बाजुरा : बुढीनन्दा नगरपालिकामा लगाएको तालाबन्दी खुलेको छ । पालिका भित्र देखिएको मनोमानी र कोल्टी बजार बासीले भोग्नु परेको विजुली र खानेपानीको समस्या समाधान गर्ने सहमति सहीत ताला खोलिएको हो ।
कोल्टीमा दुई दशक पहिला नै विद्युत बनेको थियो । कोल्टी बजारका लागि पहिला नै बनेको जुड्डीगार्ड लघुजलविद्युत आयोजनाको नहर बेला बेला भत्किने र विजुली समेत अनियमित भइरहने हुँदा स्थानीय हैरानी खेप्न बाध्य छन् । भने खानेपानीको पनि सहज मुहान अभावले समस्या भइरहने गरेको छ ।
पछिल्लो समय विद्युत र खानेपानीको दीगो व्यवस्थापन गर्न पालिका जिम्मेवार बनेको देखिन्छ । केन्द्रीय प्रशारण लाइन जडानको अन्तिम तयारीमा पुगेको छ । भने खानेपानीका लागि पनि बृहत योजना अघि बढाइएको छ । स्थानीय युवाहरुले जहिले पनि कोल्टीमा खानेपानी र विजुलीकै समस्या भोग्नु परेकोले समाधान सहीतको आन्दोलन सुरुको घोषणा गरेका थिए ।
विरोध स्वरुप उनीहरुले केही घण्टा पालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी लगत्तै उनीहरुसँग उपप्रमुख रामबहादुर बोहरा नेतृत्वको टोलीले संवाद गरेको थियो । भने विद्युत सेवा विस्तारको कामका लागि मार्तडीमा रहेका नगर प्रमुख जनक कुमार बोहराले त्यही समस्या समाधानका लागि प्रयास जारी रहेकोले तत्काल समाधानको आश्वासन दिएका थिए ।
पालिकाको जिम्मेवार अभिव्यक्ति र प्रतिवद्धता सहीतको समर्थन पाएपछि युवा आन्दोलनकारीले कार्यालयको तालाबन्दी खोलेका हुन् । उनीहरुले भनेबमोजित काम अघि बढाइनु पर्ने र तत्काल खानेपानी र विजुली समस्या हल हुनु पर्ने प्रष्ट माग राखेका छन् । कोल्टी बाजुराको सदरमुकाम मार्तडी पछिको ठूलो बजार क्षेत्र हो, भने विमान स्थल समेत रहेको बुढीनन्दा नगरपालिकाको मुकाम पनि हो ।
कार्यालयमा तालाबन्दीका लागि पालिकाको २ नम्बर वडा र बजार क्षेत्रमा युवाहरु गएका थिए । उनीहरुले गाउँमा विजुली र पानी सहज हुने तर बजारमा समस्या देखिने कारणको खोजी हुनु पर्ने, पालिका भित्रका केही कर्मचारीको मनोमानी रोकिनु पर्ने र सुशासनमा अब्बल देखिने पर्ने माग राखेर बन्द गराएका हुन् ।
पालिकाले प्रयास जारी राखेकै माग बारे युवाहरुले सचेत गराएका हुन् । ती माग संवोधन गर्न हामी सिंगो पालिका टिम नै परिचालित छ । मेयर साब त्यही कामका लागि मार्तडीमा हुनुहुन्छ, तत्कालसमाधान गरिने सहमति पछि तालाबन्दी खोलिएको उपप्रमुख रामबहादुर बोहराले जानकारी दिएका छन् । पछिल्लो समय युवाहरुले पालिका र जनप्रतिनिधी जनताका समस्या र सवाल प्रति जिम्मेवार र जवाफदेही हुनु पर्ने माग राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस