सोमबार, ०१ मङि्सर २०८२

विश्वप्रकाशले देउवालाई भने- चुनावअघि महाधिवेशन नगरे महामन्त्री रहन्न

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद समाधान गर्न पहलकदमी लिएका छन् ।उपचार गरी सिंगापुरबाट फर्केका सभापति देउवाले हिजोआज पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूसँग ‘वान टू वान’ कुराकानी गरेका छन्।

महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा सभापति देउवाले अरू नेताहरूसँग छलफल गर्दै आएका हुन्।

असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक चले पनि नेताहरूले धारणा राखेर सकिँदासम्म बैठक निष्कर्षमा पुग्न नसकेर स्थगित छ।

सोमबार दिउँसो २ बजे पुन: केन्द्रीय समिति बैठक बस्दैछ।

यसबीचमा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आ-आफ्नो ठाउँबाट केन्द्रीय समितिमा देखिएका महाधिवेशन तिथिमितिलगायत मतभेदहरूलाई अन्त्य गरी सर्वसम्मत निर्णय गराउने वातावरण तयार गर्न नेताहरूसँग कुराकानी गरिरहेका हुन्।

कात्तिक २८ गते बेलुकी स्वदेश फर्किएका देउवाले त्यसपछि कार्यवाहक सभापति खड्का, प्रवक्ता प्रकाशशरण महत लगायत आफूनिकट केही पदाधिकारी र केही केन्द्रीय सदस्यहरूसँग कुराकानी गरे।सभापति देउवासँगको भेटमा उनीनिकट नेताहरूले चुनावमा केन्द्रित हुनुपर्ने र वैशाखमा नियमित महाधिवेशन उपयुक्त हुने कुरा राखे। जबाफमा सभापति देउवाले चुनावमा केन्द्रित हुनुपर्छ भनेका छन्।प्रवक्ता प्रकाशशरण महतका अनुसार सभापति देउवाले नेताहरूसँग भेट गर्ने काम गर्दै आएका छन् साथै सभापति देउवाले आज महामन्त्री विश्वप्रकाश शर्मासँग कुराकानी गरेका छन्।सभापति देउवाले महामन्त्री शर्मासँग आज करिब सवा १ घन्टा कुराकानी गरे। मध्याह्न १२ बजेदेखि कुराकानी सुरू भएको थियो।महामन्त्री शर्माले केन्द्रीय समितिमा विभिन्न एजेन्डामाथि आएका धारणा, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेको र समसामयिक राजनीतिक घटनाक्रमबारे सभापति देउवालाई ब्रिफिङ गरेका थिए।‘सरकार बनाउने धाराभन्दा बाहिर गएर सरकार बन्नु संविधानसम्मत हुँदैन भनेजस्तै कांग्रेस पनि विधानको धारा १७ को उपधारा २ मा उल्लेख भएको व्यवस्थालाई सम्बोधन गर्ने गरी अघि बढेन भने पार्टी विधानअनुसार चलेको हुँदैन,’ महामन्त्री शर्माले सभापति देउवालाई भने, ‘कांग्रेस विधानअनुसार चलेन भने पार्टी र देशका पनि दुर्भाग्यपूर्ण हुन्छ।

’५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनको विषयलाई सम्बोधन गर्ने गरी पार्टी अघि बढ्नुपर्ने कुरा पनि महामन्त्री शर्माको छ।‘विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने गरी या त नियमित महाधिवेशन गर्नुपर्छ या त विशेष महाधिवेशन गर्नुपर्छ, समयमै नियमित महाधिवेशन गर्ने हो भने विशेष महाधिवेशनको मागलाई सम्बोधन हुन सक्छ। तर नियमित महाधिवेशन गर्न भ्याइँदैन भन्ने हो भने विधानले तोकेको समयभित्र विशेष महाधिवेशन गर्नुपर्छ,’ महामन्त्री शर्माले सभापति देउवालाई भनेका छन्, ‘आवेगमा निर्णय गर्ने र त्यो निर्णय विधानअनुसार नहुने हो भने त्यसको साक्षी बनेर बस्दिनँ।’

 

विधानभन्दा बाहिर गएर पार्टीले निर्णय लिने हो भने त्यस्तो अवस्थामा आफू महामन्त्री पदमा नरहने कुरा पनि सभापति देउवालाई शर्माले सुनाएका छन्।

‘विधानविपरीत आवेगमा निर्णय लिने हो भने त्यस्तो अवस्थामा तत्कालै लागू हुने गरी महामन्त्री पदबाट मलाई भूपू महामन्त्री बनाइदिए हुन्छ,’ शर्माले सभापति देउवासँग भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो।  

अहिले पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गरिरहेका छन्। खड्काकै अध्यक्षतामा केन्द्रीय समिति बैठक एक महिनासम्म चल्यो, भोलि पनि बस्दैछ। महामन्त्री शर्माले यसअघि नै कार्यवाहक सभापति खड्कालाई पनि विधानभन्दा बाहिर गएर निर्णय लिने हो भने आफू महामन्त्री पदमा नरहने कुरा बताइसकेका थिए।

सभापति देउवासँगको भेटमा महामन्त्री शर्माले केन्द्रीय सदस्यहरूले राखेका धारणाबारे पनि ब्रिफिङ गरेका थिए।

पूर्वउपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री फरमुल्लाह मन्सुर, अधिकांश केन्द्रीय सदस्यहरू, ६ वटा महानगरका सभापतिहरू र अधिकांश जिल्ला सभापतिहरूले पनि चुनावअघि महाधिवेशन उपयुक्त हुने कुरा राखेको शर्माले सभापति देउवालाई जानकारी गराएका थिए।

पार्टी संरचनाभन्दा बाहिर रहेका नागरिकहरूले पनि महाधिवेशन गरेर मात्रै चुनावमा जान उपयुक्त हुने सुझाव दिइरहेको सन्दर्भ समेत शर्माले सभापति देउवासमक्ष राखेका थिए।

‘पार्टी पङ्ति र आमजनताको कुरालाई पनि सम्बोधन गरेर जानुपर्छ। केही निर्णय नलिई केन्द्रीय समिति सकिनु हुन्न, केन्द्रीय समिति बैठकअघि जसरी पनि समाधान खोज्नुपर्छ, अब केन्द्रीय समिति सार्न हुन्न, बीचमा धेरै दिन सारिसकियो,’ उनले सभापतिलाई भनेका थिए, ‘यी सबै कुरा छाडेर गाउँको चौतारीमा गएर नेताले भोट माग्दा जनताले दिँदैनन्। भोट आउने नआउनेमा मात्र यो कुरा सीमित छैन, पार्टी नै रूपान्तरण गरेर लैजानुपर्छ, त्यसका लागि महाधिवेशन आवश्यक छ।’

यी कुरा सुनेपछि सभापति देउवाले ‘सबै मिलेर’ जानुपर्नेमा जोड दिएका छन्।

‘सबै मिलेर, सबैलाई मिलाएर जानुपर्छ, कसैले पनि छाड्ने कुरा नगरौं,’ सभापति देउवाले महामन्त्री शर्मालाई भनेका छन्, ‘सबैलाई मिल्ने र मिलाउनकै लागि मैले पनि अनौपचारिक कुरा गरेको हुँ।’

पार्टीभित्र महाधिवेशनको तिथिमितिबारे विवाद हुँदा केन्द्रीय समितिबाट निष्कर्ष निस्केको छैन।

मतभेद अन्त्यका लागि सभापति देउवाले पार्टीभित्र फरक मत राख्दै आएका नेताहरूसँग भेटेर अनौपचारिक कुराकानी गरेका छन्।

सभापति देउवाले पनि पहल थालेकोले भोलि बस्ने केन्द्रीय समिति बैठकअघि नेताहरू सहमतिमा पुग्न सक्ने आकलन गरिएको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला फागुन २१ को चुनावअघि महाधिवेशनका पक्षमा छन्। नियमित महाधिवेशन नहुने हो भने विधानअनुसार विशेष महाधिवेशनमा जानुपर्नेमा महामन्त्रीद्वय छन्।

कात्तिक १८ गतेको केन्द्रीय समितिमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गर्दा सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने बताएका थिए। महाधिवेशनका दुई वटा मिति आउँदा केन्द्रीय समिति बैठकमा अन्योल भएको थियो।

सभापति देउवा पक्षका केही पदाधिकारी र केही पूर्वपदाधिकारी भने चुनावमा केन्द्रित भएर वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। कार्यवाहक सभापति यसबारे केही बोलेका छैनन्। खड्का केन्द्रीय समितिमा बोल्न बाँकी नै छ।

प्रवक्ता प्रकाशशरण महत, सहमहामन्त्री उमाकान्त चौधरी, पूर्वपदाधिकारी विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह चुनाव गरेर मात्रै महाधिवेशनका पक्षमा उभिएका छन्।

सभापति देउवा पक्षकै सहमहामन्त्री फरमुल्लाह मन्सुर र २४ जना केन्द्रीय सदस्य पनि चुनावअघि महाधिवेशनका पक्षमा छन्। सभापति देउवा पक्षका २४ केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन माग गर्दै हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाएका छन्।

सभापति देउवा पक्षका बाँकी केन्द्रीय सदस्यहरू चुनावअघि नियमित वा विशेष कुनै पनि महाधिवेशन गर्न नहुनेमा छन्। शनिबार नयाँ बानेश्वरमा भेला गरी उनीहरू यस्तो निष्कर्षमा पुगेका थिए।

सहमहामन्त्री महेन्द्र यादवले फागुन २१ गतेको चुनावअघि कुनै पनि महाधिवेशन गर्न नभ्याइने बताए।

पुस १६ गते प्रतिनिधि सभा समानुपातिक सूची बुझाउनुपर्ने, माघ ११ गते राष्ट्रिय सभा चुनाव र फागुन २१ गते प्रतिनिधि सभा चुनाव रहेकोले त्यसका लागि उम्मेदवार चयन गर्न सुरू गर्ने बेला महाधिवेशन गर्न नहुने उनले बताए।

अहिले महाधिवेशन गरे त्यसले पार्टीको तल्लो संरचनासम्म विवाद ल्याउने र त्यो चुनावमा प्रकट हुँदा पार्टीलाई क्षति पुग्ने उनको भनाइ छ। कतिपयले भने अहिले महाधिवेशन भए पुराना नेताहरूलाई टिकट नपाइने हो कि भने आशंका छ, त्यसैले उनीहरू चुनावपछि महाधिवेशन भन्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस