बिहिबार, ०३ असोज २०८१

एमाले नेता अजबहादुर मल्लको नाम समाजवादी पार्टीको केन्द्रीय सदस्यको सूचीमा

राजनीतिक नियुक्तिको आश्वासनपछि एमाले छोड्ने संकेत

बाजुरा : नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । बाजुराका अजबहादुर मल्ल सहीत २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । भदौ ५–७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरेको छ । 

एकीकृत समाजवादीले अजबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौं), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा) र दीपक केसी (काठमाडौं) लाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

यस्तै धनबहादुर कार्की (रामेछाप), धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुंगाना (काठमाडौं), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रुपन्देही) र सुदेश पराजुली (काठमाडौं) छन् । 

मल्ल नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य हुन् । २०७४ र २०७८ सालमा एमालेको तर्फबाट हिमाली गाउँपालिकाको अध्यक्ष लडेका थिए । दुबै पटक नेपाली काँग्रेसका गोविन्द्र मल्लसँग पराजित भएका थिए । साविक रुगीन गाउँपालिका समितिका अध्यक्ष, तत्कालिन जिल्ला विकास समितिका क्षेत्रीय सदस्य समेत नेकपा एमालेबाटै बनेका थिए । 

मल्लले २०७९ सालको संघ र प्रदेशको निर्वाचनमा पनि खुलेर नेकपा एमालेलाई सहयोग नगरेको आरोप लागेको थियो । तर त्यो नेकपा एमालेका तर्फबाट कुनै पार्टी कमिटीको दस्तावेजमा उल्लेख नभएकोले आरोप प्रमाणित हुन सकेको थिएन् । नेकपा एमाले भित्र लामो समय राजनीति गरेका मल्ले केही आश्वासन सहीत समाजवादी रोजेको हुन सक्ने अनुमान गरिएको छ । 

तर मल्लका निकटका आफन्तले केही पहिला भएको कुरालाई लिएर समाजवादीले नाम राखिदिएपनि नेकपा एमालेकै नेताका रुपमा रहेको दाबी गरेका छन् । आफन्तका अनुसार जानकारी विनै सदस्य तोकेर पठाउने कुरा राम्रो नहुने र राजनीतिक रुपमा समाजवादी हुने अवस्था नै नरहेको बताएका छन् । 

मनोनीत बारे मल्ल सँग जानकारी लिन खोज्दा फोन सम्पर्क नै हुन सकेको छैन् । मल्ल केही दिनमै मार्तडी आएर समाजवादी नरहेको कुरा सार्वजनिक गर्ने मनस्थितिमा रहेको श्रोतको दाबी छ । तर समाजवादी पार्टीका एक नेताले सरकारमा हुँदा सम्म केही संवैधानिक नियुक्ती दिने आश्वासन पाएपछि केन्द्रीय सदस्य बन्न सहमत भएको दाबी गरेका छन् । यस अघि नेकपा एमालेबाटै मिनबहादुर विष्ट प्रदेश कमिटी सदस्यको पद त्यागेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस