बाजुरा : नेकपा एमाले बाजुराले ४५ सदस्यीय जिल्ला सल्लाहकार परिषद गठन गरेको छ । प्रत्येक पालिकाबाट ५ जनाका दरले नौ वटा पालिकाबाट प्रतिनिधीत्व हुने गरी ४५ सदस्यीय सल्लाहकार परिषद गठन गरेको हो । वीरजीत कटेल संयोजक र विष्णु अयडी सहसंयोजक रहने गरी परिषद गठन गरिएको पार्टी सचिव काशी विकले जानकारी दिएका छन् ।
मार्तडीमा बसेको पार्टी कमिटीको नियमित बैठकले परिषद् गठन सहीत पूर्णता दिएको हो । संयोजक कटेल स्वामिकात्र्तिक खापर गाउँपालिकाका हुन्, भने अयडी त्रिवेणी नगरपालिकाका स्थानीय हुन् । दुबै जना लामो समयदेखि नेकपा एमालेको पार्टी राजनीतिमा सक्रिय छन् ।
पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले तीन जनालाई जिल्ला कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ । अर्को पार्टीबाट प्रवेश गरेका र पार्टी छोडेर पुन घर फर्किएका बडीमालिकाका मानबहादुर कार्की, स्वामिकात्र्तिकका जयलाल शाही र जगन्नाथ गाउँपालिकाका धनबहादुर विष्ट रहेका छन् ।
नेकपा एमाले पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्रमुख अतिथि रहेको बैठकमा केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, आयोग सदस्य बसुन्धरा रोकाया, प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही सहीत प्रदेश कमिटी सदस्य सहभागि थिए । बैठकमा पार्टी केन्द्रीय कमिटीले पठाएको अन्तर पार्टी निर्णय बारे जानकारी गराइएको छ । भने ११ महाधिवेशनको तयार र प्रतिनिधी छनोट बारे पनि छलफल गरिएको छ ।
नेकपा एमालेले आफ्नो ११ औं महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । महाधिवेशनका लागि मंसिर १३ गते एकैदिन प्रतिनिधी सभा निर्वाचन क्षेत्रलाई भूगोल मानेर प्रतिनिधी छनोटको मिति तय गरिसकेको र १५ गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको छ ।
पार्टी केन्द्रले जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार १२ सय बराबर एक जना ४० मुनिको युवा, एक महिला र दुई खुला सहीत थप ८ सय संगठीत सदस्य मध्येबाट पहिलो महिला र दोस्रो पुरुष हुने गरि प्रतिनिधी छनोटको मापदण्ड बनाएको छ । भने दलितको हकमा ५ सय बराबर एक जना प्रतिनिधी भनिएको छ ।
बाजुरामा ९ हजार ५ सय ३५ पार्टी संगठीत सदस्य छन् । भने ती मध्ये २ हजार २ सय ४७ जना दलित सदस्य छन् । यो संख्या हेर्दा बाजुराबाट सबैगरेर १४ देखि १६ जनासम्म प्रतिनिधी जाने देखिन्छ । शेषमा रहेको संख्यालाई आधार मान्दा बढ्न सक्ने र ९ सयसम्म १४ जना र १० हजार सदस्यता नाघेको क्षेत्रको हकमा १५ जना पठाउनु पर्ने मापदण्ड तोकिएकोले बाजुरामा १४ जना प्रतिनिधी हुने सचिव काशी विकले बताएका छन् ।
सचिव विकका अनुसार बाजुराबाट एक महिला सहीत चार जना दलित प्रतिनिधी हुन पाउनेछन् । भने चार जना महिला, एक जना ४० मुनिको युवा र ५ जना खुला प्रतिनिधी सहभागि हुन पाउने अवस्था छ ।
प्रतिनिधी छनोटका लागि वडा भूगोल मानेर प्रतिनिधी छनोट गर्ने र सहमति नभएको अवस्थामा तीनैबीत मतदान गराएका प्रतिनिधी छनोट गर्ने निर्णय एमाले जिल्ला कमिटीले गरेको छ ।
सबै संगठीत सदस्य बोलाएर मतदान गर्ने र भेला गराउने कुरा संभव नहुने भएकोले सदस्य संख्याको आधारमा वडा प्रतिनिधी छनोट मापदण्ड बनाएर जिल्ला पठाउने र उनीहरु बीचकै प्रतिस्पर्धाबाट केन्द्रीय महाविधवेशन प्रतिनिधी छनोट गरिने पार्टी अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।
वडा प्रतिनिधी छनोटको मापदण्ड तय गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको छ । भने त्यो निर्णयलाई सचिवालय बैठकबाट अनुमोदन गराउने निर्णय गरिएको छ । नेकपा एमालेको जिल्ला पदाधिकारी संरचना पाँच सदस्यीय छ । भने सचिवालय २३ सदस्यीय छ । बैठकमा सुझाव दिने र बोल्ने नेताहरुले भने सकेसम्म सहमतिकै आधारमा प्रतिनिधी छनोटमा जोड दिएका थिए ।
बाजुराबाट हाल चार जना केन्द्रीय सदस्य र एक जना आयोग सदस्य छन् । ती मध्ये सबैजनाको केन्द्रीय कमिटीमा उठ्ने तयारी छ । भने हालका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पदाधिकारीमा उम्मेदवारी दिने संकेत गरेका छन् । बाजुराबाट स्थायी
कमिटीमा कर्णबहादुर थापा, केन्द्रीय कमिटीमा लालबहादुर थापा, सहदेव बोगटी, दयालबहादुर शाही छन् । भने बसुन्धरा रोकाया आयोग सदस्य छन् ।
अर्का एमाले केन्द्रीय सदस्य प्रकाशबहादुर शाह नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेश गरिसकेका छन् । बाजुराबाट केही नयाँ अनुहार प्रतिनिधी गएको हकमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेको संख्या बढ्न सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस