शुक्रबार, ०२ कार्तिक २०८१

सात वटै प्रदेशले एकएक वटा ट्विनअटर विमान किन्न पर्यटनमन्त्रीको प्रस्ताव

पोखरा : पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सातवटै प्रदेशले एक/एक वटा ट्विनअटर विमान किन्न प्रस्ताव गरेका छन्।

आन्तरिक उड्डयन चलायमान बनाउन प्रदेश सरकारले स्थानीय तह र नागरिकलाई सेयर दिएर ट्विनअटर विमान किन्न मोडालिटी बनाउने निर्णय गरेको उनले बताए।

‘कम्तीमा सात प्रदेशले सातवटा ट्विनअटर डोमेस्टिक फ्लाइट गर्ने खालको एयर क्राफ्ट किन्न मोडालिटीबारे सोच्दैछौं,’ उनले भने, ‘विमान किन्न व्यक्तिसँग सेयर लिन सकियो। स्थानीय तहले लगानी गर्न सक्ने भए। प्रदेशले सकेको लगानी गर्ने भयो संघले पनि गर्ने भयो।’

विज्ञहरूले एउटा ट्विनअटर विमानको मूल्य अर्ब रुपैयाँ भनेको भन्दै उनले पारदर्शी ढंगले प्रदेश सरकारले विमान किन्नुपर्ने बताए।

नेपाल एयरलाइन्सका नाममा विमान किनेर प्रदेशले आन्तरिक उडानलाई प्रभावकारी बनाउन सक्ने उनको निचोड छ।

‘हाम्रो ध्वजावाहक नेपाल एयरलायन्सको नाममा सात प्रदेशका सात वटा ट्विनअटर हुन्छ। खरिद गर्न पैसाको जोहो प्रदेश सरकारले गर्छन्। त्यो प्लेनमा कोशी लेखिएको हुन्छ। कर्णाली लेखिएको हुन्छ। मधेस लेखिएको हुन्छ। आफ्नो आफ्नो प्रदेशको राजधानीबाट आन्तरिक उडानको प्रबन्ध मिलाउन सकियो भने आन्तरिक उडान चलायमान गर्न सक्छौं,’ उनले भने। 

सरकार मातहतको नेपाल एयरलाइन्स बलियो नहुँदा निजी विमान कम्पनीको मनोमानी बढेको उनले बताए।

निजी विमान कम्पनीको मनोमानी हटाउन पनि नेपाल एयरलाइन्स बलियो र विश्वासिलो हुनुपर्ने उनको निष्कर्ष छ।

‘कतार एयरलान्यसले मनोमानी भाडा किन लिन्छ भन्दा हाम्रो नेपाल एयरलाइन्सले बढीभन्दा बढी उडान गर्न सक्दैन, देशभित्र बुद्ध एयरले धनगढी जाने भाडा किन बढी लिन्छ भन्दा नेपाल एयरलाइन्सले नियमित फ्लाइट गर्न सक्दैन। त्यसैले बुद्ध एयरलाई मनोमानी गर्ने छुट छ। त्यसकारण नेपाल एयरलाइन्स सुदृढ बनाउने हो,’ उनले भने।

पोखरा पर्यटकीय राजधानी नीति संवाद कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रदेश सरकारले विमान किन्ने प्रस्ताव विषयगत समितिको बैठक निर्णय गरेको पनि उनले बताए।

मोडालिटी बनाएर यसलाई अघि बढाउने उनको भनाइ छ।

डाँडाकाँडा भएकाले सडकबाट भन्दा हवाई यात्रा प्रभावकारी हुने भएकाले प्रदेश सरकारको विमान चाहिने मन्त्री पाण्डेले बताए।

नेपाल एयरलाइन्ससँग भएको न्यारोबडी र वाइडबडी राम्रोसँग चल्न नसकेको उनले बताए। न्यारोबडी र वाइडबडी विमान थप्ने र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। 

‘नेपाल एयरलाइन्स चलाउने हो भने प्लेन हुनुपर्छ। पारदर्शी ढंगले किन्नुपर्छ। मेन्टिनेन्स, टिकेटिङ डिजिटल प्रविधि प्रयोग गरेर पूरा पादर्शी हुनुपर्छ,’ उनले भने, ‘विमान खरिद गर्न हच्किएर डराएर विभिन्न अबगाल आउँछ भनेर भाग्दै हिँड्ने होइन।’

नेपालको आकाश असुरक्षित छ भनेर प्रचारबाजी भएको भन्दै मन्त्री पाण्डेले असन्तुष्टि पोखे। दुर्घटना अरू देशमा पनि हुने गरेको भन्दै उनले आकाश सुरक्षित बनाउन प्रोटोकलमा ध्यान दिनुपर्ने र सुरक्षित छ भनेर सन्देश दिनुपर्ने बताए। 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै प्रदेशको राजधानीसँग पोखराको हवाई सम्पर्क स्थापित गर्नुपर्ने बताए।

‘सातवटै प्रदेशका राजधानीसँग पोखराको एयर कनेक्टिभिटी हुनुपर्छ,’ उनले भने, ‘अब परम्परागत तरिकाले मात्र सोचेर पर्यटन प्रवर्द्धन हुन सक्दैन।’ 

गण्डकीको उद्योग तथा पर्यटन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पर्यटनमन्त्री पनि सहभागी थिए।

कार्यक्रममा योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्ण देवकोटा, पोखरा महानगर पर्यटन समितिका संयोजक रविन्द्रराज पौडेल र व्यवसायी बासु त्रिपाठीले कार्यपत्र पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस