शुक्रबार, ०४ असोज २०८१

बुढीनन्दामा चार वटा टेलिकमका टावर बन्दै, टेलिफोन सेवा सहज हुने

बाजुरा : कोल्टी क्षेत्रको टेलिफोनबाट हैरानी बेहोर्न बाध्य स्थानीयका लागि खुसीको खबर आएको छ । बुढीनन्दा नगरपालिका भित्रै चार वटा नेपाल टेलिकमका टावर निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् । नगरपालिका र नेपाल टेलिकम बीच फोन सेवा सहज बनाउन दोहोरी सहमति भएको छ ।

पालिकाका सबै वडा र बस्तीमा सहज फोन सेवा सुचारु गर्न चार वटा टार निर्माण गर्न लागिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । कोल्टी क्षेत्रका हालसम्म पनि प्रभावकारी टेलिफोन सेवा छैन् । बोहराले नगर प्रमुखको जिम्मेवारी निर्वाह गरेदेखि नै खानेपानी, विजुली र टेलिफोन सेवामा जोड दिँदै आएका छन् ।

हालसम्म सञ्चारको भरपर्दो सुविधा नै जडान भएको छैन् । साँझ पर्ने बित्तिकै टावर जाने, पानी परेको र मौसम खराबी भएको दिन फोन सेवा नै बन्द हुने अवस्था छ । त्यही समस्यालाई मध्यनजर गरेर टावर निर्माण गर्न लागिएको टेलिकमले बताएको छ ।

टावर पालिकाको ८ नम्बरमा पर्ने हर्शाली, ७ को कर्केलीको माथि पानीनाउला, ३ नम्वर वडा र १ को सल्लेरीमा निर्माण गर्न लागिएको हो । हाल निर्माण सुरु गरिएका टावर केही समयमै सञ्चालनका आउने छन् ।

बुढीनन्दा नगरपालिकामा रहेका नमस्ते मोबाइलको टावरमा बारम्बार खराबी आइरहदा सेवाग्राही हाल मर्कामा परेका थिए । घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नेटवर्क जाने समस्याले आजित भएका बुढीनन्दाका सेवाग्राहीले चार स्थानमा टावर बनेपछि भने राहत पाउने नगर प्रमुख जनक कुमार बोहराको विश्वास छ ।

बुढीनन्दामा टावर बने कोल्टी क्षेत्रकै चार वटा पालिकालाई राहत मिल्ने देखिन्छ । अन्य पालिकामा पनि प्रभावकारी फोन र इन्टरनेट सेवा नै छैन् । टावर निर्माणका लागि यतिबेला टेलिकमको प्राविधिक टोली पनि फिल्ड स्तरमै खटिएको छ ।

प्रतिक्रिया दिनुहोस