काठमाडौं : खीर खाने दिनलाई विशेष अवसरका रूपमा नेपाली कला सांस्कृतिक प्रतिष्ठानले आज पहिलो वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नारासहित कार्यक्रम आज दिउँसो १२ बजे काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सुरु हुनेछ।
साउन १५ नेपाली समाजमा पारिवारिक मेलमिलाप, समृद्धि र शुभकामनाको प्रतीकका रूपमा खीर खाएर मनाइने विशेष दिन हो। कृषिमा आधारित हाम्रो समाजमा यो दिनलाई बर्खे बाली रोपाइँ सकिएको उत्सवका रूपमा समेत लिइन्छ। यही परम्परालाई सम्मान गर्दै आजको सांस्कृतिक कार्यक्रमले सांस्कृतिक चेतना र सामाजिक उत्तरदायित्वलाई जोडेको छ।
कार्यक्रमको प्रमुख आकर्षण नेपाली संस्कृति झल्किने नृत्य, मौलिक गीत–संगीतको प्रस्तुति, वरिष्ठ स्रष्टाहरूको सम्मान र रक्तदान अभियान रहनेछ। नेपालका पहिलो नृत्य निर्देशक भैरव बहादुर थापा कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ।
कार्यक्रममा बमबहादुर कार्की, कुन्ती मोक्तान, धिरेन्द्र प्रेमर्षी, रामचन्द्र काफ्ले, मिनबहादुर भाम, उदिराम खड्का र तिलकसिंह पेलाललाई कला क्षेत्रको योगदानका लागि विशेष सम्मान गरिनेछ।
सांगीतिक प्रस्तुतीमा टेकबहादुर बोगटी, अर्जुन कौशल, छत्र शाही, विनोद विक, निङ्मा सेर्पा, नवराज भण्डारी, अमृत कुमार अन्मोलजस्ता लोकप्रिय गायकहरू तथा शोभा थापा, सपना शाही, निशा रावल, इब्सल सन्ज्याल, विपना सिंहजस्ता गायिकाहरूको प्रस्तुति रहनेछ।
कार्यक्रमसँगै “म्यलबतभ द्ययियम” अभियान अन्तर्गतको रक्तदान कार्यक्रम पनि सञ्चालन हुनेछ। आयोजक संस्थाका उपाध्यक्ष महेन्द्र मल्लका अनुसार एक वर्षको छोटो अवधिमा नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै आएको संस्थाले आजको कार्यक्रमलाई सामाजिक र सांस्कृतिक योगदानको प्रतीकका रूपमा लिएको हो।
सांस्कृतिक चेतना, मौलिकता र समाजप्रतिको उत्तरदायित्वलाई जोड्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सबैलाई उपस्थित भई सहभागिता जनाउन आयोजकले निमन्त्रणा गरेको छ।
प्रतिक्रिया दिनुहोस