शुक्रबार, ०४ असोज २०८१

त्रिवेणी र बझाङ जोड्न भौनेरा मालागाडमा मोटरेवल पुल बन्ने, मन्त्री देउवाले गरे शिलान्यास

बाजुरा : अन्तर जिल्ला र पालिका जोड्ने सडक जेनतेन बनेका छन् । बर्षादको समय बाहेक ती सडकमा गाडीपनि गुडिरहेकै हुन्छन् । जब पानी पर्न सुरु हुन्छ । बर्षादको याम लाग्छ, अनि सबै सडक पुरानै अवस्थामा आइपुग्छन् । अर्थात सडक नै बन्द हुन्छन् । त्यो बन्द हुनुको प्रमुख कारण नदी वा खोलामा पुल नहुनु नै हो ।

सडक निर्माण भएरपनि पुल नबनेसम्म अवस्था उही र उस्तै देखिने गरेको छ । त्रिवेणी नगरपालिका बुढीगंगा पारी पर्छ । वर्षका ५ महिना सडक सञ्जालबाट सिंगो पालिका सम्पर्क बिच्छेद हुन्छ । त्यो प्रमुख कारण बुढीगंगा र मालागाड नदीमा पुल नहुनु नै हो ।

त्यस्तै समस्या मार्तडी थामलेक सडक अन्र्तगत पनि हो । मार्तडीदेखि खप्तड छेडेदह गाउँपालिका हुँदै बझाग जोडिन भौनेरा खोलामा अनिवार्य पुल आवश्यक छ । तर पुल निर्माण नभएकै कारण सडक सम्पर्क जोडिन पाएको छैन् । प्रदेश गौरवको आयोजना मार्तडी सिंगडा दुईलेनको सडकका लागि पनि भौनेरामा पुल आवश्यक छ ।

अब त्यो समस्या केही समयपछि हट्ने देखिन्छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीप्रकाश देउवाले पुल निर्माणको शिलान्यास गरेका छन् । त्रिवेणी नगरपालिका जोड्न मालागाड र खप्तड छेडेदह गाउँपालिका, बडीमालिकाक नगरपालिकाको १ र २ नम्बर वडा र सिंगो अन्तर जिल्ला बझाग जोड्निे गरि भौनेरामा पुल निर्माणको थालनी गरिएको छ ।

मन्त्री देउवा बाजुरा पुगेरै दुई वटै पुलको शिलान्यास गरेका छन् । यी पुलको शिलान्यासलाई महत्वका साथ हेरिएको छ । बाजुरा बासीले बर्षौदेखि पुलको माग गर्दै आएका थिए । सबै दलका नेताहरु आ आफ्नो दलको सरकार हुँदा पुल निर्माणकै लागि पहलमा थिए ।

यीसँगै बाउली, अनाइ, दानसाँघु, कर्णाली र बुढीगंगाको पुल निर्माण पनि बाजुरालाई सडकसँग जोडिराख्न नभइ नहुने पुलहरु हुुन् । ती पुलको पनि निर्माण प्रक्रिया अघि बढिसकेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताएका छन् ।

प्रदेश मन्त्रालयको  सहयोगमा त्रिवेणी नगरपालिका–८ र ४ जोड्ने मालागाड  र बडीमालिका नगरपालिका २ मा पर्ने भौनेरा खोलामा पुल निर्माणको शिलान्यास एकै दिन गरिएपछि बाजुरा बासी उत्साहीत देखिएका छन् ।

दुई वटै पुल निर्माण अवधी दुई वर्ष दिइएको छ । भने निर्माण कार्यको जिम्मेवारी एमके विल्डर्स कन्ट्रक्सनले पाएको छ । मन्त्रालयले कन्ट्रक्सनसँग मालागाड खोलाको पुलका लागि ९ करोड ९८ लाख र भौनेरा पुलका लागि १० करोड १५ लाख रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको छ ।

दुई वर्षभित्र निर्माण कार्य सक्ने गरि मन्त्रालयसँग सम्झौता गरेर शिलान्यास कार्य समेत गरिसकिएको भौतिक पुर्वाधार विकास  कार्यालय अछामका सूचना अधिकारी यज्ञराज भट्टले जानकारी दिएका छन् ।  

पुलको शिलान्यास गर्दै भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले सयम सीमा भित्रै निर्माण गरिनु पर्ने र गुणस्तरमा कुनै सम्झौता नगरिने बताएको छन् । मन्त्रालयबाट कुनै बाधा अड्चन हुने छैन्, जनताले सेवा पाउने समय लम्बीने कुनै बाहना हामीलाई चाहिएको छैन्, त्यसैले काम समयमै बन्नु पर्छ र गुणस्तरीय हुनु पर्छ, मन्त्री देउवाले भन्नु भयो ।

पूर्वाधार विकासका कामलाई दुर्गमका गाउँमा प्राथमिकता दिन प्रदेश सरकार प्रवितद्ध रहेकोले काम प्रतिको जिम्मेवारी र अपनत्वपनि स्थानीयको हुनु पर्ने धारणा मन्त्री देउवाले राखेका हुन् । शिलान्यास कार्यक्रम बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सञ्चालन भएको हो ।

कार्यक्रममा काँग्रेस नेता मानबहादुर रावल, प्रदेश सभा सदस्य मेघराज खड्का, बडीमालिका २ का वडाध्यक्ष डम्बर महत, भौतिक पुर्वाधार विकास कार्यालय अछामका नायव सुव्वा यज्ञराज भट्ट सहीत सहभागि थिए । शिलान्यासको कामसँगै बाजुरा बासीले पुल निर्माण हुने आश गरेका छन् । निर्माण कम्पनीको लापरवाही हुनेमा भने यस अघिका काम देखेर अधिकांशको आशंका नै छ ।

 

प्रतिक्रिया दिनुहोस