।
प्रतियोगिताको उद्घाटन एक ओभर खेलेर मालिका नमुना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा नेकपा एमाले सचिव काशी विक, बडीमालिका नगरपालिका–९ का वडा अध्यक्ष सूर्यकिरण विक र मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले संयुक्त रूपमा गरेका हुन् । उहाँहरु तीनै जनाले एक ओभर सयुक्त रुपमा खेलेका थिए ।
उद्घाटन समारोहका प्रमुख अतिथि काशी विक रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि विकले खेल क्षेत्रको विकास नै आजको आवश्यता भएको बताए । खेल क्षेत्र नै राज्यको पहिलो प्राथमिकताको विषय बन्नु पर्ने बताए ।
कार्यक्रमको सञ्चालन गौरव बडुवालले गरेका थिए भने बाजुरा क्रिकेट क्लबका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सुनेश्वर जोशीले स्वागत मन्तव्य राखेका थिए ।
प्रतियोगिताको पहिलो खेल आयोजक टिम ए र बाजुरा जिल्ला अस्पतालबीच भएको थियो । टस जितेर बाजुरा जिल्ला अस्पतालले आयोजक टिमलाई ब्याटिङको निम्ता दिएको थियो । आयोजक टिमले ११२ रन बनाउँदै बाजुरा अस्पताललाई ११३ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याएको बाजुरा जिल्ला अस्पतालको टिम ३९ रनमै अलआउट हुँदा आयोजक टिम ए ले ७४ रनको फराकिलो जित निकालेको हो। आयोजक टिमका खेलाडी कुशल नाथले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले अर्धशतकीय पारीसहित ८२ रन बनाउनुका साथै २ विकेट समेत लिए । उनको उत्कृष्ट प्रदर्शनका कारण उनी ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) बाजुराका अध्यक्ष महेश बाँनियाँका अनुसार प्रतियोगिता बडीमालिका नगरपालिकासँगको समन्वयमा आयोजना गरिएको हो ।
बाजुरा क्रिकेट क्लबले जिल्लामा खेलकुदको विकास, नयाँ प्रतिभा पहिचान र क्रिकेट प्रवद्र्धनका लागि यस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको छ । खेल ६ गतेसम्म चल्ने आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस