मिन बहादुर खड्का
बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिका वडा न . ३ जुकोट स्थायी घर भएका रतन नेपालीले मार्तडीमा सिलाई सेन्टर स्थापना गरेको २६ वर्ष भयो ।उनि अहिले बडीमालिका नगरपालिका वडा न. ९ सदरमुकाम मार्तडी बजारमा रहेको स्वचन टेर्लस सिलाई सेन्टरका प्रोपाइटर हुन् । गरिब परिवारमा जन्मिएका उनले १३ वर्षको उमेरमै बुवा गुमाए । सानै उमेरमा बुवा गुमाएका नेपालीको बुवा गुमाएकै दिनबाट दुःखका दिनहरु सुरु भए।
उनका बुवाले दुई बिवाह गरेका थिए । दुई वटा आमा भएपनि घरको उनी एक्लो छोरा हुन् । नेपालीका दुई दिदी र दुई बहिनी छन् । बुवाको मृत्यु पछि आमाबुवाको साहारामा बाँचेका उनको घरको पुरै जिम्मेवारी काँधमा आयो । उनी त्यतिबेला कक्षा ७ मा पढ्थे । आफू लगायत ९ जनाको परिवार जसोतसो चलेकै थियो । सार्वाधिक विकट स्वामिकार्तिक जहाँ अधिकांश गरिब परिवारहरुको बसोबास थियो । नेपालीको परिवारपनि गरिबीबाट मुक्त थिएन ।
बिहान खाएपछि बेलुका के खाने ? भन्ने चिन्ता सबैजसो परिवारलाई हुन्थ्यो । यो उनको परिवारको मात्रै समस्या थिएन । त्यहाँका दलित सामुदायका अति बिपन्न बर्गका परिवारहरु सबैको दुःख फरक थिएन । यसो भन्दैमा सबै गरिब त थिएनन् । जसोतसो दुःख गरेर भएपनि बिहान बेलुका चुलोमा आगो बाल्ने साथमा बुवा थिए । त्यतिबेला सम्म खान लाउनको अभाव भएपनि उनलाई कुनै कुराको अभाव थिएन ।
माया ममताको पनि कुनै कमी थिएन । जब आफै अबोध बालक रहेका उनले बुवा गुमाएपछी बुवा मात्रै गुमाएनन् सबथोक गुमाए । बुवाको माया ममताको मात्रै खाँचो उनलाई परेन सिङ्गो परिवार कसरी चलाउने भन्ने पिरले सताउन थाल्यो । परिवारमा पुरुष उनी मात्रै रहे, तत्कालिन समयममा पुरुषले बिदेश गएर भएपनि परिवार पाल्नैपर्छ, महिलाहरुले बिदेश गएर कमाउनु हुन्न भन्ने प्रचलन थियो ।
त्यसकारण पनि सबै जिम्मेवारी उनले आफैले समाल्नु बाहेकको अर्को विकल्प थिएन । कक्षा ७ मा पढ्दै गएका नेपालीको काधमा घरको सबै जिम्मेवारी थपिएपछि उनले पढाई छोड्नुपर्यो। बुवाले मात्र छोडेनन् । बिद्यालय जानबाट पनि बन्चित भए । तत्कालीन समयमा दलित परिवारमा जन्मिएका उनका पुर्खाहरुले लुगा सिलाउने काम गर्दै आएका थिए ।
लुगा सिलाईदिने र लुगा सिलाईदिए बाफत अनाज दिने प्रचलन थियो । जसलाई स्थानिय भाषामा (खलो)पनि भनिन्छ । उनका बुवा रहुन्जेल उनको परिवार पनि त्यसरी नै चलेको थियो । जुन प्रचलन आज सम्म पनि कतिपय ठाउँमा छ । बुवा गुमाएपछि उनका केही वर्षहरु त्यसरी नै बिते । उनलाई लुगा सिलाउन सानै देखि आउन्थ्यो ।
बुवाले सिकाएर गएको त्यहीँ सीप थियो जुन लुगा सिलाउने काम हो । जो अहिले उनको जीवन धान्ने माध्यममात्र छैन, सफलता हासिल गर्ने माध्यम बनेको छ । काम उहीँ हो, सीप पनि त्यहीँ हो, तर उनले फरक ढङ्गले आफ्नो पुर्खाहरुले गर्दै आएको कामलाई आधुनिक तरिकाले सुरु गर्ने योजना बनाए । बुवाको मृत्यु पछि २० वर्षको उमेर सम्म उनले बुवाले जसरी लुगा सिलाउने र लुगा सिलाए बाफतको अनाजबाटै परिवार पाले ।
गाउँमा सबैको गुजारा गर्ने माध्यम नै त्यहीँ थियो । कमाई खाने जग्गा जमिन थिएन । त्यसरी दलित समुदायका घरपरिवारले सपरिवार चलाउने परम्परा जस्तै थियो । तर अहिले त्यहीँ अवस्था सबैको छैन । प्राय त्यो स्थितिबाट माथी उठिसकेका छन् । १३ वर्षको उमेरमा बुवा गुमाएका नेपालीको ७ वर्ष गाउँमै बित्यो ।२०५० सालमा अमला नेपाली संग बिवाह गरे। आफ्नी अमलाले पनि कपडा सिलाउन थालिन् । उनले पटकपटक तालिम समेत लिइन् । बिवाह पछि केही सजिलो भयो । साथ दिने श्रीमती पाए । दुबै जना मिलेर काम गर्न थाले ।
त्यसपछि २०५४ सालमा उनी जिल्ला सदरमुकाम मार्तडी आए । उनी त्यतिबेला २० वर्षका थिए । २० वर्षको उमेरमा गाउँको परमपरा अनुसार बुबा बाजेल गर्दै आएको चलन भन्दा माथि उठेर नयाँ ढङ्गले अगाडि बढ्ने योजना सहित मार्तडी आए थिए । उनले पेशा फेरेनन् बरु नयाँ तरिका अपनाएका मात्रै हुन् । पुर्खाहरुले गर्दै आएको कामले खान लाउन समेत नपुग्ने स्थितिबाट माथि उठ्ने संकल्प गरेका थिए ।
जुन परमपराले जिन्दगी समेत गुजार्न भ्याउदैन थियो । पुगिहाल्यो भने पनि खान लाउनै ठिक्कै हुन्थ्यो। पढाई लेखाई अन्य कुनै व्यवसाय गर्ने कुरा निकै टाढाको कुरा थियो । त्यो अवस्थाबाट माथि उठ्नका लागि र पेशालाई व्यावसायिक बनाउनका लागि उनले गाउँ छोडे ।
सुरुमा पसल खोलेर बस्दा निकै दुःख भयो। कसैले चिनेका थिएनन् । सदरमुकामको ठाउँ, गाउँबाट आएका उनलाई अरुको सरह माथि उठ्न निकै कठिन थियो । तर अहिले स्वचन टेलर्स सेन्टर खोज्दै ग्राहकहरु आउँन्छन् । उनको पसलमा लुगा सिलाउनेहरुको घुइँचो लाग्ने गरेको छ । लेडिस तथा जिन्सका सबै लुगाहरु सिलाउने गरेको उनकी श्रीमती अमला नेपालीले बताइन् । लुगा सिलाउने पेशाबाट उनका श्रीमान श्रीमती दुबै खुसी छन् ।
पछिल्लो समयमा सिलाई कटाई सम्बन्धि बाहिर गएर थप कुरा सिकेपनी बुवाले नै आफुलाई यो काम सिकाएको उनको भनाई छ । उनकी श्रीमती अमलाले भने तालिम लिएकी थिइन् । लुगा सिलाईदिए बाफत अनाज लिने प्रचलन अझै कायम छ । जुन परमपराले परिवार धन्न समेत मुस्किल हुन्छ । तर नेपाली दम्पतीले भने पुर्खाहरुले गर्दै आएको कामको फरक शैली अपनाए ।
सानै देखि लुगा सिलाउदै आएका उनले आफ्नो परम्परागत पेशालाई आधुनिक तरिकाले सुरु गरेपछि उनको जीवन नै फेरिएको छ । पहिलाको आफ्नो जीवनस्तर र अहिलेको जीवनस्तर धेरै फरक रहेको उनको भनाई छ । नेपालीका २ छोरा र २ छोरी गरि चार सन्तान छन् । छोराछोरी पढाई परिवारको पालनपोषण, पढाई सबै यहीँ पेशाले धानेकोले आफु आफ्नो कामबाट सन्तुष्ट रहेको उनकी श्रीमती अमला नेपालीले बताइन् ।
“जेठी छोरीलाई १० कक्षा सम्म र अन्य तीन छोराछोरीलाई ८ कक्षा सम्म बोडिङ स्कुल पढायौ, अहिले पनि ३ छोराछोरी काठमाडौंमा पढ्छन्, गाउँमा खान लाउनकै अभाव हुन्थ्यो, अहिले सबै कुरा यहीँ पेशाले धानेको छ” श्रीमती अमलाले भनिन् । नेपाली अहिले आफु मात्रै व्यवस्थित छैनन् । आफ्नो जस्तै सीप सिकाएएर अरुलाई पनि व्यवासायिक बनाएका छन् । उनले तालिम सिकाएकाहरु अहिले व्यावसायिक रुपमा सिलाई सेन्टर खोलेर काम गरिरहेका छन् । धेरैको जिन्दगी आफ्नो जस्तै व्यवस्थित बनाउन सफल भएको उनको भनाई छ ।
स्वामिकार्तिक खापर गाउँपालिका ५ जेराका रङ्गलाल नेपालीले उनी बाटै तालिम लिएका थिए । अहिले उनी सदरमुकाम मार्तडीमै सिलाई सेन्टर खोलेर बसेका छन् । करिब १५ जना बढीले उनीबाट तालिम लिएका छन् ती मध्य १० जना बढी व्यावसायिक बन्न सफल भएको रतन नेपालीको दावी छ । केहीले जिल्ला बाहिर गएर समेत काम गरिरहेका छन् ।
“बिहान खाए बेलुका के खाने भन्ने परिस्थितिमा हुर्केका नेपालीले अपनाएको पेशा दिन गुजार्नका लागि मात्रै सिमित छैन । मार्सिक ३ लाख बढी आमदानी हुने गरेको छ । “सिजनमा बढी नै हुन्छ, अन्य समयमा पनि मासिक ३ लाख जति भैराख्छ, डेढ लाख त काम गर्नेहरूलाई नै दिने गरेको छु करिब डेढ लाख आमदानी हुन्छ ” श्रीमान रतन नेपालीले सुनाए । यहीँ पेशाबाट नेपालगञ्जमा रु ८ लाखमा घरेडी समेत किनेको उनकी श्रीमती अमला नेपालीले बताइन् ।
मागेर दिन गुजारा गर्ने नेपाली दम्पतीको पसलमा अहिले चार जना ज्यालादारीमा काम गरिरहेका छन् । बैतडीका मदन औजी, बैतडीकै महेश औजी, स्वामिकार्तिक ५ का रङ्गलाल नेपाली, उमेश नेपाली लगायत चार जना अहिले पनि काम गर्दै आइरहेका छन् ।
सुरुमा गाउँमा धेरै दुःख गरे, के खाने भन्ने समस्या हुन्थ्यो, तर अहिले छोराछोरी सबौलाई यहीँबाट पढाए घर खर्च यसैबाट चलाए, कसैलाई माग्नु परेको छैन, छोराछोरी पढाउन कुनै समस्य भएन, आफुले पढ्न नपाएपनि छोराछोरी यहीँ पेशाबाट पढाए, खुसी छु” श्रीमती अमला नेपालीले सुनाइन् ।
सामान्य अवस्थाबाट ठुलो दुःख कष्ट र संघर्ष गरेर माथी उठेको उनको जीवन अहिले सबैले प्रसंशा गर्न लायक बनेको छ ।
कक्षा ७ सम्म मात्रै पढेका नेपाली अहिले आफु व्यावसायिक बन्नुका साथै बर्सेनि चार जनालाई रोजगारी दिदै आएका छन् । रोजगारीका लागि भौतारिरहने युवाहरू माझ उनी एक सफल व्यावसायिक बन्न सफल भएको रेडियो बाजुरामा कार्यरत पत्रकार सरिता नेपालीले बताइन् ।
अहिले पढेलेखेका युवाहरु समेत रोजगारी नपाएर बिदेश जाने गरेको बताउदै आफु व्यावसायिक बनेर अन्यलाई रोजगारी दिनु नै उनको सफलता रहेको पत्रकार सरिता नेपालिको भनाई छ । पत्रकार नेपाली उनको मिहिनेत र सफलता प्रति खुसि छन् । सामान्य अवस्थाबाट माठी उठेको यो दम्पितीबाट अरुले पनि कसरी व्यावसायिक बन्ने भनेर सिक्न आवश्यक रहेको उनको भनाई छ ।
व्यापार होस् कि व्यवसाय होस् वा अन्य कुनै पेशा अपनाएका जति सबै सफल हुदैनन् । सबैले निरन्तरता पनि दिन सक्दैनन् । धेरैले एउटै पेशाले ढिक्दार भएर फरक पेशा रोज्ने गरेको पाइन्छ । निरन्तरता दिहाले भनेपनि आफ्नो जिन्दगी धान्न ठिक्कै हुन्छ, तर सार्वाधिक विकट स्वामिकार्तिकमा जन्मिएका रतन नेपाली मार्तडीकै एक सफल व्यापारीका रुपमा चिनिन्छन् । उनको व्यापार अहिले पनि फस्टाउदै गएको छ ।
सफलताको कथा साताको एक दिन
प्रतिक्रिया दिनुहोस