बिहिबार, ०३ असोज २०८१

बेबारिसे शवको बुढीनन्दामा नगरपालिकाद्धारा व्यवस्थापन

कर्मचारीले गरे दाह संस्कार

बाजुरा : बुढीनन्दा नगरपालिकाले बेबारिसे अवस्थामा रहेको शवको व्यवस्थापन आफै गरेको छ । आफन्त कोही नभएपछि उपचारका क्रममा मृत्यु भएका रामबहादुर वादीको शवलाई नगरपालिकाले व्यवस्थापन सहीत दाहसंस्कार गरेको हो ।

बुढीनन्दा नगरपालिका ५ खोयाका रामबहादुर वादीको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारकै क्रममा मृत्यु भएको छ । लामो समयदेखि कमलपीत्त रोगबाट पीडित ३४ वर्षका रामबहादुर वादीका आफन्त र नजिकको कोही पनि थिएनन् । कसैले शवको जिम्मेवारी नलिने भएपछि पालिकाले कर्मचारीलाई परिचालन गरेर शव व्यवस्थापन सहीत दाह संस्कार गरेको हो ।

रामबहादुर वादीका बुवा सिसुपाल वादी यस अघि नै मरिसकेका थिए भने आमाको समेत सानै उमेरमा मृत्यु भएको थियो । उनी घरमा एक्लो थिए । रोगबाट लामो समय देखि पीडित भएपनि वादी सिकिस्त भएपछि मात्रै उपचारका लागि स्वास्थ्य संस्था आएको स्वास्थ्य कर्मीले बताएका छन् ।

चिसो र खानपीनको व्यवस्थापन नमिल्दा निकै कमजोर भइसकेको शरिर र त्यसैमा कमलपीत्त जस्तो जस्तोले समातेर अन्तिम अवस्थामा पुगेपछि उपचार संभव नभएको स्वास्थ्य कर्मीले बताएका छन् । 

पालिकाले शव व्यवस्थापनको जिम्मा लिएपछि कर्मचारीले दानसाँघु खोलामा दाहसंस्कार गरेको पालिकाका कर्मचारी प्रेम नेपालीले जानकारी दिएका छन् । आफन्त वा कोही नजिकको हकवालाले शवको जिम्मा नलिएमा वा बेवारिसे रहने अवस्था आएमा स्थानीय तह वा स्थानीय प्रहरी प्रशासनले जिम्मा लिएर दाहसंस्कार गर्नु पर्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस