धनगढी ःकैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका-८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुने गाउँपालिका-३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको जानकारी दिए ।
उनका अनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर वि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए ।
उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए ।
सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए । सुर्खेतबाट मृतकका आफन्त आउँदैछन् । अहिले शव घटनास्थलबाट उठाइएको छैन ।
प्रतिक्रिया दिनुहोस