बाजुरा : सदरमुकाम मार्तडीमा सञ्चालित दुध डेरी तथा मासु पसलहरूको अनुगमन गरिएको छ । बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा दुध डेरी र मासु पसलहरूको सरसफाइ, व्यवस्थापन र कानुनी प्रक्रिया पालनामा उल्लेखनीय सुधार देखिएको पाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, कोलेनिका, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । अनुगमन टोलीले दुध र मासु बिक्री हुने पसलहरूको भौतिक अवस्था, सरसफाइ, मासुको गुणस्तर, भण्डारण प्रक्रिया, दर्ता तथा कर सम्बन्धी अवस्था लगायतका विषयमा विस्तृत अनुगमन गरेको थियो ।
अनुगमनपछि उपप्रमुख नन्दा थापाले पछिल्लो समय मार्तडीका दुध डेरी तथा मासु पसलहरूमा सुधार देखिनु सकारात्मक पक्ष भएको बताइन् । “केही पसल बाहेक अधिकांशमा सरसफाइ र व्यवस्थापन राम्रो छ । व्यवसायीहरू दर्ता र कर तिर्ने विषयमा पनि सचेत देखिन थालेका छन्,” उनले भनिन् ।
विज्ञ केन्द्रका कार्यालय प्रमुख सिद्धराज जैसीले अनुगमनको क्रममा समग्र अवस्था सन्तोषजनक रहेको बताए । उनले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने खाद्य वस्तुको उत्पादन तथा बिक्रीमा कुनै लापरबाही सह्य नहुने भन्दै व्यवसायीहरूलाई स्वास्थ्य मापदण्ड पालना गर्न सचेत गराइएको जानकारी दिए ।
मार्तडीमा हाल करिब डेढ दर्जनभन्दा बढी मासु पसल र आधा दर्जन दुध डेरी सञ्चालनमा रहेका छन् । अनुगमन गरिएका पसलमध्ये चार वटा पसलमा मासु बिक्रीसँगै खुद्रा तथा अन्य सामग्री पनि राखिएको पाइएकोले तत्काल छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ । यस्ता गतिविधिले खाद्य वस्तु दूषित हुने जोखिम बढ्ने भएकाले अबदेखि यस्तो कार्य दोहोरिन नदिन कडाइ गरिने पनि बताइएको छ ।
अनुगमन टोलीले स्वस्थ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थको पहुँच सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ । मानव स्वास्थ्यका लागि स्वच्छ, सफा र व्यवस्थित दुध डेरी तथा मासु पसल अनिवार्य रहेको भन्दै सबै व्यवसायीलाई मापदण्डअनुसार पसल सञ्चालन गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस