बुधबार, २१ जेठ २०८२

बुढीगंगा ६ को सार्वजनिक सुनुवाइ, पालिकाको काम बारे वडाबासी उत्साहीत

बाजुरा : बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको छ । पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले जानकारी दिएका छन् ।

१० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरिएको छ । सोही क्रममा बुढीगंगा नगरपालिका ६ को सार्वजनिक सुनुवाइ सञ्चालन गरिएको छ । वडा अध्यक्ष हेमराज जैशीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजिकरण गरिएको कार्यक्रमका सहभागिले वडा र पालिकाले सम्पादन गर्ने योजना प्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् । सहभागिहरुले टोल र बस्ती स्तरका समस्यालाई बिशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् ।

शिक्षा स्वास्थ्य,  कृषि पर्यटन र पुर्वाधार सुरक्षित र समृद्ध विकास भन्ने मुल नारा सहीत कार्यक्रम आयोजना गरिएको हो । गएको आर्थिक वर्षदेखि चैत्र ३१ सम्मका योजना, कार्यक्रम बारे छलफल तथा समीक्षा गरिएको छ । 

कालोपत्रे भइरहेको सडकलाई गति दिन र सबैबस्तीलाई सडक सञ्जालमा जोड्न पनि सुझाव सहभागिले दिएका छन् । वडाले किसानका बारी, प्राबिधिकको छहारि सहीत उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर गतिविधि अघि बढाइरहेको छ ।

वडाले टोलटोलमा स्टेचर सहीतको सहज स्वास्थ्य उपचार सेवाको व्यवस्था, उत्कृष्ट कृषकलाई सम्मान, लगनशिल विद्यार्थीलाई छात्रवृत्ती दिने कार्य गरिरहेको छ । इनटरनेट सुविधा सहीत अनलाइन मार्फत सेवा प्रवाह गरिरहेको छ । युवा उद्यमविकास तालिमलाई पनि वडाले जोड दिएको अध्यक्ष हेमराज जैशीले बताएका छन् ।

नगर प्रमुख रामबहादुर बानीया प्रमुख अतिथि रहनु भएको कार्यक्रमको सहजिरण पत्रकार महासंघका उपाध्यक्ष रमित विकले गरेका हुन् । वडा सचिव भरत जैशीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य, पार्टी प्रतिनिधी पत्रकार लक्ष्मीराज पाध्याय, जनक बोहरा सहभागि थिए । 
 

प्रतिक्रिया दिनुहोस