जापानमा कर्म गरिरहेका कवि शेखर विकल्पको एउटा गज्जब बानी छ । आफूले पढिसकेर दामी लागेका किताब, गज्जब लागेका गीत, राम्रा लागेका फिल्महरू अरूलाई पढ्न, सुन्न र हेर्न 'सिफारिस' गर्नुहुन्छ । म पनि बेलाबखत यो चीज गर्छु । तपाईं त्यसो गर्नुहुन्छ कि नाइँ ?
ड्युटी सकेर 'बसाइ' पुगेपछि फेसबुक खोलेँ । विकल्प दाइले भरखर फेसबुकमा एउटा पोस्ट गर्नुभएको थिएछ–
'रित्ती जाने बैँसको के गरूँ म घमण्ड ...
कस्तो मीठो गीत बनेको रहेछ । एक तमासले सुनिरहेछु ।'
जुन गीतको स्वाद मैले केही दिनअघि चाखेर 'उम्दाखाले' लागेपछि अरूलाई पनि चाखेर हेर्न 'प्रेस्क्राइब्ड' गरेको थिएँ ।
त्यसपछि लाग्यो– यत्तिको गीतका बारेमा केही शब्द लेख्न पाए गीतलाई न्याय हुन्थ्यो । मेरो मन पनि आनन्दित हुन्थ्यो होला । अनि यो आलेख जन्मिएको हो ।
माफ गर्नुहोला, म नेता भइदिए 'दुई शब्द' भन्थेँ हुँला । मैले 'केही शब्द' भनेको छु ।
भीम बीसीको शब्द र संगीतमा गायिका मेलिना मैनाली र गायक टेक बीसीले स्वर भरेका हुन् । 'मारुनी डिजिटल रेकर्डिङ स्टुडियो'मा रेकर्ड भएको यो गीतको म्युजिक एरेञ्ज विश्व अधिकारीले गरेका हुन् भने भिडियोको निर्देशन माधव शर्माले गरेका छन् ।
०००
'अनि ?'...
अनि मैले युट्युबको 'दरबाजा' खोलेँ र फेरि हेर्न थालेँ 'रित्ती जाने बैँसको...' ।
कालो पर्दा खुल्छ । कालो पर्दामा हरिया अक्षर देखिन्छन्–
'मरे सँगै मरौँला
बाँचे बाँचौँला...।'
तपाईंलाई जीवन पनि कालो पर्दामा ईश्वरले टाँसीदिएको केही शब्दको कथा न हो भन्ने लाग्दैन ? एक दिन त्यो पर्दाबाट अक्षरहरू बिस्तारै पुराना हुनेछन् । नचिनिने हुनेछन् । उप्किनेछन् । क्रमशः अक्षर भुईंमा खस्नेछन् । माटोमा मिसिनेछन् । हराउनेछन् । अनि कथा मेटिनेछ । सकिनेछ ।
'कालो पर्दा' बन्द भएपछि 'बिरामी कक्ष' को ढोका खुल्छ । त्यहाँ नायिका केकी अधिकारी बिरामीको भूमिकामा हुन्छिन् । अनि कलाकार रोशन केसी बिरामीको आफन्त ।
डाक्टरले 'स्टेथेस्कोप' बाट केकी अधिकारीको धड्कन सुन्छन् । जाँच्छन् । वार्डमा बिरामीको 'धड्कन' नाप्दै गर्दा कहिलेकाहीँ म सोच्छु, 'यसरी नै माया नाप्ने यन्त्र भइदिए !'
गीतको सुरुवात कालो पर्दाबाट भयो । अन्त्य सेतो पर्दामा । मजस्ता धेरै 'अल्लारे'लाई आफ्नो मतारीले (आमाले) अँधेरो कोठामा एक्लै जन्माएकी होलिन् । यसरी 'अँधेरो कोठा'लाई कालो पर्दा मान्ने हो भने जीवन भन्नु त कालो पर्दा र सेतो पर्दाबीचको कथा पो रहेछ ।
डाक्टरसँगै उभिएकी अर्की स्वास्थ्यकर्मीले रोशनलाई एउटा सेतो कागज दिन्छिन् । कागजमा लेखिएको हुन्छ– बिरामीलाई चाहिने औषधिको सूची ।
त्यसपछि औषधालयमा औषधि किनेर रोशन फर्किन्छन् ।
अनि पृष्ठभूमिमा बज्छ:
'रित्ती जाने बैँसको के गरूँ म घमण्ड
तिम्रै काखमा शिर भए ढले नि यो ब्रह्माण्ड !'
संयोग पनि कस्तो गज्जब छ भने नि उता 'रित्ती जाने बैँसको के गरूँ म घमण्ड...' गीत बज्दै जान्छ । यता औषधि खाइरहेकी केकीको बोत्तलको पानी रित्तिँदै जान्छ । यसरी हेर्दा त 'बैँस' भनेको बोतलभित्र प्याक गरिएको पानी पनि त रहेछ । 'थोपा थोपा'लाई उमेर मान्ने हो भने बोतलको पानी नै त रहेछ–जीवन भन्नु । भरिन्छ एक दिन । जरुर रित्तिन्छ एक दिन । सोच्ने नै हो भने बोतलको पानी पनि त निश्चित आयु लिएर बाँचेको हुँदो हो । त्यसका पनि त उतारचढाव हुँदा हुन् । दु:खसुख हुँदा हुन् । किस्सा हुँदा हुन् । कथा कहानी हुँदा हुन् ।
गीतमा भनिएजस्तै हरेक प्रेमजोडीले सोच्छन् होला– 'तिम्रै काखमा शिर होस् । तिम्रै हात शिरानी होस् । अनि ब्रह्माण्ड ढले पनि, पृथ्वी भासिए पनि, आकाश खसे पनि, पाताल फाटे पनि जितिहालिन्छ । प्रेममा 'जित्नु'लाई मानक मान्ने समाज जो छ ।'
'मदन पुरस्कार– २०८०'को छोटो सूचीमा परेको किताब 'भावलिपि'का लेखकद्वय (श्रीमान्/श्रीमती) भावेश भूमरी र प्रणिता चाम्लिङले पनि 'चिट्ठी लेख्ने' बैँसताका यस्तै सोची बसेका हुँदा हुन् । यस्तै सपना देखी बसेका हुँदा हुन् । पछि उनीहरूको सपना पूरा भयो । उनीहरू एकअर्काको 'ऐना' बने । यो प्रसंग यहाँनेर किन झिकेको भने नि यो गीत सुनेर, त्यो किताब (भावलिपि) पढ्नुहोला । यो मेरो सिफारिस भयो ।
ठूलो रूखको छहारीमा जोडी बनेर बसेका हुन्छन् केकी र रोशन । मान्छे कति स्वार्थी छ हगि ! गर्मीमा उही रूखको शीतललाई वक्षस्थल बनाउँछन् । अनि जाडोमा उनै मान्छे भन्छन्– यो रूख नभइदिए पारिलो घाम ताप्न पाइन्थ्यो । ठीक हो– यो युगमा मान्छेसमेत एकनास रहँदैन । समय र मौसम क्यारी एकनास रहोस् ? आफ्नो सहयात्री (सजीव होस् या निर्जीव होस्) आफूअनुकूलको भइदेओस् भन्ने सोच त 'आधुनिक मनुष्य'को नियति भइसकेको छ ।
छहारीबाट उठेर, हरियालीलाई पृष्ठभूमिमा पारेर उनीहरू 'क्षितिज'तिर लम्किरहेका भेटिन्छन् । हातमा हात मिलाउँछन् । पाइलामा पाइला मिलाउँछन् । यत्ति चीज नभइदिए 'जोडी' कसरी जोडी रहिरहोस् ?
जोडी बाँधिनु भनेको सम्बन्धको हाँगोमा पिङ खेल्नु हो । जस्तो; धेरै तौरतरिका र स्टेपहरू नमिले पिङ चुँडिन्छ । त्यसपछि आफू कता पो हुत्तिने हो, थाहै हुँदैन । ठ्याक्कै सम्बन्धमा मान्छे यस्तै हो । धेरै चीजहरू, धेरै तौरतरिकाहरू (आनीबानी, बानी व्यवहार) मिलेनन् भने वा मिलाउन सकिएन भने पिङबाट हुत्तिएजस्तै हुत्तिइन्छ । चोटको दाग जीवनभर रहिरहन्छ । सम्बन्धमा आफू हिँडेको बाटो त मेटाउन सकिएला तर दाग ?
गीत बज्दै जान्छ:
'सधैँभरि तिम्रै मात्रै भर परूँला
मरे सँगै मरौँला बाँचे बाँचौँला !...'
एकछिन सोचेर ल्याउनुस् त । मान्छे जन्मिनेबित्तिकै एउटा आँखाले उसको अर्को आँखालाई भन्दो हो, 'सधैँभरि तिम्रै मात्रै भर परूँला, मरे सँगै मरौँला बाँचे बाँचौँला ।'
यसरी त हरेक प्रेम जोडी मानव शरीरका दुइटा आँखा न हुन् । सँगै जन्मिएका । सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका । सायद यो गीतमा केकी अधिकारी र रोशन केसी 'दुइटा आँखा' हुन सक्छन् ।
त्यसपछि उनीहरू कुनै मन्दिरमा 'विराजमान' ईश्वरको अगाडि हातमा जलिरहेको अगरबत्ती लिएर बिन्ती गर्छन् । यो दृश्यले मलाई म्युजिक भिडियोबाट सिधै एकैपटक संसद भवन पुर्यायो । अलिक समय अगाडि त्यतिबेलाको सत्तारुढ गठबन्धनका एक नेता भन्थे, 'प्रमुख प्रतिपक्षका साथीहरूले पशुपतिनाथमा सरकार ढलोस् भनेर बिहानबेलुका जति नै धुपबत्ती जलाए पनि, जति नै आरती उतारे पनि, यो सरकार ढल्दैन ।'
त्यसो भनेको एक महिना नपुग्दै सरकार भूकम्पमा गर्ल्यामगुर्लुम धरहरा ढलेजस्तै गरी ढल्यो । दु:खको कुरा, त्यतिबेलाको सत्तारुढ दल अहिले पनि सत्तारुढ नै छ ।
त्यस्तै म कामना गर्छु– यहाँ ईश्वरलाई साक्षी राखेर, धुपबत्ती जलाएर कसम खाएका केकी र रोशनको जोडी नढलोस् । सम्बन्धको महल नढलोस् । विश्वासको बाँध नभत्कियोस् । हृदय नटटुटोस् । साथ नछुटोस् । अजर अमर रहोस् ।
गायक गाउँछन्:
'तिमीबिना सासै मेरो जाँदैन है पियारी
भरिदिनू मायाको झोली राख्छु सधैँ सियारी !...'
तपाईंलाई जीवन पनि कालो पर्दामा ईश्वरले टाँसीदिएको केही शब्दको कथा न हो भन्ने लाग्दैन ? एक दिन त्यो पर्दाबाट अक्षरहरू बिस्तारै पुराना हुनेछन् । नचिनिने हुनेछन् । उप्किनेछन् । क्रमशः अक्षर भुईंमा खस्नेछन् । माटोमा मिसिनेछन् । हराउनेछन् । अनि कथा मेटिनेछ । सकिनेछ ।
मन्दिरको एक कुनामा रोशन केही सोचिबसेका भेटिन्छन् । उनको आँखाबाट आँसु खस्छ । हत्तपत्त केकी आफ्नो औँलाले आँसु पुस्छिन् । कुनै बेला मैले प्रेमिकालाई सोधेको थिएँ– 'अर्को जुनीमा म आँसु भएर जन्मिए तिमी के बन्छ्यौ ?'
'रूमाल,' उसले भनेकी थिई ।
पृष्ठभूमिमा गीत दोहोरिन्छ:
'तिमीबिना सासै मेरो जाँदैन है पियारा
भरिदिनू मायाको झोली राख्छु सधैँ सियारी !'
उता रोशनको आँखाको चेपबाट आँसु खसेको केही छिनमै यता घरको पाखाबाट पानी खस्छ । वर्षात् हुन्छ । बत्ती बलिरहेको हुन्छ । आफू जलेर अरुलाई उज्यालो दिनु उसको धर्म हो सायद । घाम होस् या पानी । बादल होस् या वर्षा ।
त्यति नै बेला गीत बज्छ:
'मरे सँगै मरौँला, बाँचे बाँचौँला ।'
यो दृश्य हेर्दा लाग्छ, आकाशबाट भुईंतिर सँगै खस्दै गरेका वर्षात्का हरेक एक थोपाले अर्को थोपालाई हेर्दै भन्दा हुन्, 'मरे सँगै मरौँला, बाँचे बाँचौँला !...'
बाटोमा हिँड्दै गर्दा चुन्नीको तालले (किनारा) रोशनको आँखामा चोट पर्छ । तपाईंलाई थाहा छ ? यस्ता चोटहरूले बहुत दुखाउँछन् नि ! जस्तो– भकारो सोहोर्दै गर्दा वस्तुभाउले पुच्छरले हान्दा, असारमा रोपाइँ चलिरहँदा कमिलाले 'भन्न नहुने ठाउँ' मा टोकिदिँदा, ढोकामा औँला च्यापिँदा, नपढेर परीक्षा दिने अनि सँगै फेल हुने भनेको साथी पास भएर आफू मात्रै फेल हुँदा आदि ।
सम्बन्धमा पनि यस्ता चोटहरू आउँछन् । दुखाउँछन् । बिझाउँछन् र रुवाउँछन् पनि । अनि समयसँगै मत्थर भइजान्छन् । पछि उनीहरू कुनै घरको आँगनीको अगेनोमा आगो ताप्दै गरेका भेटिन्छन् । खस भाषामा यस्तो अगेनोलाई 'अगेटो' भन्छन् । गाउँतिर विवाह उत्सव तथा चाडपर्वहरूमा यस्ता 'अगेटाहरू' अझै भेटिन्छन् ।
'मनै छैन तिमीबाट एकैपल छुट्टिन
यो जन्म त तिमीसँगै होइन सानु टुटिन !...'
कस्तो सुन्दर गीत !
यता नछुटिने, नटुटिने गीत बज्दा उता सँगै जन्मिएका आगोका फूलहरू( झिल्काहरू ) छुट्टिन्छन् । टुट्छन् । फुट्छन् । मैले सम्झिएँ । कुनै चिया पसलमा मलाई कसैले सुनाएथ्यो– आगो र क्रान्ति एकै हुन् । दुवैको सुरुवात सानो झिल्कोबाट हुन्छ ।'
केही अन्तराहरू दोहोरिएर गीत सकिन्छ । कथामा नसोचेको ट्विस्ट आउँछ ।
कुनै हस्पिटलको अगाडि केकीका प्रेमी रोशन 'सेतो पर्दा'मा बेरिएका भेटिन्छन् । उनको छातीमा केकी अन्तिकपटक टाउको अड्याउँछिन् । आँसुले बिदाइ गर्छिन् । सम्झिन्छिन्, 'हिजो प्रेमीले भनेको 'मरे सँगै मरौँला, बाँचे बाँचौँला ।'
०००
गीतको सुरुवात कालो पर्दाबाट भयो । अन्त्य सेतो पर्दामा । मजस्ता धेरै 'अल्लारे'लाई आफ्नो मतारीले (आमाले) अँधेरो कोठामा एक्लै जन्माएकी होलिन् । यसरी 'अँधेरो कोठा'लाई कालो पर्दा मान्ने हो भने जीवन भन्नु त कालो पर्दा र सेतो पर्दाबीचको कथा पो रहेछ ।
यसरी गीतको भिडियो 'मीठो'बाट सुरु भएर 'नमीठो'मा अन्त्य हुन्छ । आफ्नै गजलको एक शेर सम्झिन्छु:
'भेट हुँदा मुस्कुरायौ, छुट्टिँदा रोयौ तिमी
सुरुवात जस्तो मीठो समापन हुँदैन !'
गीतका सम्बन्धित पक्षहरू, सम्पूर्णमा 'चुलै धन्यवाद' । यो गीतमा गायिका मेलिना मैनालीको एकल स्वर भइदिएको भए अझैँ गज्जब हुन्थ्यो कि ! साभार शिलापत्र
प्रतिक्रिया दिनुहोस