शुक्रबार, ०४ असोज २०८१

खाद्य अधिकार सञ्जाल बाजुरामा नयाँ नेतृत्व, अध्यक्षमा लक्ष्मीराज पाध्याय

बाजुरा : जिल्ला खाद्य अधिकार सञ्जाल बाजुराको पुर्नगठन गरिएको छ । लक्ष्मीराज पाध्याय अध्यक्ष रहने गरि सञ्जालको नयाँ नेतृत्व चयन गरिएको हो । निवर्तमान अध्यक्ष मदनराज जैशीले लक्ष्मीराज पाध्यायलाई अध्यक्षको जिम्मेवारी हस्तान्त्रण गरेका हुन् ।

खाद्य अधिकारसँग सम्बन्धीत विषयमा बहस पैरवी गर्ने सञ्जालको उपाध्यक्षमा कोपीला सिंह, सचिवमा सन्तोष विक चयन भएका छन् । सबैले सर्वसम्मत जिम्मेवारी प्राप्त गरेका हुन् । नागरिक संघ संस्था मध्येबाट नै नेतृत्व चयन गर्ने र जिम्मेवारी लिने प्रावधान अनुसार नै सञ्जालको पुर्नगठन गरिएको हो ।

जिल्लामा रहेका सबै गैर सरकारी संस्था, सञ्चार माध्यम र अन्य मानव अधिकारका क्षेत्रमा काम गर्ने सबै क्षेत्रको प्रतिनिधीत्व हुने गरि नेतृत्व चयन गरिएको निवर्तमान अध्यक्ष मदनराज जैशीले बताएका छन् । सञ्जालले बाजुरामा डेढ दशक लामो समय देखि कृषि क्षेत्रको विकास र खाद्य अधिकारका विषयमा बहस पैरवी गर्दै आएको छ ।

खाद्य अधिकार विषय अन्र्तक्रिया, शुभकामना आदान प्रदान सहीत पुर्नगठन कार्यक्रम निवर्तमान अध्यक्ष मदनराज जैशीको अध्यक्षतामा सञ्चालन भएको हो । बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

लक्ष्मीराज पाध्यायले सञ्चालन गरेको कार्यक्रममा बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्याय, गैससका अध्यक्ष कृष्ण अधिकारी, पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह लगायतले मन्तव्य राख्नु भएको थियो । 

नगर उपप्रमुख नन्दा थापाले उत्पादनले मात्रै खाद्य अधिकारको ग्यारेन्टी गर्न सकिने भएकोले त्यसमा जोड दिन सुझाव दिएकी छन् । पालिकाले पनि कृषि खेतीको आधुनिकरण र उत्पादनमुलक गतिविधीलाई पहिलो प्राथमिकतामा राखेको थापाले जानकारी गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस