बाजुरा : गौमुल गाउँपालिकाले निःशुल्क शिक्षक सेवा तथा लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेश रहने वातावरण बनाउँने उद्देश्यसहित तयारी कक्षा सुरु गरिएको हो ।
गौमुल गाउँपालिकाको आर्थिक सहयोग तथा स्ववियु बाजुरा क्याम्पसको समन्वयमा तायरी कक्षा सञ्चालन गरिएको बाजुरा क्याम्पस स्ववियु अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् ।
बडीमालिका शैक्षिक केन्द्र मार्तडीमा सञ्चालन हुने तयारी कक्षाको आज एक कार्यक्रमकाबीच गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले उद्घाटन गनुभएको छ ।
तयारी कक्षाको लागि विद्यार्थीहरुको उत्साहजन सहभागिता रहेको छ । निःशुल्क तयारी कक्षामा बाजुरा क्याम्पसमा अध्ययनरत वा अध्ययन पूरा गरिसकेका गौमुलबासी विद्यार्थीहरूको सहभागिता रहेको छ ।
कक्षा उद्घाटनमा गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले शिक्षाको विकास नगरी पालिका समृद्ध बन्न नसक्ने भन्दै लोकसेवा तयारी कक्षा सञ्चालन गरिएकोे बताएका छन् । पढेलेखेका युवाहरु बेरोजगार हुँदा, पढेर मात्र के गर्ने भन्ने पछिल्लो बुझाई युवामा आउन थालेकोले सरकारी सेवामा प्रवेश लागि सहयोगि बन्न निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको बताए ।
कक्षामा विद्यार्थीलाई कसरी तयारी गर्ने, कसरी परीक्षा दिने, कुन कुन विषय वस्तु पढ्ने जस्ता विषयमा समेत प्रशिक्षण दिइने भएको छ । कक्षा उद्घाटन कार्यक्रममा गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया, वडा नं.२ का वडाध्यक्ष देव बहादुर रोकाया, १ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया, बाजुराका क्याम्पस शिक्षक लगायतको उपस्थित रहेको थियो ।
आज पहिलो दिन तयारी कक्षामा सय भन्दा बढी विद्यार्थीको उपस्थित रहेको थियो । क्याम्पस बाहिरका पढ्न इच्छुक विद्यार्थीहरूलाई पनि भोलि बेलुका सम्म उपस्थित हुन अनुरोध समेत गरिएको छ ।
लोक सेवा आयोग तयारी कक्षा बिहान ६ः०० देखि ७ः०० बजेसम्म र शिक्षक निमावि लाइसेन्स तयारी कक्षा बेलुका ५ः०० बजदेखि ७ः०० बजेसम्म सञ्चालन हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस