शनिबार, १२ साउन २०८१

बाजुरा पुगेर विश्वप्रकाशले भने– संसदमा बाजुराको प्रतिनिधीत्व अब मैले पनि गर्छु !

बाजुरा : नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले बाजुरा बासीका लागि अर्को सांसदको भूमिका निर्वाह गर्ने बताएका छन् । जिल्लाबाट जितेको एक जनाले मात्रै होइन्, यहाँको विकास र समृद्धिका लागि भूमिका रहने शर्माले दाबी गरेका छन् ।

नेपाली काँग्रेस बाजुराले मार्तडीमा आयोजना गरेको बृहत आम सभालाई संवोधन गर्दै शर्माले बाजुराको भोक, गरिबी, अभाव र थुप्रै संभावनाको प्रतिनिधित्व गर्ने आश्वासन दिएका छन् । पहिलो पटक बाजुरा पुग्दा सुन्दर र संभावनाको खानीका रुपमा बाजुरा पाएको बताउँदै उनले अब तपाईहरुको साथमा एक जना अर्को सांसद पनि थपिएको ठान्न भनेका छन् । 

शालीन रुपमा प्रस्तुत भएका शर्माले बाजुराको चुनावी पहिचान बदल्न आग्रह गरेका छन् । बाजुरामा हुने विशेष चुनाव, चुनाव केन्द्रीत हुने द्धन्द्ध अन्त्य हुनु पर्ने र विचारको बहसलाई लोकतान्त्रिक प्रतिस्पर्धाका रुपमा विकास गर्न सुझाव दिएका छन् । 

शान्ति र समृद्धिका लागि सबैसँग सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै शर्माले भौतिक विकास भएर मात्रै मानवजीवन माथि उठ्न नसक्ने जिकिर गरेका छन् । विजुली, बाटो, पानी, अन्य भवनहरु निर्माण हुँदैमा विकास भएको मान्न सकिदैन्, विकासले मानसिक रुपमा सोच बदल्ने गरि हुनुको विकल्प नभएको बताएका छन् ।

शर्माले देश विकासका लागि मिसन ८४ होइन, भिजन ९५ बनाउनु पर्ने बताएका छन् । सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बेला चुनावको मात्रै चिन्ता लिने छुट कसैलाई नहुने बताएका छन् ।

शर्माले केही नभएको जस्तो निराश नहुन पनि आग्रह गरेका छन् । १० हजार मेघावट विद्युत विक्री सम्झौता भारतसँग गरिएको छ । यहाँका दुरदराजमा बाटो पुगेको छ । खानेपानीमा केही सहज भएको छ । गाउँमा विद्यालय र स्वास्थ्य संस्था सुचारु भएका छन् । सबैतिर निराशा नभएको दाबी गर्दै अझै गर्न धेरै बाँकी रहेको कुरा भने स्वीकार गरेका छन् ।

काँग्रेसले जनताले दिएको जनमतको कदर गरेर मिसन ८४ नभइ, ८०, ८१ र ८२ को काम गरेर देखाउने बेला आएको उनले बताए । काँग्रेस चुनावका लागि मिसन भनेर हिड्दैन, देश बनाउन भिजनका साथी अघि बढीरहेको उनको भनाई छ ।

शर्माले कांग्रेसकै अगुवाईमा नेपालमा भ्रष्टाचारको नियन्त्रणका लागि कानुनहरु निर्माण भएकोे दावी गरेका छन् । कांग्रेसले मिसन ८४ को भन्दापनि ८० को चिन्ता लिएर अगाडी बढीरहेको उनको भनाई छ । 

नेपाली काँग्रेस बाजुराका पार्टी सभापति रामसिंह रावलको अध्यक्षतामा गरिएको वृहत आमसभाको प्रमुख अतिथि काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका थिए । कार्यक्रममा पूर्व पार्टी सभापतिद्धय मानबहादुर रावल, कविराज पंडित, पूर्व संविधान सभा सदस्य महाँ नेपाली, प्रदेश सभा सदस्यद्धय माननीय पदमबहादुर शाही, जुना दानी सहीत दर्जन बढीले शुभकामना मन्तव्य राखेका थिए ।

पार्टी सचिव तिलकराज पुरीले संचालन गरेको वृहत आमसभामा उपस्थित सवैलाई पार्टी उपसभापति नारायण पाध्यायले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । सभामा काँग्रेस समर्थक पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस