बिहिबार, ०३ असोज २०८१

एमाले बाजुराले थाल्यो पालिका स्तरीय प्रशिक्षण, बुढीनन्दाबाट सुरुवाद

बाजुरा : नेकपा एमाले बाजुराले पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जनतासँगको सम्बन्ध विस्तार गर्ने उदेश्य सहीत नेता कार्यकर्ता लक्षित पालिका स्तरीय प्रशिक्षण सुरु गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् । एमालेले पहिलो कार्यक्रम बुढीनन्दा नगरपालिकाबाट सुरु गरेको छ ।

भदौ २० गते बडीमालिका नगरपालिकाबाट कार्यक्रम सुरु गर्ने निर्णय गरिएपनि मेला पर्वका कारण दुई दिन ढिला गरि कार्यक्रम सञ्चालन गर्नु परेको सचिव थापाले जानकारी दिएका छन् । केन्द्र देखि प्रदेश र जिल्ला तहका सबै नेताहरुको उपस्थितिमा पालिका प्रशिक्षण गर्न लागिएको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज भैरव बहादुर सिंह, केन्द्रीय सदस्य प्रकाशबहादुर शाह, केन्द्रीय सदस्य दयालबहादुर शाही, प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी, पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही, सचिव भरत थापा, उपसचिव जनक कुमार बोहरा, कार्यालय सचिव काशी विक, सचिवालय सदस्य जनक विष्ट सहीतको टोली प्रशिक्षण कार्यक्रममा हिँडेको छ ।

पहिलो चरणमा कोल्टी भेगका चार वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र त्यसपछि तल्लो भेगका ५ वटा पालिकामा कार्यक्रम गर्ने तालिका नेकपा एमाले बाजुरा जिल्ला कमिटीले बनाएको छ ।  नौ वटै पालिकामा प्रशिक्षण सकाए लगत्तै नेकपा एमाले बाजुरा मंसिरमा हुने जिल्ला अधिवेशनको तयारीमा जुट्ने भएको छ ।

बुढीनन्दा नगर कमिटी अध्यक्ष जंगवीर रोकायाको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य भैरव बहादुर सिंह रहनु भएको थियो । प्रशिक्षणमा नेताहरुले एमाले भविष्य बोकेको पार्टी भएकोले जनताका सवाल र समस्यामा जोडिएर काम गर्न निर्देशन दिएका छन् । 

प्रविधी अनुकुल सीप क्षमता विकास गर्न र सामाजिक सञ्जालसँग हरेक नेता कार्यकर्ता जोडिन सुझाव दिएका छन् । भने हरेक युवालाई उत्पादन र आयमुलक गतिविधीमा जोडिन अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस