शुक्रबार, ०५ मङि्सर २०८२

अशोक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बाजुरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । हिमाली गाउँपालिका– ६ स्थित प्रसूति केन्द्र भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंह, शिक्षा विकास तथा समन्वय एकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत सहित उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीले मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उनीहरूले प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमानअनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको र निर्मित संरचनासमेत भग्नावशेषको अवस्थामा रहेकाले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको अख्तियारले जनाएको छ ।

आव ०७५÷७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय, बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँ व्यहोर्ने गरी कन्टेन्जेन्सीसहित २६ लाख १५ हजार २०६ रुपैयाँमा ०७६ जेठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

लागत अनुमानबमोजिम आल्मुनियमको झ्यालढोकाको फ्रेम र सटरसहित हुनुपर्नेमा लोकल काठको चौकोस मात्र जडान गरी लागत अनुमानमा उल्लेखित दररेटमा नै झुटा बिल भर्पाइका आधारमा पूरै भुक्तानी लिएको अख्तियारले जनाएको छ । उनीहरूविरुद्ध जनही १५ लाख आठ हजार ५ सय ५७ रुपैयाँ बिगो कायम गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस