शुक्रबार, ०४ असोज २०८१

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका तीन अनुहार : कृष्ण र कमलसँगै बचन पनि थपिए

कोही केन्द्रीय सदस्य प्रदेश झरेनन्, सहमतिका लागि अधिकतम प्रयासमा नेताहरु

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । प्रदेश अध्यक्ष सहीत पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नेक्रम बढेको छ । भने नेतादेखि कार्यकर्ता र प्रदेश अधिवेशन प्रतिनिधीसँगको भेटघाट सम्पर्क र संवादलाई बढाएका छन् ।

हालसम्म तीन जनाले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यहरु प्रदेशको नेतृत्वका लागि नझरेपछि प्रदेश तहकै नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका लागि प्रदेश समिति उपाध्यक्ष कमल तिमिल्सेना, कृष्णप्रसाद जैशी र बचन बहादुर सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

जैशीले प्रदेश अधिवेशनको मिति घोषणा लगत्तै अध्यक्षमा लड्ने आकांक्षा सहीत दौडधुप थालेका थिए । भने तिमिल्सेनाले प्रतिनिधी छनोट भइसकेपछि असोज १५ गते अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सिंहले आकांक्षा सहीतको परामर्श पहिलाबाटै थालेपनि पत्रकार सम्मेलन मार्फत औपचारिक घोषणा असोज १८ गते मात्रै गरेका हुन् ।

जैशी र तिमिल्सेना अछामका हुन् । भने सिंह कंचनपुरका हुन् । जैशी र तिमिल्सेना पार्टी संगठनको राजनीतिबाट आएका हुन् । भने सिंह युवा विद्यार्थीको राजनीतिबाट आएका हुन् । तीनै जनाले अध्यक्षमा सर्वसम्मतका लागि नेताहरुलाई आग्रह गरिरहेको श्रोतको दाबी छ । तर आफ्नो नाम बाहेकमा सहमति हुँदा भने चुनावमा नै जाने सोचमा छन् ।

आकांक्षी मध्ये जैशी तत्कालिन जिल्ला विकास समिति अछामको सभापति र जिविस महासंघको प्रवक्ता भएर काम गरिसकेकोले देश व्यापी नेटवर्क देखिन्छ । २०३६ सालमा शिक्षक संगठनबाट राजनीति सुरु गरेका हुन् । जैशी केपी शर्मा ओदी युवा संघको अध्यक्ष हुँदा त्यही कमिटीको केन्द्रीय सदस्य भएर काम गरेका थिए । सुरु देखि नै ओलीलाई साथ दिएका जैशीले योगदान, योग्यता र न्यायका लागि पनि आफूलाई साझा उम्मेदवार बनाउनु पर्ने पक्षमा छन् ।

अछाम जिल्लाको दुई पटक सचिव भएर काम गरेको जैशीसँग अनुभव छ । पार्टीलाई नयाँ गतिदिन, मिसन २०८४ सफल पार्न, सबै नेताहरुको साझा उम्मेदवार बन्न र सुदूरपश्चिममा कमजोर देखिएको संगठनलाई बलियो पार्न अध्यक्ष भएर काम गर्न खोजेको दाबी छ ।

यता पार्टी उपाध्यक्ष कमल तिमिल्सेना पनि पुराना नेता हुन् । केपी ओलीलाई नै साथ दिएका उनले उपाध्यक्ष भएर विदाइ हुने कुरा राम्रो नहुने र प्रदेश उपाध्यक्ष भएर काम गरेको अनुभवलाई अध्यक्ष भएर देखाउने सोच बनाएर अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । पहिलो पार्टी बनाउने संकल्प सहीत अध्यक्ष बन्न खोजेको दाबी सहीत तिमिल्सेना अछाम एमालेको जिल्ला अध्यक्ष भएर पनि काम गरेको अनुभव छ ।

जैशी र तिमिल्सेना दुबैजना वौद्धिक नेताको छवीले चिनिने गरेका छन् । स्नाकोत्तरको योग्यता भएका जैशीको अछामी जनता माझ छाप देखिन्छ । तिमिल्सेनाले पनि स्नातक अध्ययन गरेकाहुन् । विद्यार्थी राजनीति देखि पार्टी राजनीतिमा लागेका तिमिल्सेनाले राजकीय अवसर भने पाएका छैनन् ।

युवा नेताका रुपमा स्थापित बचन सिंहले पार्टी संगठनलाई बलियो र एकतावद्ध युवाहरुको भरोसा लायक बनाउन अध्यक्ष बन्न लागेको दाबी गरेका छन् । अनेरास्ववियुको सचिव हुँदै राष्टिय युवा संघका सचिव र अध्यक्ष भएर काम गरेको अनुभव छ । युवा विद्यार्थीमा सिंहको बलियो प्रभाव देखिन्छ ।

उम्मेदवार देखिएका तीनै जना प्यालन सहीत मैदानमा जाने मुडमा भने छैनन । तीनै जनाले सबैको साझा नेतृत्व भएर प्रतिस्पर्धा र सहमति दुबैका लागि तयार हुन बताएका छन् । तर तीनै नेताहरुका लागि अध्यक्षको चर्चामा आएका केन्द्रीय सदस्य लालबहादुर थापा, झपड रावल, कमला बोहरा, लिला भण्डारी कोही पनि प्रतिनिधी नआएपछि सहज भएको छ ।

सुदूरपश्चिममा लेखराज भट्ट, कर्णबहादुर थापा, दामोदर भण्डारी, निरु पाल, गणेश ठगुन्ना, नारदमुनी राना सहीतको प्रभाव देखिन्छ । पूर्व पार्टी उपाध्यक्ष भीमबहादुर रावल कुनै पक्षमा पनि खुल्ने र समर्थन गर्न पक्षमा दैखिदैनन् । नेताहरुले कस्ले कस्लाई बोक्ने वा उम्मेदवार बनाउने आधिकारी कुनै समूह घोषणा गरिएको छैन् । टिम बनाएर चुनावमा जान पक्षमा नेताहरु प्नि देखिएका छैनन् ।

तर पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले राजनीतिक रुपमा न्याय दिन र योग्यताको पार्टी निर्माणमा उपयोग गर्न सबैले सर्वसम्मत कृष्णप्रसाद जैशीलाई नेतृत्व दिनु पर्ने र अरुलाई सोही अनुसार व्यवस्थापन गर्नु पर्ने पक्षमा छन् । अन्य प्रदेशमा चुनावको विधी मार्फत नेतृत्व चयन गरियो, हामीले सहमतिको विधीलाई प्रयोग गरेर नेतृत्व छान्न पर्नेमा थापाको जोड छ ।

प्रदेश अध्यक्ष दामोदर भण्डारीले कमल तिमिल्सेनालाई साथ दिने श्रोतको दाबी रहेपनि कतै खुलिसकेका छैनन् । तिमिल्सेना केपी ओलीलाई नै भेटेर धनगढी फर्किसकेको श्रोतको दाबी छ । तर पार्टी केन्द्रको नेतृत्वले प्रत्यक्ष सुदूरपश्चिममा कसैको पक्षमा खुल्ने र दबाब दिने अवस्था नदेखिएको बताइन्छ ।

पार्टी सचिव लेखराज भट्ट पनि अहिलेसम्म कतै खुलेका छैनन् । अन्यको पनि समर्थन कस्लाई रहने र प्यानल सहीत चुनाव भए को कता देखिने भन्ने संकेत देखि सकेको छैन् । प्रदेश अधिवेशनका लागि ७ सय बढी प्रतिनिधी छनोट गरिएको छ । पालिका भूगोलबाट प्रतिनिधी छानिएका हुन् ।

संसाद र पालिका प्रमुख उपप्रमुखले कार्यकारी पदमा लड्न नपाउने पार्टीको निर्णय पछि हालका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठक दौडमा सहभागि हुने अवस्था छैन् । हालका पदाधिकारी मध्येका तिमिल्सेना अध्यक्षमा, उपसचिव बल्देव रेग्मीले सचिवमा उम्मेदवारीको चाहना देखिएका छन् ।

ती मध्ये उपाध्यक्षमा बाजुराका अध्यक्ष कालीबहादुर शाही, डोटीका अध्यक्ष चक्रबहादुर मल्लले उपाध्यक्षमा चासो राखेको बुझीएको छ । रणबहादुर चन्द्र, राजेश खाती, यज्ञ ढुंगाना, पल्लव भट्ट सहीतले सचिवमा उम्मेदवारी दिने तयारी थालेका छन् ।

असोज २१ र २२ गते धनगढीमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपीशर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम हेको छ । पार्टी प्रदेश इन्चार्ज त्यही व्यवस्थानका लागि खटन पटनमा देखिएका छन् । धनगढी यतिबेला एमाले नेता कार्यकर्ताले भरिएको छ । सुदूरपश्चिम प्रदेश कमिटीले सातादिन भित्र नयाँ नेतृत्व पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस