आइतबार, ०७ मङि्सर २०८२

बुढीगंगा नदीको बेलिब्रिज दानसाँघुमा जडान हुदै, कुण्डा क्षेत्रको सडक यात्रा सहज बन्ने

बाजुरा :  बुढीनन्दा नगरपालिकामा दानसाँघु खोलामा बेलिब्रिज निर्माणको शिलान्यास गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगर अछामले करिब २ करोड २२ लाख रुपैयाँ लागतमा बडीमालिका नगरपालिका जडाङ्गामा रहेको पुरानो बेलिब्रिजलाई दानसाँघु खोलामा स्थानान्तरण गरी पुनःस्थापना गर्न लागिएको हो ।

ठेकेदार कम्पनीले ४ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । एक औपचारिक समारोहका बीच बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले पुल निर्माणको शिलान्यास गरेका हुन् ।नगरप्रमुख जनककुमार बोहराका अनुसार नगरपालिकाको निरन्तर प्रयासपछि पुल स्थानान्तरणको प्रक्रिया अघि बढेको हो ।

उनका अनुसार बेलिब्रिज बनेपछि कोल्टी क्षेत्रमा यातायात सहज हुने र स्थानीय आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । झण्डै २६ वर्ष अघि मार्तडी–कोल्टी सडक सञ्चालनमा आए पनि दानसाँघु खोलामा पक्की पुल नहुँदा हिउँदमा चिसो र वर्षामा पानीको तीव्र बहावका कारण सवारी साधन आवतजावत गर्न निकै कठिनाइ हुँदै आएको थियो ।

सडक डिभिजन कार्यालय साँफेबगरले दानसाँघु खोलामा बेलिब्रिज राख्ने उद्देश्यले पुलको सर्भे गरेको थियो । हिउँद र बर्खा दुवै मौसममा बारम्बार समस्या आएपछि अब बेलिब्रिज निर्माण भएपछि बुढीनन्दा नगरपालिका मात्र होइन, हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिकाका बासिन्दा तथा छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।

बर्षातका चार महिनामा दानसाँघु खोलामा पुल नहुँदा कोल्टीसम्मको यातायात नियमित रूपमा सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । बेलिब्रिज निर्माण सम्पन्न भएपछि अब यातायात व्यवस्था सहज र दिगो हुने स्थानीयको विश्वास रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस