सोमबार, ०८ मङि्सर २०८२

मुख्यमन्त्री शाह जुड्डीमा, जगन्नाथ गाउँपालिकाले बुझायो तीन बुँदे मागपत्र

बाजुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेशसभा सदस्य नरेश कुमार शाहीसहितको टोली सोमबार जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डी पुगेपछि गाउँपालिकाले महत्वपूर्ण विकाससम्बन्धी मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको छ ।

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले स्वास्थ्य, पूर्वाधार तथा शिक्षासम्बन्धी समस्याका तीन मुख्य बुँदा मुख्यमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । अध्यक्ष शाहीले जुड्डीमा स्थापना भएको १० शैया अस्पताल सञ्चालनका लागि सरकारले आवश्यक जनशक्ति र उपकरण दिनु पर्ने माग गरेका हुन् ।

उहाँले गाउँपालिकाले आफ्नै स्रोतबाट डाक्टर, स्वास्थ्यकर्मी तथा औषधि–उपकरण व्यवस्थापन गर्दै आएको र त्यसमा प्रदेश सरकार जिम्मेवार र जवाफदेही नभएको गुनासो समेत गरेका छन् । गाउँपालिकाले अस्पताल सञ्चालन स्थिर बनाउन प्रदेश सरकारबाट बजेट तथा जनशक्ति व्यवस्थाको माग गरेको छ ।

कर्णाली करिडोर हुँदै चीनको ताक्लाकोटसम्म जोडिएको व्यापारिक मार्ग सञ्चालनमा आएपछि दैनिक सयौँ सवारी साधनको आवतजावत बढेको छ । यससँगै दुर्घटना जोखिम बढ्दै गइरहेकाले जुड्डीस्थित बडिमालिका अस्पतालमा ट्रमा सेवा सञ्चालन गर्न बजेट विनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

गाउँपालिकामा सञ्चालित ६ माध्यमिक विद्यालयमध्ये ३ उच्च माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी अभाव देखिँदा गाउँपालिकाले निजीस्रोतबाट शिक्षक राखेर कक्षा सञ्चालन गरिरहेको छ । शिक्षा सुचारु राख्न माध्यमिक र उच्च माध्यमिक तहका लागि विषयगत शिक्षक अनुदान उपलब्ध गराउन माग गरिएको छ ।

नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्ष समेत रहेका शाहीले प्रदेश सरकारले जहिलेपनि जगन्नाथ गाउँपालिकालाई बजेटमा विभेद गरेको र दुर्गम जिल्लाको विकासमा जिम्मेवार नभएको आरोप लगाएका छन् ।

जवाफमा मुख्य मन्त्री कमलबहादुर शाहले दुर्गमको विकासका लागि आफू र प्रदेश सरकार जिम्मेवार भइ अघि बढीरहेको बताएका छन् । यतिबेला मुख्य मन्त्री सहीतको टोली बाजुरा दौडाहमा सक्रिय छ । 
 

प्रतिक्रिया दिनुहोस