शुक्रबार, ०२ कार्तिक २०८१

प्रदीपको प्रशिक्षणपछि मख्ख एमाले बाजुराका नेताहरुले भने-पार्टी सञ्चालनको खुराक पायौं

बाजुरा :  नेकपा एमालेका पार्टी उपमहासचिव तथा स्कुल विभागको जिम्मेवारीमा रहेका प्रदीप ज्ञवाली जहाँ गएपनि आफ्नो बोली र वौद्धिकताले धेरैलाई मख्ख पार्ने गर्छन् । स्कुल विभागको जिम्मेवारीमा रहेर काम गर्दा जहाँ पुगेपनि उनको चर्चा नै हुने गर्छ । 

मञ्चमा पुगेर भाषण गर्दा होस्, कि प्रशिक्षण दिँदा, उनले प्रयोग गर्ने भाषा शैली, बोल्ने तरिका र बोलीको मिठासले नेता कार्यकर्ता मात्रै होइन्, अरुपनि प्रभावित हुने गर्छन् । जति मिठो बोल्छन्, त्यति वौद्धिक र अध्ययनशिल पनि छन् । तीनै ज्ञवालीको प्रशिक्षण पछि बाजुरा एमालेका नेता कार्यकर्ता पनि मख्ख छन् । 

पार्टी कमिटीमा लागेदेखि सबैभन्दा राम्रो पशिक्षण र ज्ञान प्राप्त भएको भन्छन्, जिल्ला कमिटी सदस्य गोरख बोहरा । बोहरा गौमुल गाउँपालिका ३ का वडा अध्यक्ष हुन् । पार्टी कमिटीमा लागेको मात्रै बोहरालाई तीन दशक पुग्न लाग्यो । तीन पटक जिल्ला कमिटीमा रहेर नै काम गरिसकेका छन् । 

बोहरा जस्तै सहभागिहरुले निकै राम्रो प्रशिक्षण पाएकोमा खुसी व्यक्त गरे । एमालेले आठौं जिल्ला अधिवेशनसम्म पार्टी सञ्चालन गरिरहँदा पहिलो पटक तीन दिनको बन्द प्रशिक्षण सञ्चालन गरेको हो । गएको जेष्ठमा आठौं जिल्ला अधिवेशनबाट लालबहादुर ओलीको नेतृत्वमा नयाँ टिम आएपछि प्रशिक्षण प्रशिक्षक तालिम राखेको हो । 

१ सय बढी नेताहरु कार्यक्रममा सहभागि थिए । १२ देखि १४ गतेसम्म तीन दिन लगातार, दैनिक ११ घण्टा बढी प्रशिक्षण चलेको हो । नेता, नेतृत्व, संगठनात्मक पार्टी संरचना, माक्र्सवाद, जनताको बहुदलिय जनवाद, पार्टी सञ्चालन संरचना र सामाजिक सञ्जाल प्रयोग बारे नेताहरुलाई प्रशिक्षण दिइएको पार्टी प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् । 

आधारभुत विषय बारे जानकारी लिने अवसर मिलेको राजीव रोकायाको भनाई छ । लामो समय विद्यार्थी राजनीतिमा आवद्ध भएर पार्टी जिल्ला कमिटीमा प्रवेश गरेका रोकायाले प्रावि तहको कक्षा लिन पाउँदा पनि धेरै ज्ञान प्राप्त भएको बताएका छन् । रोकायाले पार्टी सञ्चालनका लागि सबैले प्रावि अनिवार्य र मावि तहको पार्टी प्रशिक्षण चलाउनु पर्नेमा जोड दिए । 

प्रशिक्षणमा एमाले जिल्ला कमिटीका सदस्यलाई मात्रै प्रवेश अनुमति थियो । प्रत्येक जिल्ला कमिटी सदस्यलाई पार्टीको प्रशिक्षक कै रुपमा उत्पादन गर्ने र जिम्मेवारी पाएका वडा, पालिका कमिटीका नेता कार्यकर्तालाई प्रशिक्षण गराउने लक्ष्य सहीत एमाले बाजुराले प्रशिक्षण राखेको थियो । पार्टीले राखेको उदेश्य र उपलब्धी हासिल गर्ने गरि प्रशिक्षण कार्यक्रम प्रभावकारी बनेको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । 

तीनदिन लामो पार्टी प्रशिक्षण बाजुरामा पहिलो पटक नै सञ्चालन गरिएको हो । प्रशिक्षण कार्यतालिका सहीत परिक्षा समेत प्रशिक्षण कार्यक्रम भित्र गरिएको छ । पार्टी जिल्ला कमिटीका पदाधिकारी, सदस्य, एमाले पार्टी आस्थावान पालिका प्रमुख उप्रमुख र लेखा आयोगका पदाधिकारीहरु प्रशिक्षणमा सहभागि थिए । 

तीनदिनसम्म दैनिक ११ घण्टासम्म अनिवार्य प्रशिक्षण कक्षा सञ्चालन गरिएको सचिव काशी विकले जानकारी दिएका छन् । प्रशिक्षणका लागि तीन दिनको बसाइ लिएर नेकपा एमाले उपमहासचिव प्रदस्प ज्ञवाली बाजुरा आएका थिए । स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवाली, पोलिटव्यूरो सदस्य ईश्वरी खरेल, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य राजेन्द्र सिंह रावल, केन्द्रीय सदस्य लालबहादुर थापाले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सहदेव बोगटी, प्रकाश शाह, अध्यक्ष कृष्णप्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही लगायत पनि सहभागी थिए । नेतृत्व क्षमता विकासका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमले पालिका, वडा र टोल स्तरका नेता कार्यकर्तालाई समेत योग्य र जिम्मेवार बनाउने गरि क्षमता विकास गर्ने विश्वास एमालेले गरेको छ । 

जिल्ला कमिटीमा बस्ने, जिम्मेवारी लिने तर नेता, नेतृत्व र संगठन बारे जानकारी नहुने समस्या बढीरहेको बेला एमालेले देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहको सञ्चालन सचिव काशी विकले गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस