आइतबार, ०७ पुष २०८१

चाड पर्वले सद्भाव र समता कायम गर्नसक्नु पर्छ : एमाले नेता थापा

एमाले बडीमालिका नगर कमिटीको शुभकामना आदान प्रदान

बाजुरा : नेकपा एमाले केन्द्रीय सदस्य सन्तोष शर्मा थापाले चाड पर्वले आपसी सद्भाव र समता कायम गर्न सक्नु पर्ने बताएकी छन् । नेकपा एमाले बडीमालिका नगर कमिटीले आयोजना गरेका शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चाड पर्वले सबैलाई जोड्न सक्नु पर्ने धारणा राखेकी हुन् । 

समाज आम्दानी, योग्यता र अवसरमा विभाजित भएकोले यस्तै चाड पर्वले जोडिनु पर्ने र समाजको मुल समस्यामा सबैको सहकार्य हुनु पर्नेमा जोड दिएकी छन् । सरकारले चाड पर्व समेत मनाउन नसक्ने अवस्था आउन दिनु दुखत विषय भएको बताउँदै थापाले बाजुरामा चामलकै अभाव हुने विषय प्रति राज्य गम्भीर हुनु पर्ने बताएकी छन् ।

प्रदेश सभा सदस्य समेत रहेकी थापाले बाजुराको समस्यालाई प्रदेश सभामा उठाउने बचन दिएकी छन् । उहाँले राजनीतिक जीवन भने जस्तो सहज र सबैले बाहिरबाट देखे जस्तो आकर्षण नहुने भएकोले दलका नेता र राज्य सत्तामा पुगेका व्यक्तिहरुबाट सबै नागरिकलाई हेर्ने दृष्टीकोण र अवसरको वितरणमा विभेद गरिने काम राम्रो नहुने बताएकी छन् ।

दशैं, तिहार र छठ पर्वले सबै नेपाली र आफन्तको मन जोड्नु पर्ने, आपसी हार्दिकता र सद्भाव कायम हुनु पर्नेमा जोड दिँदै सामाजिक मुल्य मान्यता र परम्परालाई संरक्षण र जगेर्ना गर्दै लैजानु पर्ने बताएकी छन् ।

नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सदस्यमा निर्वाचित सीता बराल थापालाई बधाई सहीत सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद एवं एमाले केन्द्रीय सदस्य सन्तोष शर्मा थापा सहीतले बधाई ज्ञापन गरेका हुन् ।

कार्यक्रममा एमाले बाजुराका कार्यालय सविच एवं प्रचार विभाग प्रमुख काशी विकले दशैं, तिहार र छठ पर्वले परिवार बीचको मित्रता, मितव्यीता र सहकार्यलाई थप बलियो बनाउने, सामाजिक सद्भाव कायम गर्ने र आपसी भाइचारा कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बडीमालिकाका नगर प्रमुख एवं एमाले संगठन विभाग प्रमुख अमर खड्काले साँस्कृतिक पर्वहरुले समाजलाई सधै जीवन्त र पहिचान कायम गरि राख्ने भएकोले संरक्षण र प्रवद्र्धनमा सबैको भूमिका रहनु पर्ने बताएका छन् । कार्यक्रममा सहभागि नेपाली काँग्रेस बडीमालिका नगर कार्य समिति सभापति गोपाल कार्कीले स्थानीय सरकारले चाड पर्व केन्द्रीत सद्भाव र साझेदारीका कामहरु गर्नु पर्नेमा जोड दिएका छन् । कार्कीले सबै दल र नागरिकको सरकारका रुपमा काम गर्न पनि सुझाव दिएका छन् ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य कल्पना महत, दुर्गा थापा, नगर उपप्रमुख एवं एमाले जिल्ला कमिटी सदस्य नन्दा थापा, प्रेश चौतारीका केन्द्रीय सदस्य बसन्त विक, प्रदेश अध्यक्ष कृष्ण ओली, पत्रकार डिबी खड्का लगायतले मन्तव्य राख्नु भएको थियो ।

नगर कमिटी सचिव राजेश पायलले सञ्चालन गरेको कार्यक्रम बडीमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो । आजै बडीमालिका नगरपालिका ९ नम्बर वडा कार्यालयले पनि शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । वडा अध्यक्ष सूर्यकिरण विकको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस