राजनितीमा पछिल्लो समय एक गम्भीर प्रश्न उठिरहेको छ केवल असल, इमानदार र सोझा स्वभाव भएका मानिसहरू नेतृत्वमा टिक्न नसक्ने हुन् ? मैले कहिल्यै हावी हुन खोजिनँ । न पदको लोभ गरेँ, न नेताको चाकरी गर्न सके। पार्टी र संगठनलाई आफ्नो जिम्मेवारी ठानेर स्वच्छ नियतले काम गरें। तर जब नेतृत्व चयनको कुरा आयो, तब पत्ता लाग्यो—पद पाउने मुख्य मापदण्ड इमानदारी होइन, पहुँच हुनु पर्दो रहेछ।
स्ववियुमा कुनै पद किन पाइएन?
मेरो कुनै ‘ठूलो नेता’ छैन। नेतासँग सेल्फी खिचेर तिनको गुणगान गर्ने बानी छैन। म मात्र काम गरेर देखाउने सोच राखें, तर पहुँच बनाउन सकिनँ। आज संगठनमा कुनै स्थान पाइएन।
तर पृथ्वी गोलो छ—समय सबैको आउँछ। जब त्यो समय आउनेछ, मेरो उपस्थितिको अर्थ आफैं प्रमाणित हुनेछ।
पार्टी र संगठनभित्रको स्वार्थः के परिवर्तन सम्भव छ?
मैले सँधै सोचें—पार्टी वा संगठनको काम गर्नु भनेको व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नु हो। आफ्ना रहर, आकांक्षा त्यागेर समर्पित भएर काम गर्नु हो।तर वास्तविकता त्यो जस्तो देखिएन। जब नेतृत्व बाँडफाँडको कुरा आयो, आफ्ना मान्छे अगाडि सार्ने प्रवृत्ति देखियो। काम गर्नेहरू ओझेलमा पारिए, चाकरी गर्नेहरू अघि सारिए। इमानदारीभन्दा पार्टीभित्रको ‘नेटवर्क’ हाबी भयो।
यो प्रवृत्ति आज मात्रै देखिएको होइन—यो संस्थागत समस्या हो। किनभने “काम गर्ने कालु, मकै खाने भालू” को संस्कृति हाम्रो राजनीति र संगठनमा गहिरोसँग गाडिएको छ।
किन हजारौं युवाहरू विद्रोह गर्दैछन ?
आज ममात्र होइन, म जस्तै हजारौं युवाहरू संगठनभित्र योगदान दिएर पनि अवसरबाट वञ्चित छन्। नेताको पछि लाग्नेहरूले अवसर पाएका छन्।यी स्थिर रहन सक्दैनन्। पदको लागि होइन, सिद्धान्तका लागि काम गर्नेहरू ओझेलमा पारिने प्रवृत्ति अझै छ। नेतृत्व चयनमा पहुँच, आसेपासे संस्कार, र चाकरी नै मुख्य आधार बन्दा संगठनप्रति असन्तुष्टि बढ्दै गएको छ। युवाहरू अब संगठनको नीति होइन, नेतृत्वको नियतप्रति प्रश्न गरिरहेका छन्।
पहिले म आफैं सोच्थें—किन पार्टी संगठनप्रति आक्रोश छ? किन गालीगलौज गरिन्छ? तर आज म बिस्तारै बुझ्दै छु—जब मूल्यांकन निष्पक्ष हुँदैन, तब असन्तोष स्वाभाविक रूपमा विद्रोहमा परिणत हुन्छ।
‘टीका प्रथा’ र लोकतान्त्रिक मूल्यको विघटन
अहिले एउटा नयाँ ‘प्रथा’ चलेको छ—टीका प्रथा। नेताले आफ्ना आसेपासेलाई टीका लगाइदिन्छन्, र उनीहरू नै पदाधिकारी बन्छन्। तर त्यो टीका कति दिनसम्म टिक्छ? निष्पक्ष प्रतिस्पर्धाबाट टाढा भाग्नेहरूले शैक्षिक क्षेत्र सुधार्न सक्छन्? अहिले भाग माग्नेहरू भोलि सुधारको बेला फेरि आफ्नै हिस्साको ‘भाग’ माग्ने दिन नआउला भन्न सकिन्न।
यदि हामी शिक्षित युवा हौं भने, हामी लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्नुपर्छ। तर लोकतान्त्रिक प्रक्रियालाई नै निष्क्रिय बनाउने, प्रतिस्पर्धाबाट डराउने प्रवृत्तिले भविष्यमा संगठनलाई नै कमजोर बनाउनेछ।
अबका दिनमा कस्तो नेतृत्व आवश्यक छ?
अब पदको लोभ होइन, काम गर्ने इच्छाशक्ति आवश्यक छ। निष्पक्ष मूल्यांकन गर्ने प्रणाली निर्माण गर्नुपर्छ। पहुँचभन्दा परिपूर्णता हेर्ने संस्कृति बसाल्नुपर्छ। साँचो लोकतान्त्रिक अभ्यास गर्नुपर्छ। बाजुरा क्याम्पसको नव निर्वाचित स्ववियु टिमलाई शुभकामना! तर आशा छ—तपाईंहरू पदमा सीमित हुनुहुने छैन, कर्तव्यमा केन्द्रित हुनुहुनेछ। समयले सबैलाई हेर्छ, इतिहासले कर्मको मूल्यांकन गर्छ। परिवर्तन सम्भव छ, तर त्यसका लागि इच्छाशक्ति आवश्यक छ।
यो लेख केवल गुनासो होइन—
✅ यो आत्ममूल्यांकन हो।
✅ यो विद्रोह होइन—यो नयाँ दिशाको खोजी हो।
अब युवाहरू उठ्ने बेला आएको छ। पदको लागि होइन, नेतृत्वको परिभाषा बदल्न। चाकरीको लागि होइन, योग्यताको कदर गर्न। किनभने परिवर्तन बाहिरबाट आउँदैन—परिवर्तन हामीभित्रै जन्मिन्छ।
प्रतिक्रिया दिनुहोस