बाजुरा : बडीमालिका नगरपालिकाको सदरमुकाम मार्तडी नजिककैको गडखेतमा अस्थायी बासमा राखिएका भेडाहरू मध्ये दर्जनबढी भेडा एकैदिन मरेका छन् । भेडा मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
जगन्नाथ गाउँपालिका–४ का लालबहादुर भण्डारीका भेडा मरेको बताइएको छ । हिउँदमा चासो बढेपछि भेडा बेशी ल्याउने गरिन्छ । सोही क्रममा यतिबेला भोटबाट भेडा बेशी ल्याउनेक्रम जारी छ । दिउँसो वनमा चराउन लगिएका भेडा एकाएक ढल्न थालेपछि ठूलो संख्यामा मरेका हुन् । भेडामा घोराउने, ढल्ने र अचानक मर्ने लक्षण देखिएको भेडापालकहरूले बताएका छन् ।
भारी नै बोक्ने दर्जन बढी ठूलो भेडाहरु मरेपछि तीन लाख बढीको क्षति भएको पीडित लालबहादुर भण्डारीले बताएका छन् । भेडा मर्न थालेपछि भेडापालकले तत्कालै जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई खबर गरेको र तर नआएको गुनासो उनीहरुको छ ।
बथानमा रहेका दुई सय बढी भेडा मध्ये दर्जन बढी मरेको र दर्जनौ संख्यामा विरामी परेको अवस्था छ । समयमै प्राविधिक नआएको गुनासो गलत भएको र पठाएर सुरुमा सुइ नलगाउने बताएपछि प्राविधिक फर्किएको दाबी पशुसेवा विज्ञ केन्द्रका प्राविधिक जगत थापाले बताएको छ ।
दिउसो पठाएको टोली उपचार गर्न नदिएर फर्काएपनि साँझ फेरि प्राविधिक बोलाइएको थियो । प्राविधिक सहीतको टोली लिएर भेडा बास स्थानमै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का सहीतको प्राविधिक टोली खटिएको थियो ।
साँझ खबर आएको २० मिनेटमै आफू प्राविधिक टोली लिएर गएको र पशुसेवा विज्ञ केन्द्र र नगरपालिकाको टोलीले उपचार गरेको नगर प्रमुख अमर खड्काले बताएका छन् । रोग बारे थप जानकारी लिन र रोगको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिने र थप उपचार विधी अपनाउने प्राविधिकको बताएका छन् ।
“के यो मौसमी संक्रमण हो वा अन्य कुनै रोग — अहिले निश्चित भन्न सकिँदैन । थप परीक्षणपछि मात्र एकिन हुन्छ,” पशुसेवा विज्ञ केन्द्रका जगत थापाले भन्नु भयो । भेडा पालकले समेत सुरुमा सामान्य समस्याको रुपमा लिएका थिए । पछि एकपछि अर्को चर्दाचर्दै लाइनमै मर्न थालेपछि आत्तिएर प्राविधिक बोलाएका थिए ।
जीवन गुजाराको प्रमुख पेशा र सम्पत्तीनै भेडाहरु नै भएकोले एकै पटक तीन लाख बढीको क्षति पछि भेडा पालक दुखी बनेका छन् । उनीहरुले आफूहरुलाई सहीनसक्नु पीडा र क्षति भएको दुखेसो सहीत राहतका लागि माग गरेका छन् ।
घटनास्थल पुगेकाका नगर प्रमुख अमर खड्काले भेडापालकलाई राहतका लागि सम्बन्धीत निकायमा आवश्यक पक्रिया अघि बढाउनसहयोग गर्ने र रोग नियन्त्रणका लागि थप पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
भेडा मृत्युका कारणले स्थानीय किसान चिन्तित बनेका छन्। हाल प्राविधिक टोलीले नमुना संकलन गरी परीक्षण गरिरहेको र थप भेडामा रोग नफैलियोस् भनेर सतर्कता अपनाउन आग्रह गरिएको छ । यतिबेला बाजुरा, हुम्ला, मुगु सहीतका हिमाली भेगमा बस्ने भोटेजनजाति र भेडापालकहरु आफ्ना भेडाहरु सहीत बेशी झरेका छन् ।
प्राविधिक सहीतको टोलीमा नगर प्रमुख अमर खड्का, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्राविधिक जगत थापा सहीतको टोली, बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण ओली, युवा संघका संयोजक विष्न कार्की, अनेरास्ववियुका सचिव लक्ष्मण रोकाया, वीरेन्द्र अयडी, खेलकुद महासंघका सचिव संजय विक सहीत सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस