शनिबार, २३ चैत २०८१

सुदूरपश्चिम स्पोट्र्स अवार्डले बढाएको खेल आकर्षण

खेलाडी उत्पादनको हब बन्दै सुदूरपश्चिम

धनगढी : खेलकुद पत्रकार मञ्च धनगढीले आफ्नो छैटौं सुदूरपश्चिम स्पोट्र्स अवार्ड भव्य समारोहका बीच आयोजना गर्यो । बन्द हलभित्र आयोजना गरिदैं आएको अवार्ड वितरण समारोह यो वर्ष खुला गरियो । त्यो पनि धनगढी स्थीत कवर्डहलको खुला मैदानमा । जहाँ उपस्थिति नै भव्य देखियो । कलाकार दुर्गेश थापाको प्रस्तुती देखि खेलाडीको उल्लेख्य सहभागि रह्यो । 
अवार्ड विगत ६ वर्ष देखि वितरण गरिदै आएको आयोजक खेलकुद पत्रकार मञ्चका महासचिव हरि जोशीले जानकारी दिए । २०७५ देखि स्पोट्र्स अवार्ड वितरण गरिदै आएको हो । खेलकुद पत्रकार मञ्चका रुपमा रहेको धनगढी एसोसियट शाखा हो । यो सहीत झापा, नेपालगञ्ज र पोखरामा पनि शाखा छन् । 
२०६७ सालदेखि खेलकुद पत्रकार मञ्च धनगढी सक्रिय छ । स्थापनाको दशकपछि अवार्ड दिन थालेको मञ्चले राष्ट्रिय स्तरकै खेलाडीका बीच मनोनय दर्ता गराउने गरेको छ । उनीहरु बीच नै प्रतिस्पर्धा सहीत छनोट गरेर पुरस्कृत गर्ने गरेको छ । जुन अवार्डले खेल क्षेत्रको विकास र आकर्षणमा टेवा पुगेको देखिन्छ । 
मंगलबार धनगढीमा सुदूरपश्चिम स्पोट्र्स अवार्ड घोषणा समारोह सकिएको छ । आठ वटा विधामा रहेको अवार्डमा खोखोका हेमराज पनेरु र मानमती धामी वर्ष खेलाडी घोषणा भएका छन् । सुदूरपश्चिम स्पोट्र्स अवार्ड, २०८१ मा पनेरू वर्ष खेलाडी पुरुष र धामी वर्ष खेलाडी महिला घोषणा भएका हुन् ।
पनेरू प्रथम खोखो विश्वकपमा नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । पनेरूसँगै करातेका मोहम्मद सेखु आलम र भलिबलका अर्जुन नेपाली मनोनयनमा परेका थिए । धामी प्रथम खोखो विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी हुन् । उनीसँगै बक्सिङकी स्वस्तिका तिरुवा र कबड्डीकी मानमती विष्ट मनोनयनमा परेका थिए । अवार्ड विजेता पनेरू र धामीले नगद ३५–३५ हजार रुपैयाँसँगै ट्रफी पाए ।
कबड्डीका हरिना थापा वर्ष प्रशिक्षक भएकी छन् । उक्त विधाको मनोनयनमा कबड्डीकै विष्णु भट्ट र भलिबलका जगदीश भट्ट थिए । थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कांस्य पदक जिताउने प्रशिक्षक हुन् । विजेता थापाले नगद ३० हजारसँगै ट्रफी पाइन् ।
वर्ष युवा खेलाडीमा कबड्डीका सुशील चुनारा चुनिए । बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । चुनाराले नगद २५ हजारसहित ट्रफी पाए। उनीसँगै मनोनयनमा फुटबलका नीराजन धामी र क्रिकेटका नरेन साउद थिए ।
पुरुषतर्फ पौडीका अथर्व सिंह र महिलातर्फ करातेका मनीषा बोहरा सुदूरपश्चिम आइकन घोषित भए । सिंह वल्र्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी हुन् भने बोहरा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । 
दुवै विजेता खेलाडीले नगद २५–२५ हजारसहित ट्रफी प्राप्त गरे । पुरुषतर्फ क्रिकेटका हेमन्त धामी र कबड्डीका खगेन्द्र जोशी तथा महिलातर्फ कबड्डीका मनीषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा थिए ।
फुटबलका कमल लामालाई लाइफटाइम एचिभमेन्ट र क्रिकेटकी रीतु कनौजियालाई स्पेसल अवार्ड प्रदान गरिएको थियो । लामा सुदूरपश्चिममा फुटबल खेलका सुरुवातकर्ता हुन् भने कनौजिया नेपाली महिला क्रिकेट टोलीकी पहिलो ब्याच हुन् । उनी अहिले पनि क्रिकेट खेलाडीकै रूपमा सक्रिय छिन् । उनीहरू दुवै जनाले नगद २५–२५ हजारसहित ट्रफी पाए ।
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्का, आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकलगायतले विजेतालाई पुरस्कृत गरे । खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपीए०को मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवर्धनमा अर्वाड आयोजना गरेको हो ।    
    सुदूरपश्चिम खेलकुदका लागि हब जस्तै बनेको छ । क्रिकेट देखि भलिबलसम्मका सबै खेलमा सुदूरपश्चिमको बलियो उपस्थिति देखिने गरेको छ । नेपाली क्रिकेटका टाइगर दिपेन्द्र सिंह ऐरी सहीत सन्दीप जोरा, भीम सार्की, शेर मल्ल नरेश साउँद, १९ वर्ष मुनिको राष्ट्रिय टोलीका कप्तान नरेश भट्ट पनि सुदूरपश्चिमकै हुन् । 
यता भलिबलमा निरुता ठगुन्ना, सरस्वती चौधरी, कविता भट्ट, पुन चन्द्र, टेकराज अवस्थी, राजेन्द्र विष्ट, लोकेन्द्र गिरी पनि खेल क्षेत्रका हस्ती नै हुन् । यी पनि सुदूरपश्चिमबाटै देशका लागि खेलिरहेका अनुहार हुन् । फुटबलमा निराजन धामी, कुशल देउवा, जिआरत सेख टेकेन्द्र थापा हरुको नाम पनि तल छैन् । 
खेल क्षेत्रको उचाईप्रति सामाजिक विकास मन्त्री मेघराज खड्काले खुसी व्यक्त गरे । सुदूर भनिएपनि संभावनाले सुन्दर प्रदेशले सीमित श्रोत साधन, न्यून लगानी र प्रशिक्षक विनै प्राप्त ज्ञान सिप र उचाई सिंगो प्रदेशको पहिचान बनेको छ, यसलाई थप सुधार गर्दै लैजाने र त्यसका लागि अवार्ड कार्यक्रमले पनि योगदान पुग्ने विश्वास मन्त्री खड्काको छ । 
स्पोट्र्स अवार्डले थप आकषर्ण बढेको देखिन्छ । ६ वर्ष यता लगातार गरिदै आएको कार्यक्रमले खेलाडीलाई हौसला प्रदान गर्नुका साथै आकर्षण समेत बढाएको छ । धनगढीको कवर्डहलमा देखिएको उपस्थितिले नै खेल प्रतिको आकर्षण र अवार्ड प्रतिको विश्वासको झल्को दिएको भन्छन्, खेलकुद पत्रकार मञ्च धनगढीका संस्थापक अध्यक्ष सीताराम ओझा । 
देशभरीबाट सबै खेलविधाका खेलाडीलाई नोमिनेशन गराएर छनोट चरण सम्म पुर्याउने विषय सहज होइन्, रपनि खेल क्षेत्रकै विकासमा टेवा पुर्याउने लक्ष्य सहीत आयोजना हुने कार्यक्रमको भ्यालु समेत बढेको विश्वास आयोजकको छ । अवार्ड समारोह आकर्षणको केन्द्रका रुपमा विकास हुदै गएको छ । 
अवार्डका लागि मात्रै आयोजकले २० लाख बढी खर्च गर्ने गरेको छ । २० लाख खर्च हुदै गर्दा धनगढी बजारको आर्थिक करोबारमा समेत प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । कलाकार दुर्गेश थापाको प्रस्तुती हेर्नकै लागि समेत अवार्ड समारोहमा भव्य उपस्थिति रहेको देखिन्थ्यो । सुदूरपश्चिम स्पोट्र्स अवार्डले खेलाडीको हौसला र सम्मानका लागि टेवा पुर्याएको देखिन्छ । 
हौसला कै लागि भएपनि आयोजना उपलब्धी मुलक हुने र खेलाडीको सम्मान हुँदा नयाँ पुस्ताको पनि आकर्षण बढ्ने विश्वास गरेका आयोजकले कार्यक्रम वर्षेनी भव्य हुँदै गएकोमा खुसी छन् । खेल प्रतिको लगानी, संरचना विकास र नियमित खेलकुदका गतिविधी बढाउन सके सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा बढी संभावना रहेको खेल विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस