बाजुरा : बाढी पहिरोदेखि चट्याङ र भूकम्प जस्ता विपद्जन्य घटनाले बाजुरा बढी जोखिममा पर्नेगर्छ । भिरालो अनि पाखो जमिन भएकै कारण वर्षेनी यहाँका स्थानीयको करोडौँ धनजनको क्षति हुन्छ । केही पालिकाको सीमित जमिन बाहेक ८० प्रतिशत मानव बसोबास रहेको क्षेत्रमा बस्ती बसाउन योग्य नभएको भूगर्वविद्हरुको नै दाबी छ ।
तर पनि यहाँका स्थानीयलाई सहज व्यवस्थापन र जीवन सुरक्षाका लागि राज्यको कुनै योजना र आगामी कार्यदिशा नभएकै कारण पुरानै थातथलोमा बसोबास गर्ने र गुजारा गर्नु पर्ने अवस्थामा छन् । बाढी पहिरो, असिनापानी, भूकम्प जस्ता विपद्का घटनाबाट स्थानीय आजित छन् । नदी किनारको बस्ती भएकाहरूका लागि झनै सङ्कट छ ।
साबिक बाजुराका २७ मध्ये २०७२ सालमा ६ वटा गाउँ विकास समितिलाई बस्ती विकास गर्ने गरी तत्कालीन सरकारले ७४ करोड बजेट विनियोजन गरेको थियो । जुन बेला बाजुराबाट नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा क्याबिनेट मन्त्री थिए । त्यो बाहेक राज्यले कुनै पहल र प्रयास गरेको देखिँदैन । विनियोजन गरेकै रकम पनि खर्च नगरी पठाइएको थियो ।
बस्ती बस्न योग्य छैन, बसाइ सार्नु नै उत्तम विकल्प हुने बारे राज्य जानकार भए पनि उसले हत्तपत्त कुनै योजना बनाएर सहज व्यवस्थापन गर्ने पक्षमा देखिन् । थोरै रकमले गर्न नसकिने भएकै कारण राज्यले तत्काल आँट नगरेको हुन सक्ने अनुमान गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको छ । रोकायाले नेतृत्व गरेको पालिका पनि विपद्जन्य घटनाको बढी जोखिममा छ ।
वर्षेनी बाढी आउने, पहिरो जाने, असिना पानीले अन्न बाली क्षति गर्ने, भूकम्पले घर भत्काउने घटना गरिरहेको हुन्छ । बुढीगंगामा आएको बाढीका पीडितले अझै राहत पाएका छैनन् । ती बाहेकका ५ सय ३८ परिवारले पनि पहिलो किस्ता दिएको ५ वर्षपछि अन्तिम किस्ता दिन राज्य बल्ल तयार भएको छ ।
तत्कालीन समयमा जिल्ला प्रशासनकै सिफारिसमा बाढीपहिरो तथा भूकम्पबाट प्रभावित भएकाहरूलाई स्थानीय तहबाट १०, प्रदेशबाट ३० र सङ्घीय सरकारबाट ६० प्रतिशत प्रतिशत रकम दिने गरी निर्णय गरिएको थियो । २०७७र०७८ साल देखि उनीहरूले तेस्रो किस्ता रकम पाएका थिएनन् । पहिलो किस्ता ५० हजार, दोस्रो दुई लाख पचास हजार रकम पाए पनि उनीहरू तेस्रो किस्ता रकम पाउन भने निकै समय कुर्नु परेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले गृहमन्त्रालय तथा अन्य विभिन्न निकायसँग रकम मागपछि तेस्रो किस्ता रकम वितरण गरिने भएको हो । स्थानीय बेला बेला जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना, विरोध जस्ता गतिविधिसहित रकम माग गर्दै आएका थिए ।
जसमा हिमाली गाउँपालिकामा १ सय २९ घरपरिवारले दुई करोड चालिस लाख, स्वामिकार्तिक खापर गाउँपालिका १०६ जना परिवारले ४२ लाख , जगनाथ गाउँपालिकामा एक सय जना परिवारले २० लाख, गौमुलका ४८ जना परिवारले ९६ लाख , खप्तड छेडेदह गाउँपालिका ३२ जना परिवारले ५७ लाख बुढीगङ्गा ८६ जनाघरपरिवारले दुई लाख र बडिमालिका ३७ जना परिवारले ६४ लाख गरी जम्मा ५३८ जना बाढीपहिरो घरपरिवारले ६ करोड १३ लाख सत्तरी हजार तेस्रो किस्ता रकम पाउने भएका छन् ।
यो भन्दा पहिला हिमालीका १ सय २९ खप्तड छेडेदह ३२, बुढीगङ्गा ८६ बडिमालिका ३७ त्रिवेणी २ जना घरपरिवारले एक करोड ७५ लाख रकम पाइसकेका छन् । त्यसै गरी जगनाथ गाउँपालिकाका एक सय जना बाढीपहिरो पीडितले पहिलो किस्ता दुई लाख सत्तरी हजार रकम पाईसकेका छन् ।
भूकम्प पीडितहरूको घरबासका लागि यहाँका नौ वटै पालिकाको खातामा रकम राखिदिएको छ । भने बाढीपहिरो पीडितलाई वैशाख १० गते उनीहरूकै खातामा रकम राखिदिने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
पहिलो र दोस्रो किस्ता रकम पाएर घर निर्माण गरेका थिए । भने बाँकी रकम तिर्न उनीहरूले धौ धौ परेको थियो । कतिपयले तेस्रो किस्ताकै आशमा बस्नु परेको छ । घरमा बस्न थलो पनि उधारो घरमा बस्नु परेको पीडा पीडितहरूलाई थियो ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यायले घरमै पुगेर रकम दिने बचन दिएका छन् । केही दिनपछि त्यो पैसा तपाईँको खातामा आउने बचन समेत पीडितको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यायले जानकारी गराएका छन् ।
पाँच वर्षपछि खातामा पैसा आउने भएपछि स्थानीय खुसी छन् । २०७७ सालदेखिका बाढीपहिरो पीडितहरू धेरै रहेका छन् । तर उनीहरूले लामो समय देखि घरबासका लागि पाउनु पर्ने रकम पनि नपाएको अवस्था थियो, अब समाधान हुने विश्वास प्रजिअ पाध्यायको भनाई छ ।
२०८१ साल असोज १३ गते पाध्याय बाजुरा आएपछि थप बााढीपहिरो तथा भूकम्प पीडितहरूको तथ्याङ्क सङ्कलन गर्ने काम गरिएको थियो । त्यसपछि सोही डाटा अनुसार वास्तविक पीडित यकिन गरेर उनीहरूका लागि गृहमन्त्रालय तथा अन्य सम्बन्धित निकायसँग लगातार रकम माग गरेपछि बल्ल रकम जिल्लामा आइपुगेको हो ।
बर्खा लाग्ने समय भयो यहाँका दुर्गम गाउँ बस्तीका बाढीपहिरोको अवस्था के छ भनेर त्यहाँ पुगेको थिए । त्यहाँ पुग्दा उनीहरूले पहिलो र दोस्रो किस्ता रकम लिएर के गरेको छ भन्ने विषयमा छलफल भयो । हामीले उनीहरूले लगाएका घर पनि अनुगमन गर्दा हाम्रो नियम अनुसारले घर निर्माण गरेको देखियो र पाँच वर्षदेखिको समस्या हल हुने देखिएको छ ।
यसै बेला बाजुराका एक हजार आठ सय ४४ जना भूकम्प पीडितहरूका लागि तीन करोड ६८ ला २५ हजार रकम आएको छ । उनीहरूलाई समेत रकम भुक्तानी दिने तयारी जिल्ला प्रशासन कार्यालय बाजुराले गरेको छ । रकम आउने भए पनि बाढीपहिरो प्रभावितहरू खुसी देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस