शुक्रबार, ०४ असोज २०८१

बुढीगंगाले आफ्नै लगानीमा वडा केन्द्र जोड्ने सडक कालोपत्रे गर्दै

बाजुरा : बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामिण सडक कालोपत्रे गर्ने भएको छ । पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै बुढीगंगाले २ वटा सडकलाई आफ्नै लगानीमा कालोपत्रे गर्न लागिएको हो ।

वडा कार्यालय जोड्ने सडकलाई कालो पत्रे गर्न लागिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । दुबै सडक कालोपत्रे कार्यको नगर प्रमुख बानीयाँले औपचारिक रुपमा नै शिलान्यास गरेका छन् ।

संघ र प्रदेश सरकारकै बजेटलाई मुख ताक्ने र भर पर्दा कालोपत्रे काम नै अनिश्चित हुने देखिएको निष्कर्षमा पालिका पुगेको छ । पालिकामा आउने बजेट हाललाई संघिय अनुदान नै भएपनि पूर्वाधार विकास अन्र्तगत पालिका जोड्ने सडकलाई सहज बनाउन कालोपत्रे गर्न लागिएको नगर उपप्रमुख माया कुँवरले बताएकी छन् ।
कालो पत्रेका लागि विनियोजित बजेट मध्ये केही श्रोत पालिकाको आन्तरिक पनि रहने बताइएको छ ।

तीन वटा रणनीतिक सकडलाई कालोपत्रेका लागि निर्णय गरिएपनि पहिलो चरणमा बेतालमाडौं देखि त्रिशक्ति मावि हुदै जुवापानीसम्म कालोपत्रे गरिने रुट तय गरिएको छ ।

यो रुट अन्र्तगत पालिकाको ७, ८, ९ र १० नम्बर वडाको केही भाग समेटिने छ । भने दोस्रो ताँप्रीसेरा देखि नडागसम्मको बाटो कालोपत्रे गरिने छ । यो रुटमा २ र ३ नम्बर वडा पर्नेछन् । दुबै बाटोको कालोपत्रे गर्ने लम्बाई दुरी ५।५ किलोमिटर तय गरिएको छ ।

वटै सडकको निर्माणको जिम्मा बङ्लामुखि जेवि निर्माण सेवाले लिएको छ । दुवै सडक पिच गर्नका लागि बुढीगंगाले २० करोड रकम खर्च गरिने प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथले जानकारी दिएका छन् ।

वर्षभित्र २ वटै ग्रामिण सडक करिव ५÷५ किलोमिटर  पक्की बनाउने गरि काम अगाडि बढाईएको पालिकाका इन्जिनियर उपेन्द्र साउँदले बताएका छन् । कामको प्रत्यक्ष निगरानी पनि पालिकाकै तर्फबाट राखिने बताइएको छ ।

नगरप्रमुख बानियाँले निर्वाचन पश्चात् साविकका बाह्रविस, कुल्देवमाण्डौ र बह्रमतोला गाविसका  केन्द्रसम्म पुग्ने गरि पक्की सडक निर्माण गर्ने  निर्णय गरेका थिए । सोही अनुसार पहिलो चरणमा साविकको बाह्रविस र बह्रमतोला गाविस जोड्ने सडक पिच गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

पालिका केन्द्र जोड्न सडकसम्म प्रदेश सरकारले नै कालोपत्रेको कामका लागि प्रक्रिया अघि बढाएको देखिन्छ । स्थानीय तह मध्ये आफैले सडक कालोपत्रेको कामका लागि ठेका मार्फत काम थालनी गर्ने बुढीगंगा केही मध्येमा पर्ने पालिका हो ।

प्रतिक्रिया दिनुहोस