बाजुरा : राष्ट्रिय परिचयपत्र बनाउनकै लागि मार्तडी पुग्नु पर्ने कुण्डा बासीको बाध्यता हटेको छ । बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र सहीतका सरकारी सेवाका कामसुरु गरिएसँगै मार्तडी पुग्नु पर्ने बाध्यता हटेको हो ।
बुढीनन्दा नगरपालिका सञ्चालित यो सेवा आउँदा स्थानीय नागरिकले सदरमुकाम मार्तडी धाउनुपर्ने झन्झटबाट मुक्त भएकोमा खुसी भएका छन् । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराका अनुसार पूर्वी–उत्तरी भेगका चार स्थानीय तहका बासिन्दालाई लक्षित गर्दै सेवा विस्तार गरिएको हो । उनका अनुसार नागरिकलाई घरमै नजिकबाट सजिलो, सरल र छिटो सेवा उपलब्ध गराउन यो कदम उठाइएको हो ।
सदरमुकाममा भीडभाड र दूरीका कारण नागरिकले वर्षौंदेखि भोग्दै आएको कठिनाइलाई समाधान गर्ने उद्देश्य सहित सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार राष्ट्रिय परिचयपत्र वितरणका लागि कोल्टी उपयुक्त ठाउँ भएकाले यसले हजारौँ नागरिकलाई राहत पुग्नेछ । कोल्टीमा सेवा थालिएसँगै दैनिक १० देखि २० जना नागरिक परिचयपत्र बनाउन आउने गरेको कर्मचारी सन्तोषी विकले बताएकी छन् ।
सेवा लिन आउने अधिकांश नागरिक उत्साहित छन् र सेवा सहज बन्दै गएको छ । अबदेखि बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका नागरिकहरूले कोल्टीमै राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्न सक्नेछन् ।
साथै जिल्ला प्रशासन कार्यालय मार्तडी र कोल्टी दुवै स्थानबाट परिचयपत्र सेवा उपलब्ध हुने भएपछि नागरिकलाई विकल्प समेत खुलेको छ । यस कदमले दुर्गम क्षेत्रका मानिसहरूलाई समय, धन र श्रम बचत गर्दै सरकारी सेवाप्रति विश्वास बृद्धि गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस