शुक्रबार, ०५ मङि्सर २०८२

चेतनदीपको सम्झनामा बाजुरामा श्रद्धाञ्जली सभा

बाजुरा :  चेतनदीप स्मृति प्रतिष्ठानद्वारा स्वर्गीय चेतनदीप अयडीको सम्झनामा बाजुराको सदरमुकाम मार्तडीमा स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा ९एमाले० पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेताहरु, कार्यकर्ताहरू, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा ९एमाले० केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, प्रदेश कमिटी सदस्य युवराज शाही, सीता बराल, जिल्ला कमिटी सचिव काँशी विक, अमर खड्का, अनेरास्ववियु केन्द्रीय निर्वतमान महासचिव नरेश कुमार रोकाया लगायतका नेताहरूले स्वर्गीय अयडीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

वक्ताहरूले अयडीले जीवनभर बोकेका समाज परिवर्तनका लक्ष्य र न्यायपूर्ण आन्दोलनका एजेन्डालाई निरन्तरता दिन सबै पक्ष जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । चेतनदीप स्मृति प्रतिष्ठानका अध्यक्ष गगन अयडीको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रतिष्ठानका सदस्य रमित विकले सञ्चालन गरेका थिए ।

कार्यक्रमका सहभागीहरूले अयडीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए । उनीहरूले चेतनदीपका अधुरा सपना साकार पार्न एकताबद्ध भएर अघि बढ्ने प्रतिज्ञा समेत व्यक्त गरेका छन् ।

२०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका चेतनदीप अयडीको एक समूहले घरमै गएर क्रूरतापूर्वक हत्या गरेको घटना आज पनि स्थानीयबासीहरूका लागि पीडादायी स्मरण बनेको छ । स्मृति सभाले यो अन्याय विरुद्ध न्यायको मागलाई पुनः सशक्त रूपमा उठाएको छन् । 

प्रतिक्रिया दिनुहोस