सोमबार, ०३ चैत २०८१

हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित

  हुम्ला  : हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित भएका छन् । सरकारले देशैभरका किशोरीहरूमा खोप लगाउने गरी अभियान सञ्चालन गरे पनि यहाँ खोप लगाइएन । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँमा राष्ट्रिय अभियानका रूपमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ९ एचपिभी ० सञ्चालन हुन सकेको छैन । लिमी जाने दुई वटा नाका चार हजार ६७० मिटर अग्लो नारा र पाँच् हजार मिटर अग्लो न्यालु लेकमा हिमपातको कारण बन्द भएपछि भ्याक्सिन पुर्याउन नसकिने अवस्था आउँदा खोप अभियान सञ्चालन हुन नपाएको हो । 

स्वास्थ्य सेवा कार्यालयका खोप कार्यक्रमका सम्पर्क व्यक्ति प्रेम पाण्डेले भ्याक्सिन ढुवानी गर्न नसकिने भएको कारण यति बेला जिल्लाभर सो खोप अभियान सञ्चालन भएको भए पनि लिमीमा भने सुरु नभएको बताउनुभयो । लिमी जाने दुवै नाका बन्द रहेको कारण स्वास्थ्यकर्मी लिमी मै भएको भए पनि भ्याक्सिन ढुवानी गर्न नसकिएको अवस्था रहेको कारण खोप अभियान सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।

लिमीका लागि भ्याक्सिन भने गाउँपालिका स्वास्थ्य शाखाले कार्यालयबाट बुझेर लगि सकेको छ । लिमीको सुनखानी आवि हिउँदभर सञ्चालनमा रहेको थियो । उक्त विद्यालयमा कक्षा छ देखि आठसम्म अध्ययन गर्ने किशोरीहरू छ जना रहेको र विद्यालय बाहिरका दशदेखि चौध वर्ष उमेर समूहका किशोरीहरू लिमीमा नरहेको विद्यालयका शिक्षक विकल तामाङले बताउनुभयो ।

अब लिमीमा आगामी २०८२ सालको वैशाख महिनामा एचपिभी खोप लगाउने तालिका कार्यालय र गाउँपालिका स्वास्थ्य शाखाले तयार गरेका छन् । 

प्रतिक्रिया दिनुहोस