बिहिबार, ०३ असोज २०८१

बाजुराको स्याउ जिल्ला बाहिरका बजारमा पठाउने तयारी

बाजुरा : बाजुरामा उत्पादित स्याउ असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढी पठाउने तयारी भएको छ । स्वामिकात्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपलिकाको स्याउ एक साथ तीनवटा सहरसम्म ढुवानी गरि पठाउने तयारी  भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।  

कृषि ज्ञान केन्द्र बाजुरा र स्थानीय तहहरुले  स्याउ ढुवानीमा  ५० प्रतिशत अनुदान दिने भएका छन्। जिआइजेटले स्याउका लागि आवश्यक पेटी सहयोग गर्ने भएको छ । स्वामिकात्तिक गाउँपालिकाबाट तीन हजार पाँच सय पेटी र बुढीनन्दा नगरपालिकाबाट एक हजार पाँच सय पेटी स्याउ ढुवानीका लागि अनुदान दिइने कृषि ज्ञाने केन्द्र बाजुराको कार्यालयले बताएको छ । 

‘किसान आत्तिएको  भएपनि स्याउ तयार नभएकाले  असोजमा ढुवानी गर्दा ठिक हुने देखिएको कृषि  ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख विक्रम भट्टले बताउनुभयो । बजार नपाएर बारीमै कुहिने स्वामिकार्तिक खापर गाउँपालिकामा फलेको ५२ हजार पाँच किलोग्राम स्याउ असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढी पुग्ने भएको हो । 

बुढीनन्दा नगरपालिकाबाट २२ हजार पाँच सय किलोग्राम स्याउ सहरहरुमा बिक्रीका लागि ढुवानी गरि पठाइने भएको छ । भरिया, खच्चर र ट्रक हुँदै बाजुराको स्याउ बजारसम्म  पठाइने बताइएको छ । बाजुराको स्याउ किसानले बारीमा ४० रुपैयाँ प्रतिकिलोग्राम मूल्य पाउने छन्। कृषि ज्ञान केन्द्र, गाउँपालिका र किसानको संयुक्त छलफलले ‘ए’ ग्रेडको र ‘बी’ ग्रेडको ४० तथा ‘सी’ ग्रेड स्याउको मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकिएको छ ।

भदौको अन्तिम साताबाट स्याउ टिप्ने र कार्टुनमा राख्न सुरु गरिनेछ। असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढीसम्म बाजुराको स्याउ पुग्नेछ । यसरी किसानका बारीबाट किनेको स्याउ बजारसम्म पु¥याउन लाग्ने ढुवानी खर्च कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुले व्यहोर्ने छन् । 

कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख विक्रम भट्टका अनुसार स्वामिकात्तिक खापर गाउँपालिभित्रका किसानले उत्पादन गरेको स्याउ तिलिचोकामा जम्मा गरिने छ । तिलिचौकमा जम्मा भएको स्याउ ट्रकमार्फत कर्णालीको सडक हुँदै धनगढीसम्म ल्याइने छ । बाजुरा–मार्तडी सडक हुँदै स्याउ ढुवानी गर्न नसकिने भट्टले बताउनुभयो ।

बाजुरामा आर्थिक वर्ष २०७८र७९ मा तीन सय ५० हेक्टरमा स्याउ खेती गरिएको थियो। एक सय ७० हेक्टरमा मात्र लगाएको स्याउ फलेको थियो । एक सय ८० हेक्टरमा लगाएको स्याउले फल दिन सुरु गरेन् । जिल्लामा सो आर्थिक वर्षमा एक हजार २० मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याँक छ । 

जिल्लामा आर्थिक वर्ष २०८९र८० मा तीन सय ७० हेक्टरमा स्याउ खेती गरिएको थियो । एक सय ७५ हेक्टरमा लगाएको स्याउ मात्र फलेको थियो भने एक सय ९५ हेक्टरमा लगाइएको स्याउले फल दिन सुरु गरेको छैन् । गत आर्थिक वर्षमा एक हजार एक सय ३७ मेट्रिकटन स्याउ जिल्लामा उत्पादन भएको थियो । 

स्वामिकार्तिक गाउँपालिका, बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा व्यवसायिक स्याउ खेती हुने गरेको छ । गौमुल र हिमाली गाउँपालिकामा समेत व्यवसायीक रुपमा स्याउ खेती विस्तार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस