शुक्रबार, ०४ असोज २०८१

बाजुराको बिच्छ्यामा कादुरीले १३० किलोवाट विद्युत उत्पादन गर्ने

बाजुरा : जिल्लाकै सर्वाधिक विकट मानिने बिच्छ्यामा १ सय ३० किलोवाट क्षमताको विद्युत उत्पादन गरिने भएको छ । हिमाली गाउँपालिकामा पर्ने १, २ र ३ नम्बर वडाका स्थानीयलाई लक्षित गरेर विद्युत उत्पादन गर्न लागिएको हो । हिमालीका ३ वटा वडा अझै अँध्यरोमा बस्न बाध्य छन् ।

झरो र टुकी बाल्नु पर्ने बाध्यता हटाउने गरि कादुरी एग्रीकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक सहयोगमा विद्युत आयोजना निर्माण हुन लागेको हो । हिमाली गाउँपालिकासँगको सहकार्यमा १ सय ३० किलोवाट क्षमताको विद्युत उत्पादन हुन लागेको हो ।

विद्युत उत्पादन पछि स्थानीय ६ सय बढी घर धुरी प्रत्यक्ष लाभान्वीत हुने भएका छन् । हाल हिमाली गाउँपालिकाका अधिकांश स्थानीय अँध्यरोमै रात काट्न बाध्य छन् । विद्युत उत्पादन हुने भएपछि स्थानीय खुसी भएका छन् । 

गाउँपालिकाको सहजिकरण र कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक सहयोगमा विद्युत सेवा निर्माण गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

विद्यतु निर्माणका लागि कादुरीले करिब ९ करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ । हिमाली गाउँपालिका २ को नातिखोलामा पावर स्टेशन बनाएर बितरण गरिने प्राविधिक स्टमेट बनाएको छ । निर्माण कार्यको शिलान्यास समेत गरिसकिएको छ ।

पालिका अध्यक्ष गोविन्द्र मल्लले निर्माण कार्यको शिलान्यास गरेका हुन् । स्थानीय उपभोक्ता र सरोकारवाला निकायको भव्य सहभागितामा शिलान्यास गरिएको हो । कार्यक्रममा कर्मचारी कादुरी संस्थाका साइड सुपरभाइजर लिलाधर राई , गाउँपलिका उपाध्यक्ष राजकला सार्की, पालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायत पनि सहभागि थिए ।

२०८१ फागुनमा निर्माण कार्य सम्पन्न गर्ने गरि काम सुरु गरिएको छ । करिब १ वर्षको अवधी पछि बिच्छ्या बासीले आफ्नै खोलाबाट उत्पादन भएको विजुली जलाउन पाउने भएका छन् । जडुबुटीका लागि प्रचुर संभावना बोकेको बिच्छ्या क्षेत्र र त्यहाँका स्थानीयका लागि विद्युत निर्माण सँगै प्रसोधन केन्द्र समेत सञ्चालन गर्न सकिने संभावना बढेको छ । स्थानीयले लामो समयदेखि विद्युत निर्माणका लागि पालिकासँग अनुरोध गरेपनि सुनुवाई नभएको आरोप थियो । 

प्रतिक्रिया दिनुहोस